सांस्कृतिक पर्वहरुले बनाएको धरानको पहिचान

–मनिता चाम्लिङ/

धरान/ देश–विदेशमा धरानको पहिचान अन्य ठाउँहरुका भन्दा भिन्न छ । धरानको भौतिक विकासमा पूर्वगोर्खा सैनिकहरुको ठूलो योगदान रहेकाले धरानलाई लाहुरेको शहर पनि भनिन्छ । भौतिक विकासका शहरी सुविधा संगै उनिहरुले ल्याएको अमूर्त सांस्कृतिक सम्पदाको प्रचलनले धरानको छुट्टै पहिचान स्थापित गरेको हो । ऐतिहासीक, पूरातात्विक धार्मिक स्थलहरु, कला, साहित्य, शिक्षाको केन्द्र मानिएको धरानलाई बहुजातिय सांस्कृतिक विषेशताको शहर बनाउन आदिबासी पूर्वगोर्खा सैनिकहरुको ठूलो योगदान छ ।

प्रदेश १ का पूर्व प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ भन्छन् ‘पूर्वी पहाडबाट पल्टन गएका आदिबासी पूर्वगोर्खाहरु फर्केर धरानमै बसे, उनिहरुले आफु बसेको ठाउँको विकास मात्र गरेनन् भाषा, संस्कृतिलाई पनि धरानमा स्थापित गरे ।’ पूर्वका सबै भेगबाट गोर्खा सैनिकमा गएका आदिबासी जनजातिको बसोबास बढेपछि उनिहरुको परम्परागत पर्व, संस्कृतिक गतिविधिको केन्द्र धरान बनेको बताउँदै उनले भने ‘अहिले धरान बहुजातिय संस्कृतिको शहर बनेको छ ।’

आदिबासी सहित विविध जातजातिका समुदाय बसोबास रहेको धरानमा उनिहरुका पर्वहरु धुमधाम संगले मनाउने गरिन्छ । स्थानिय सरकार धरान उपमहानगरपालिकाले धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन सँंगै सांस्कृतिक शहर पनि घोषणा गरेको छ । यहाँका समुदायले जगेर्न गर्दै आएका सांस्कृतिक पर्वहरुले सुमदायका विच सौहार्दता बढाएको छ । यस्ले धरानलाई सांस्कृतिक विविधताका विच नेपालीहरुको राष्ट्रिय एकता बलियो बन्न सक्छ भन्ने शहरको रुपमा स्थापित गरेको छ । प्राडा तुम्बाहाङका अनुसार यसबाट जातिय सांस्कृतिक सद्भाव, सहिष्णुताको संरक्षण र प्रवद्र्धन गर्न सघाउन पु¥याएको छ ।

नेपालको संविधानले नै नेपालको विशेषता भनेको बहुजातिय, बहुसंस्कृति, वहुभाषिका, बहुधार्मिक भएको स्पष्ट गरेको छ । जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डूपा राई भन्छन् ‘हामीले मनाउने सांस्कृतिक, धार्मिक चाडपर्वहरुले त्यस्को पहिचान दिदैं आएको छ ।’ शहरीकरणले अहिलेको व्यस्त दिनचर्याले चाँडपर्वको महत्वलाई ओझेलमा पारेको छ । यस्तो अवस्थामा पर्वहरुले हाम्रो मौलिकता जोगाइराखको छ भन्ने हामीले बिर्सनु हुन्न । संस्कृति मासिए नेपालको मौलिकता मासिन्छ । संस्कृति मासिए आदिबासीको पहिचान गुमाएको अवस्था हो ।

धरानमा किरात समुदाय राई, लिम्बु, सुनुवार र याक्खा जातिको सबै भन्दा ठूलो पर्व उधौली र उभोलीमा आयोजना हुने सांस्कृतिक उत्सवहरु स्थानिय संस्कृतिको पहिचाननै बनेको छ । उभौली पर्व किरातीहरू वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख, शान्ति, सुस्वास्थ्य रहोस् र दैवीप्रकोप तथा विपत्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस चाँडमा सुनुवार र राईहरू साकेला र सखेवा शिली नाच्छन् भने लिम्बु र याख्खाहरू च्याबु्रङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन् । उधौली र उभौली किरात समुदाय कृषि युगमा प्रवेश गरेदेखि प्रचलनमा आएको कथन छ । किरात राई यायोक्खाका अगुवा सुभचन्द्र राईका अनुसार ‘उभौली किरात राई जातिको राष्ट्रिय पर्वको रुपमा स्थापित भएको छ ।’

