धरान १० का वडाअध्यक्ष विवेक राई विरुद्ध उत्रियो धरान फुटबल क्लव

दिव्य रोशनी(धरान)/ धरान उपमहानगरपालिकाको आषाढ २५ गते बसेको कार्यपालिका बैठकमा क्लबको मानमार्दनमा आँच आएको भन्दै धरान फुटबल क्लबले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै क्लवले खेलकुदको लागि सरकारी कोषबाट २/४ लाख खर्च गर्दैमा म नै सबै खेलकुदको जानकार हुँ भन्ने ठूलो भ्रममा नपर्न धरान उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष विवेक राईलाई अनुरोध समेत गरेको छ। साथै सस्तो लोकप्रियताको लागि बोल्नुभन्दा तथ्यपरक रुपमा बोल्नका लागि समेत अध्यक्ष विवेक राईलाई सुझाव दिएको छ। विज्ञप्तीमा भनिएको छ “ हामीले धरानको प्रतिनिधित्व गरेर फुटबल खेल्दै गर्दा शायद उहाँहरु लालाबाला नै हुनुहुन्थ्यो होला । अध्यक्षज्यूलाई यो पनि जानकारी गराउँछौं कि आर्थिक वर्ष समाप्ति पछि मात्र बितेको वर्षको लेखा परीक्षण हुन्छ भन्ने कुरा पनि ध्यानमा राख्न हुन अनुराध गर्न चाहान्छौं।”
धरान भन्दा पछिका छिमेकी शहरहरु फ्लड लाईट जडान भएर रात्रिकालिन प्रतियोगिताहरु शुरु भइसकेको अवस्थामा वडाअध्यष राईले रंगशालामा धरान फुटबल क्लवले डस्टबिन राखेन भनेर कुरा गर्दै हिडेको जनाईएको छ । वडाअध्यष राईलाई “सक्नुहुन्छ भने फ्लड लाईटको कुरा गर्नुहोस् । धरान रंगशाला निर्माण कार्य शुरु भएको यति लामो समय हुँदा पनि आजसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन किन ? यस्तो कुराहरुको खोजी गर्नुहोस् । जबकि छिमेकी शरहरुमा रंगशाला निर्माण कार्यहरु पुर्णरुपमा सम्पन्न भइसकेको छ । शेरधन राई मुख्यमन्त्री हुँदा धरान रंगशालाको लागि विनियोजित ७ करोड रकम फ्रिज भएको छ, यो कुरा अध्यक्ष विवेक राईज्यूलाई थाहा छ ? छैन भने खोजी गर्नुहोस् । नाथे डस्टबिनको के कुरा गर्नुहुन्छ ? अझ अघि बढेर सोध्न चाहान्छौं कि नगर खेलकुद विकास समिति गठन गर्नसक्नुभयो ?” भनी प्रश्न गरिएको छ।
प्रेस विज्ञप्तीमा भनिएको छ “२५ वर्ष भन्दा बढी समयदेखि धरानमा फुटबल खेलमा हामीले आफूलाई आवद्ध गरेका छौं । खेलकुदकै माध्यमबाट पनि राष्ट्रलाई चिनाउने हाम्रो उद्देश्य हो । हाम्रो लामो अनुभवले हामीलाई सिकाएको छ कि सामाजिक उत्तरदायित्व के हो । हामीलाई कसैले सामाजिक उत्तरदायित्व सिकाई राख्नु जरुरी छैन । सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा धरान फुटबल क्लब कहिले पनि चुकेको छैन र चुक्ने पनि छैन ।चाहे मृगौला रोगी होस्, चाहे बोनम्यारो क्यान्सर होस् तथा पुर्व खेलाडीहरुलाई क्लबले सदैव आर्थिक सहयोग गर्दै आइरहेको छ । धरानमा आयोजना हुने स्कुल, कलेज तथा क्लवस्तरीय फुटबल प्रतियोगिताहरुमा धरान फुटबल क्लवले खेलकुद सामाग्रीहरु तथा प्राविधिक सहयोगहरु उपलब्ध गराउँदै आइरहेको छ । धरान रंगशालाको साढे सात बिगाह क्षेत्रफल ९५ लाखको लागतमा पक्की घेराबारा गर्ने परिकल्पना धरान फुटबल क्लवले गरेको होइन र ? उक्त कार्यको संयोजनको भूमिका, आर्थिक श्रोत जुटाउने कार्य धरान फूटबल क्लवले गरेको होइन र ? धरान यु.के.फोरम र धरान हङकङ मञ्चको आर्थिक सहयोगमा उक्त रंगशाला घेराबारा नभएको भए धरान रंगशालाको क्षेत्रफल साढे सात बिगाहा नै रहन्थ्यो र ? १÷२ विगाह बाहेक धरान रंगशालाको क्षेत्रफल नै रहने थिएन । क्लबले गरेका यी कार्यहरु सामाजिक उत्तरदायित्व भित्र पर्दैन र ? धरान रंगशालामा घाँस रोप्ने कार्यका लागि तत्काल धरान उपमहानगरपालिकाबाट रकम उपलब्ध नहुने भएपछि सापटीको रुपमा घाँस रोप्नका लागि धरान फुटबल क्लवले रु.