बैशाख ९ देखि बास्केटबल ट्यालेन्ट हन्ट क्याम्प हुने 

दिव्य रोशनी(धरान)/ धरान बास्केटबल संघको आयोजनामा यहि बैशाख ९ गते देखि आठौ बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प हुने भएको छ।
भर्खरै एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाई लक्षित गरि ट्यालेन्ट हन्टको आयोजना गर्न लागिएको हो । संघले बिगत लामो समय देखि हरेक बर्ष ट्यालेन्ट हन्टको आयोजना गर्दै आइरहेको छ । सुनसरी बास्केटबल संघ र धरान उपमहानगरपालिकाको विशेष सहयोगमा सम्पन्न हुने ट्यालेन्ट हन्ट करिब तीन हप्ता चल्नेछ । ट्रेनिङ क्याम्पका उत्कृष्ट खेलाडी बिद्यार्थीहरुलाई धरानका विभिन्न कलेजमा संघले छात्रवृत्तिका लागि सिफारिस समेत गर्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले जनाए ।
ट्यालेन्ट हन्ट कार्यक्रम धरान १६ मा रहेको धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । ट्रेनिङ क्याम्पमा एसइइ दिएका बिद्यार्थी संगै बास्केटबल खेल सिक्न इच्छुक सबैले सहभागिता जनाउन सक्नेछन् । प्रशिक्षण समय बिहान ६ बजे देखि ८ बजे सम्म दुई घन्टाको रहनेछ ।
बास्केटबल खेलाडी उत्पादन, बिकाश र प्रबद्र्धनका लागि विभिन्न प्रतियोगिता आयोजना, ब्यावस्थापन, ट्यालेन्ट हन्ट र समर क्याम्प जस्ता कार्यक्रमको आयोजना संघले गर्दै आइरहेको अध्यक्ष सुबेदिले जनाए । ट्यालेन्ट हन्टमा सहभागिहरुलाई राष्ट्रिय प्रशिक्षक बिकाश चाम्लिङ राई र उनका सहयोगीहरु प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, युगल लिम्बू, रोशन राई, राष्ट्रिय महिला खेलाडी डा. आशा राई लगायतले प्रशिक्षण दिने धरान बास्केटबल संघले जनाएको छ ।

One thought on “बैशाख ९ देखि बास्केटबल ट्यालेन्ट हन्ट क्याम्प हुने 

टिप्पणीहरू are closed.