धरानको खानेपानी पिउन योग्य (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरानको खानेपानी पिउन योग्य रहेको मेयर हर्कराज साम्पाङराईले बताएका छन्।
आज सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर साम्पाङले बजारमा हल्ला चलेको जस्तो खानेपानीमा कोलीफर्म नरहेको बताए। उनले कोकाह खोलाको पानीमा कोलीफर्मको मात्रा १ देखाएपनि अन्य स्थानको पानीमा कोलिफर्म नदेखिएको बताए।


पत्रकार सम्मेलनमा खानेपानी बोर्डका निर्देशक राजु पोखरेलले धरान ११ विष्णु चौक, धरान १७ वडा अफिस, निसाने सर्दु र धरान १८ ग्रीन टि को धारामा आउने पानीमा कोलिफर्म नदेखिएका बताउदै खानेपानी बोर्डले सफा पानी वितरण गरिरहेको दावी गरे। यद्यपी वर्षा परेका कारण खानेपानी मुहानको पानी भने परिक्षण गर्न नपाएकाले केही दिनभित्रै मुहानको पानी पनि परिक्षण गरिने निर्देशक पोखरेलले जानकारी दिए। उनका अनुसार धरानको खानेपानीको परिक्षण खानेपानी आपूर्ति तथा ढल व्यावस्थापन आयोजना विराटनगर, खानेपानी गुणस्तर परिक्षण प्रयोगशालामा जाँच गरिएको हो।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरानले धरानको विभिन्न ७ ठाउँको पानीको नमुना संकलन गरेर परीक्षण गर्दा पानीमा कोलिफर्म भेटिएको जनाएको थियो। रास्वपा धरानका सचिव सुमन श्रेष्ठका अनुसार धरानका विभिन्न ठाउँका पानी संकलन गरी नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित खानेपानी गुणस्तर परीक्षण प्रयोशालामा इकोमा परीक्षण गर्दा फुस्रेस्थित रिजर्भ वेयर ट्यांकको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा ३० आएको थियोभने धरान १४ विजयपुरस्थित रिजर्ब ट्यांकीको पानी गौधाराबाट संकलन गरेर परीक्षण गर्दा कोलिफर्म मात्रा ३५ आएको थियो।


त्यस्तै सर्दुको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा १० आएको थियोभने खर्दुको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा १५, निशाने ट्यांकीको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा २० आएको थियो। यसैगरी धरान ११ विष्णुचोक ट्यांकीबाट कोकाहाको पानी संकलन गरेर परीक्षण गर्दा कोलिफर्मको मात्रा ५ आएको थियोभने सोही ट्यांकीमा मिसाइएको कुम्भी आहालको बोरिङ गरेको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा शुन्य रिपोर्ट आएको थियो।
धरानको खानेपानीमा कोलीफर्म देखिएपछि यसअघि धरानका राजनीतिक दलहरुले खानेपानी परिक्षणको माग राखी मेयर साम्पाङलाई ज्ञापनपत्र बुझाएका थिए।

One thought on “धरानको खानेपानी पिउन योग्य (भिडियो सहित)

टिप्पणीहरू are closed.