कोशी राजमार्ग ६ लेन सडक बासपास गर्न स्थानीयबासीको माग

दिव्य रोशनी(धरान)/कोशी राजमार्गमा बनिदै गरेको ६ लेन सडकले उठी बास लगाउने भन्दै धरान बजारका स्थानीयबासीहरुले सडक बाइपास गर्न माग गरेका छन्। साथै उनीहरुले वर्षौंदेखि रोक्का राखिएको आफुहरुको घरजग्गा फुकुवा गर्न समेत माग गरेका छन्।


आज मंगलबार धरान उपमहानगरपालिकाद्वारा उपमहानगर परिसरमा आयोजित विभिन्न राजनैतिक दल, संघ÷संस्था तथा सरोकार निकायहरुबीच आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा उपस्थित धरानबासीहरुले सडक बाइपास गरि लैजान माग गरेका हुन्। अहिले कोशी राजमार्ग अन्तर्गतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना धरानको तीनकुनेसम्म आइसकेको छभने धरानको मुख्य बजार क्षेत्रमा सयौं घर भत्काउनुपर्ने भएपछि सडक निर्माणको काम अघि बढ्न सकेको छैन।
धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्वोले धरानको विकासको लागि बाटो बनाउन मुख्य सडकमा ६ लेन नभइ ४ लेन नै काफी हुने बताए। सोहीक्रममा उनले ४ लेनको बटो बनाउँदापनि धेरै नगरबासी घरबार विहिन हुनुपर्ने बताउँदै उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत उपमहानगरपालिकालाई ध्यानाकर्षण गराए। साथै उनले सेउतीको दायाँबायाँ तटबन्धगरि बाइपास गरिएमा धरानको बजारबासी समेत जोगिने सुझाव दिए।
धरान १ नं. वडाका निवर्तमान अध्यक्ष रोशन अधिकारीले कोशी राजमार्ग अन्तर्गत बन्ने ६ लेन सडकले धरानको मुख्य बजारका बासीन्दा घरबार विहिन बन्ने बताए। उनले धरानबासीलाई घरबार विहिन नबनाउन सडक बाइपास गरि लैजान सुझाव दिए।
धरान १२ का वडा सदस्य समेत रहेका ब्रम्हज्ञ भट्टराईले ६ लेनको कोशी राजमार्ग धरान बजारबाट निर्माण भएमा धेरै धरानबासी घरबास विहिन हुनुपर्ने बताए। साथै उनले आफ्नो ८० वर्षिय बुवालाई उद्धृत गर्दै भने–“मेरो बुवालाई सोध्दा हामी २०१८ सालदेखि धरानमा बसोबास गर्दै आएका छौं तर अझसम्म कोशी राजमार्गबाट कुनैपनि मुआब्जा पाएका पनि छैनौं।”
यस्तै धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले धरानको बिच बजारबाट सडक लैजादा धेरै बासीन्दाको बिजोक हुने बताउँदै सडक बाइपासको माग गरे। यस्तै धरान ८ स्थित बोनस मलका सञ्चालक निनाचन्द्र राईले कोशी राजमार्ग सडक धरान बजारहुँदै निर्माण हुँदा आफुहरुले धेरै दुःख पाउने बताउँदै सडक बाइपास गर्न आग्रह गरे।
धरान ८ का होमनाथ घिमिरेले धरानको विकास गर्नेहोभने धरानको मुख्य बजारबाटै कोशी राजमार्ग लैजानुपर्ने सुझाव दिए। यस्तै पर्यटनकर्मी रामप्रसाद राईले अहिले नै धरानको बाटो ६ लेनको नबनाए आगामी १० वर्षभित्र सडक अस्तव्यस्त हुने बताउँदै धरानको विकासको लागि र पर्यटन भित्र्याउन धरानको सडक ६ लेनको बनाउनुपर्ने सुझाव दिए।

उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले धरानको मुख्य बजारबाट कोशी राजमार्ग निर्माण बारे आयोजनाले २ पटक पत्र पठाइसकेको बताउँदै छलफल राखिएको बताए । मेयर सम्पाङले भने–“यो विषय कार्यपालिकाको बैठकले मात्र निर्णय गरेर हुँदैन। त्यसैले राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय सबैसँग छलफल गर्न आवश्यक ठानेर कार्यक्रम राखिएको हो।” मेयर साम्पाङका अनुसार तीनकुनेसम्म ४ लेन सडक निर्माण भैसकेकोले सिंधै बजार हुँदै लैजाने कि बाइपास गर्ने भन्ने विषयमा छलफल गरेर उपयुक्त निर्णय लिइने भएको छ।

8 thoughts on “कोशी राजमार्ग ६ लेन सडक बासपास गर्न स्थानीयबासीको माग

टिप्पणीहरू are closed.