धरान उपमहानगरको १४ औं नगरसभाः ७ महिनामा ३७ प्रतिशत मात्र खर्च(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान उप महानगरपालिकाको १४ औं नगर सभाले चालू आर्थिक बर्ष २०८०/०८१ को माघ मसान्तसम्मको ७ महिनामा ३७ प्रतिशत मात्र खर्च भएको जनाएको छ।
मंगलवार भएको धरानको १४ औं नगरसभामा चालु आर्थिकवर्षको ७ महिनाको आय व्यय प्रस्तुत गर्दै उपमेयर अईन्द्र बिक्रम बेघाले माघ मसान्तसम्ममा नगरको आयमा ८२ करोड ५५ लाख ६० हजार ८०८ मात्र अर्थात कुल अनुमानको ४७.९८ प्रतिशत आय प्राप्त भएको बताए । उनले यसमा संघिय सरकारको अनुदान ५४ प्रतिशत, प्रदेश सरकारको अनुदान २८ प्रतिशत, राजस्व बाँडफाँडमा ३५ प्रतिशत र आन्तरिक आय तर्फ ४७ प्रतिशत भएको भएता पनि गतबर्षको मौज्दात रकमलाई हटाएर हेर्ने हो भने ३८ प्रतिशत मात्र आन्तरिक आम्दानी भएको अवस्थालाई सन्तोस जनक मान्न नसकिने भएकोले सभाको विशेष ध्यान जान आवश्यक रहेको बताए।


यसैगरी उपमेयर वेघाले व्यय तर्फ ६३ करोड ५८ लाख ४५ हजार ६ सय ८१ मात्र अर्थात कुल व्यय अनुमानको ३७ प्रतिशत मात्र खर्च हुन सकेको बताए। उनका अनुसार खर्चमध्ये चालू खर्च तर्फ विनियोजित बजेटको ४३ करोड ७९ लाख २२ हजार ६ सय ४८ मात्र र पूँजिगत तर्फ विनियोजित बजेटको १८ करोड १४ लाख ६४ हजार ९ सय ४७ खर्च भएको छ।
अधिवेशनले आर्थिक बर्ष २०८० ०८१ को कार्यक्रमको संसोधनको प्रस्ताव स्वीकृतको लागि तालीबजाएर अनुमोदन गरेको छ । यसैगरी सार्वजानिक लेखा समितिको प्रतिवेदन पनि अनुमोदन भएको छ। नगरसभामा वडाका सदस्यहरु धरान १८ का जमुना त्रिखत्री मोक्तान, धरान ९ का कृष्ण बहादुर कार्की, धरान २ का सन्ध्या श्रेष्ठ, धरान १९ का झुमा गुरुङ, जसरथ थलङ, लोकेन्द्र राई र चन्द्र माया विक, धरान ३ का मनिष खड्गी, धरान १६ का भिम लिम्बु, धरान १७ का मनिष बिष्ट, धरान ८ का राजेश मोक्तान, धरान ७ का प्रेम बहादुर दाहाल, धरान ६ का राजेन्द्र न्यौपाने लगायतले वडाका समस्याहरु सुनाएका थिए। मेयर हर्कराज राईले वडासदस्यहरुका मागहरुलाई सम्बोधन गरेका थिए।


यसैगरी प्रदेश सभा सदस्यद्वय रमेश बस्नेत र विजय कुमार राईले पनि नगरसभालाई सम्बोधन गरेका थिए।