यो पर्वमा किरात राईहरु जातीय पहिरनमा सजिएर साकेला र साकेन्वा र सखेवा सिली नाच्छन् । कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउँदै गोलबन्द भएर नाच्छन् । महिलाहरू कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् ।

“फलामे रेटि रेटौला, नमरी बाँचे भेटौंला सोई सोइला होई सोई सोइला ।” सकेलाको भाकाले पनि उनिहरुको जीवन संग या पर्व गाँसिको पुष्टि गर्दछ । किरात खम्बु–राईहरूले विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन् । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाँड उभौली बालीनालीमा रोगव्याधि नलागोस् बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ । दिन लामो हुन थालेको दिन अर्थात् पूणिर्मादेखि यो चाँड सुरू हुन्छ । खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला साकेन्वा नाचिन्छ । बालकेदखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला साकेन्वा नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ ।

लिम्बु जातिले उधौलीलाई चासोक तङनाम पर्वको रुपमा मनाउँछन् । यो बेला अन्नबाली पाकेर थन्क्याउने बेला भएकाले पनि उनिहरुका लागि सहकाल आएको भनि विशेष पर्वका रुपमा मनाउन गरेका हुन । यो न्वागी पुजा पनि हो । लिम्बुहरू च्याबु्रङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली चाँड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।

किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ भन्छन् ‘अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ ।’ राई, लिम्बु, सुनुवार, याख्खाहरुले मनाउँदै गरेको यो पर्वव पछिल्लो समय जिरेल, सुरेल, हायु, धिमाल जातिले पनि उनिहरु किरात समुदाय भित्र भएको ठहर गरेपछि जाति, स्थान र संस्कार अनुसार आ–आफ्नो तरिकाहरूले उधौली मनाउँछन् ।

किरात राई जातिलाई उधौलीमा पूजा सम्पन्न गर्न कुखुरा, सुगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँड लगायत सामग्री आवश्यक पर्छ परम्परा अनुसार किरात पुजारी बिजुवा र नक्छुङ र कुबिले चुलोको पूजाबाट सुरु गर्ने यस चाँडमा धर्मगुरुले साकेला थानमा नौसिङ्गे कुखुराको भालेको बलि दिने गर्छन् । बलिपछि पुजारीको आदेशबाट साकेला नाच सुरु गरिन्छ । पहिलो दिन पूजा स्थलमा नाची पछिका दिनमा फरक स्थानमा जम्मा भई नाचेर १५ दिनसम्म यो चाड मनाइन्छ ।

नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ । यस पर्वको बेलामा बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रूपमा शिली नाच नाच्ने गर्छन् । शिलिनाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रीय छ ।

धरानमा रहेको सांस्कृतिक विविधता मध्ये मगर संस्कृति पनि हो । मगर समुदायहरुको मौलिक सांस्कृतिक नाचको जगेर्ना गर्न अहिले नेपाल मगर संघ धरान नगर समिति लागिपरेको अध्यक्ष चित्रराज थापा मगर बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय पुराना संस्कृति लोप हुने संघारमा छन् ।’ मगर संघले सांस्कृतिक नाच बचाइराख्न हरेकवर्ष मगर समुदायको सारल्हेस पर्वको अवसरमा नगरस्तरीय हुर्रा नाच प्रतियोगिता आयोजना गर्दै आएको छन् । यसअघि कलाकारले इच्छा लागेमा मात्र हुर्रा नाच देखाउँथे । अब उत्कृष्ट नाच प्रदर्शनका लागि प्रतिस्पर्धा गर्न मगर समुदायका युवापुस्ता लागिपरेका छन् ।

