राजकीय सम्मानका साथ प्रधानमन्त्री पत्नी सीता दाहालको अन्त्येष्टि

दिव्य रोशनी/ राजकीय सम्मानका साथ प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
यसअघि आजै बुधवार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रधानमन्त्रि पत्नी सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो। उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका थिए।
बुधवार बिहान ८ः३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो। प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिसडाँडा पुगेका थिए।
प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए। त्यस्तै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
स्व. सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो। दुर्लभ र जटिल प्रकारको नसासम्बन्धी रोगबाट गुज्रिएकी सीता दुई वर्षयता प्रतिक्रियाविहीन थिइन्।