५ लाख रकम उपलब्ध गराको होइन र ? धरान रंगशालाको मुख्य प्रवेशद्वारमा फर्फराउने नेपालको झण्डा पुरानो हुँदै पिच्छे कसले फेर्छ ? धरान फुटबल क्लबले होइन र ? रंगशालाको प्रवेशद्वारका ताला चावीहरु बेला बेलामा फेर्नुपर्ने हुन्छ । एउटा दुइटा तालाचावी माग्न नगरपालिका जानुपर्ने ? यी तालाचावीहरु धरान फुटबल क्लबले नै उपलब्ध गराउँछ होइन र ? सरकारले २०६७ सालमा पूर्वाञ्चलमा क्षेत्रीय रंगशाला बनाउने घोषणा गरेपछि धरानमा क्षेत्रीय रंगशाला बनाउनुपर्छ भनेर संघर्ष गर्ने हामी होइन र ? धरान पूर्वाधारयुक्त क्षेत्रीय रंगशाला बनाउन उपयुक्त हुँदा हुँदै पनि तत्कालिन सदस्य सचिवले धरानका विरुद्ध निर्णय गरेपछि माइनुनिटङ च्यात्ने हामी होइनौं र ? माइनुटिङ च्याते वापत ४/५ घण्टा थुनामा बस्ने हामी होइनौं र ? त्यसैले हाम्रो फुटबल खेलप्रतिको त्याग बलिदानलाई हल्का रुपमा मूल्याङ्कनको हामी घोर विरोध गर्दछौं ।”
“धरान खेलकुदको शहर भन्ने खेलकुदको बजेटको लागि चाहिँ सारा जनप्रतिनिधिहरुलाई दुईहात जोडेर हार गुहार गर्नुपर्ने ? कस्तो विडम्बना, तर, आज हाम्रो धरानको तितो सत्य यही नै हो । हामीले बुढासुब्बा गोल्डकपका लागि धरान उपमहानगरपालिकालाई पहिलो र दोस्रो पुरस्कार राशी दश लाख र पाँच लाख विनियोजन गरिदिन हुन अनुरोध गरेका थियौं । तर, हाम्रो अनुरोधलाई पुरै बेवास्ता गरिएको छ । अघिल्लो जनप्रतिनिधिहरु समयमा १८ लाख विनियोजन गरिएको थियो भने गते २३ ओं संस्करणमा रु.१२ लाख विनियोजन भएको थियो भने आउँदो २४ औं संस्करणमा ९ लाखमात्र विनियोजन गरिएको छ । पहुँच हुनेहरुले चाहिँ आफ्नो गोजीकै जस्तो गरेर आफ्नो कार्यक्रमहरुमा मनखुशी बजेट छुट्याइएको पाइएको छ । सारै दुःख लाग्दो कुरा छ कि हालका हाम्रा जनप्रतिनिधिहरुले खेलकुदलाई पटक्कै बुझनै सकेनन् । सडक, ढल तथा गिटी मात्र विकास हो र ? अझ दुःख लाग्दो कुरा त के छ भने नगर प्रमुखले समेत खेलकुदका लागि सरोकारवालाहरुसँग एकशब्द पनि सरसल्लाह नै नगरीकन हाँ मा हाँ मिलाउन पुगेका छन् । यो कुरा ज्यादै खेदजनक छ र यसप्रति हाम्रो पुर्ण असहमति रहेको छ । हिजो स्व.तारा सुब्बा मेयर हुँदा शुरु भएको मेयर कप स्कुल ओलम्पिकले सारा नेपालमै चर्चा बटुलेको थियो । खेलकुदको विकासको दरो पूर्वाधारको रुपमा रहेको यस प्रतियोगिता आज किन संचालन हुन सकेन ? नगर प्रमुख ज्यू र वडाध्यक्षज्यूहरुलाई प्रश्न सोध्न चाहान्छौं।” क्लवका अध्यक्ष किशोर राई र महासचिव प्रताप तामाङद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।
यसैगरी क्लवले प्रतियोगिताको आय व्यय चाँडो भन्दा चाँडो सार्वजनिक गर्ने प्रतिबद्धता समेत गरेको छ। आफुलाई पाउन गुमाउन केही नभई निःस्वार्थरुपमा धरानमा फुटबल खेलको विकास होस् भन्ने हाम्रो चाहना रहेको जनाउदै सरकारी तलव भत्ता खाएर सस्तो लोकप्रियताको लागि जे पायो त्यही बोल्नुभन्दा पहिले धरान फुटबल क्लवको लामो इतिहास, संघर्षको ख्याल गर्न सम्पूर्णमा आग्रह समेत गरेको छ। साथै जुनसुकै बहानामा धरान फुटबल क्लबको बारम्बार अबमूल्यन गर्ने कार्य कसैबाट नियतबश हुन्छ भने अप्रिय निर्णय गर्न क्लब बाध्य हुने चेतावनी समेत दिएको छ।