धरानमा मनाइने सांस्कृतिक पर्वहरुमा माघे संक्रान्ति बहुजातिय पर्वको रुपमा स्थापित भएको छ । आदिवासी समुदाय मध्ये सबैभन्दा ठूलो समुदाय मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँने गरेका छन् । भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरिन्छ । मगरहरू प्रकृति पूजक हुन् । माघे संक्रान्ति पर्व पनि एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरिन्छ । अध्यक्ष थापा भन्छन् ‘प्राचीन कालमा मगरहरूको कृषि र सिकारमा आधारित जीवनशैली थियो, अहिले पनि छ ।’ माघे संक्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुन्छ । माघे संक्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जान्छ । मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका पुर्खाहरूलाई पानी चढाउने “डि डाँके” मगर भाषामा “पानी चढाउने” पर्वका रूपमा मानेका छन् ।

विशेषगरी गण्डकी, लुम्बिनी क्षेत्रका मगरहरूले यसरी मनाएको पाइन्छ । माघे संक्रान्ति आउनुभन्दा अघि नै मगरहरूले घर—घरमा जाँड राख्ने गर्छन् । संक्रान्तिको केही दिनअघि मगर महिलाहरू नजिकको पँधेरो, खोलामा गएर रक्सी पार्ने गर्छन्भने पुरुषहरू वनमा गएर वनतरुल, बारीको सखरखण्ड, घरतरुल खन्ने गर्छन् । पुस मसान्तको बेलुकी घर—घरमा सेलरोटी, बारा बनाएर भोलिपल्टको परिकारहरूको लागि तयारी गरिन्छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघले यो पर्वलाई राष्ट्रिय मान्यता दिन दबाब दिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा सार्वजनिक बिदा दिने चलन चलेको छ ।

धरानमा नेवार समुदायको पनि सघन बसोबास रहेको छ । राणाकाल देखीनै धरानलाई आवाद गराउने नेवार समुदाय थिए । आर्थिक, सामाजिक, व्यापारीक तथा राजनीतिक क्षेत्रमा अगुवा मानिएको नेवार समुदाय पछिल्लो समयमा भाषिक, सांस्कृतिक क्षेत्रमा संस्थागत रुपमा अघि बढेको छ । नेपाली संस्कृतिको अभिन्न अंग रहेको लाखे नाचको दुरुपयाग लाई धरानमा नेवा देयः दबुले मर्यादिन बनाउन प्रयास थालेको छ । दवु नगर अध्यक्ष मनोहर शाक्य भन्छन् ‘नेवाः संस्कृति नेपालीको समृद्ध संस्कृति हो, धरानको पहिचान संग जोडिएको आदिबासी जनजातिका सार्वजनिक पर्वहरुमा गाइजात्रा, लाखे जात्रा अभिन्न अंग हुन् ।’

आदिबासी जनजातिका संस्कृतिका कारण छुट्टै पहिचान बनाएको धरानमा उनिहरुका भाषिक, सांस्कृतिक विविधताको संरक्षण र विकासका लागि उपमहानगरपालिकाले छुट्टै आदिबासी जनजाति विकास समिति गठन गरेको छ । समितिका संयोजक वडा १५ का अध्यक्ष नरेशकुमार इङवारम भन्छन् ‘आदिबासी जनजातिकै शहर भएकोले धरानमा छुट्टै समिति मार्फत उपमहानगरपालिकाले काम गर्दै आएको छ ।’ धरानका आदिबासी समुदाय लाई लक्ष्यीत वर्गको बजेट समानुपातिक रुपमा वितरण गर्ने उनिहरुका गतिविधिको अनगुमन गर्ने कायम समितिले गर्दै आएको छ ।

(धरान उपमहानगरपालिका–नेपाल पत्रकार महासंघ सुनसरीको लेखनवृत्ति कार्यक्रम अन्तर्गत तयार गरिएको फिचर)(साभारः दिव्य रोशनी साप्ताहिक धरान । वर्ष १७ अंक ५ बाट)

 

13,224 thoughts on “सांस्कृतिक पर्वहरुले बनाएको धरानको पहिचान