तेस्रो धरान भेट्रान फुटबल प्रतियोगिताः आयोजक धरान भेट्रान संगै हाम्रो धरान भेट्रान पनि सेमिफाईनलमा

दिव्य रोशनी(धरान)/ धरानमा जारी तेस्रो धरान भेट्रान फुटबल प्रतियोगितामा आयोजक धरान भेट्रान संगै हाम्रो धरान भेट्रान पनि सेमिफाईनल प्रवेश गरेको छ।
आईतवार धरान रंगशालामा भएको पहिलो खेलमा काँकडभिट्टा भेट्रान क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रान क्लब सेमिफाईनल प्रवेश गरेको हो। खेलमा हाम्रो धरान भेट्रान क्लबका राजकुमार राईले खेलको २० औं मिनेटमा एकमात्र गोल गरेका थिए। उनी प्रतियोगिताका म्यान अफ दि म्याच समेत घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


यसैगरी आईतवार नै भएको दोस्रो खेलमा आयोजक धरान भेट्रान फुटबल क्लबले बिर्तामोड भेट्रान फुटबल क्लब झापालाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको छ। खेलमा धरान भेट्रानका तर्फबाट सन्तोष बस्नेतले २ गोल गरेका थिएभने मिलन श्रेष्ठ र सचिन राईले १/१ गोल गरेका थिए। प्रतियोगितामा धरान भेट्रानका सन्तोष बस्नेत म्यान अफ दि म्याच घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
आगामी शनिवार हुने फाईनल प्रतियोगिताका बिजेताले नगद १ लाख १ हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेताले ५१ हजार प्राप्त गर्ने क्लबका अध्यक्ष रोमी मोक्तानले बताए। उनका अनुसार भोली सोमवार हाम्रो ईटहरी भेट्रान फुटबल क्लब र दमक लखनपुर भेट्रान फुटबल क्लबका बिच हुनेछ।