डेंगु महामारी नियन्त्रणमा सहयोग गर्न मुख्यमन्त्रिलाई दलहरुको ध्यानाकर्षण

(दिव्य रोशनी)/ धरानका राजनीतिक दलहरुले डेंगु महामारी नियन्त्रणमा सहयोग गर्न कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको ध्यानाकर्षण गराएका छन् ।
धरानका विभिन्न ६ राजनीतिक दलका नेता, प्रदेसभा सदस्यहरुको एक टोलीले शनिवार मुख्यमन्त्रिलाई भेटी ध्यानाकर्षण गराएका हुन्। मुख्यमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणपत्रमा धरानका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राप्रपा रहेका छन्। ध्यानकर्षण पत्रमा जिल्ला विपद व्यवस्थापन समितिले जनस्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिश गरिसकेको र डेंगुले विकाराल अवस्था भएपनि स्थानीय सरकार प्रमुख भने केही नभएजस्तो दम्भ र अहंकारपुर्ण अभिव्यक्ति दिदै बसेको उल्लेख गरिएको छ। त्यस्तै डेंगीका कारण धरानमा ११ जनाको मृत्यु भएपनि केवल दुई जनाको मात्र मृत्यु भएको अरु दीर्घ रोगीको मात्रै मृत्यु भएको जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
दलहरुले स्थानीय सरकार गैरजिम्मेवार र लाचार भएको अवस्थामा धरानका राजनीतिक दल मुकदर्शक भएर किमार्थ बस्नु हुँदैन भनी आफ्नै बलबुताले भ्याएसम्म बिरामीको उपचार र डेंगु महामारी नियन्त्रणको प्रयास गरेको ध्यानकर्षण पत्रमा उल्लेख गरेका छन् । यसैगरी डेंगु रोकथामका लागि दलहरुबाट निर्वाचित जनप्रतिनिधिले शिविरसमेत सञ्चालन गरेको ध्यानाकर्षणपत्रमा उल्लेख गरेको छ।
धरानमा डेंगु महामारी नियन्त्रणको लागि भइरहेको प्रयासहरु पर्याप्त नभएको भन्दै दलहरुले प्रदेश सरकार र संघीय सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग नहुनु दुःखलाग्दो विषय भएको पनि उल्लेख गरेको छ। दलहरुले प्रदेश सरकारलाई डेंगु नियन्त्रणमा आवश्यक पर्ने सामग्रीहरु सिबिसी मेसिन, आइआरएस देखी सिरिन्ज र स्लाइन पानीको सूचीसहित माग गरेका छन्।(दिव्य रोशनी साप्ताहिकबाट)