रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने

दिव्य रोशनी(धरान)/ मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी भदौ २५ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा धरान आसपासका विद्यालयका १२ टिमले सहभागिता जनाउने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेका खेलाडीले सहभागिता जनाउन पाउने छन् । यु १८ भनिए पनि १९ वर्ष नपुगेका खेलाडिले खेल्न पाउने प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता जनाउनुपर्ने छ । १० कक्षा सम्मका खोलाडीले भने १२ जना नै सहभागिता जनाउन सक्ने छ।
प्रतियोगिताको विजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले नगद ५ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएवल प्लेयरले नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीले समेत ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको फाइन खेलअघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ। पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले १ मिनट थ्री पोइन्ट सट गर्नेछन्। फाइनल चरणमा छनोट भएका मध्येबाट एक मिनेटमा बढी पोइन्ट गर्ने पोइन्ट च्याम्पियन घोषित हुनेछन् । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको आयोजना धरानका उदयमान बास्केटबल खेलाडी रहेको दिवंगत रेवाहाङ राईको स्मृतिमा सुरुवात गरिएको हो । धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असामयिक निधनपछि उनको स्मृतिमा अभिभावकले धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल संघको सहकार्यमा गतवर्षदेखि अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गरेका हुन् । अक्षयकोष दुई लाख रुपैयाँको रहेको धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए । पत्रकार समेलनमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदी, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राइ, रेवाहाङका अभिभावक रेवतिरमन राई राइ, आमा सुजता राइ लगायतको उपस्तिथि रहेको थियो।
सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ।

One thought on “रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने

टिप्पणीहरू are closed.