यसपालीको चुनावमा पनि खानेपानी समस्या प्रमुख मुद्धा

मनिता चाम्लिङ राई(धरान, सुनसरी)/
२०४६ सालको प्रजातन्त्र परिवर्तनपछी सबै निर्वाचनमा सबै राजनीतिक दलका उम्मेद्धवारहरुले धरानको खानेपानी समस्यालाई मुख्य एजेण्डा बनाउँदै आएका छन्। तर निर्वाचित भएपछि भने निर्वाचनमा गरेका प्रतिवद्धतालाई कार्यान्वयन नगर्दा खानेपानीको समस्या जस्ताको त्यस्तै रहेको तिन दशक भयो।
३५ हजार घरधुरी जनसंख्या रहेको धरानमा खानेपानी बोर्डले अहिले मुस्किलले २८ हजार ८ सय ७१ घरधुरीलाई मात्र खानेपानी उपलब्ध गराईरहेको छ। खानेपानीको स्रोत थप्न नसक्दा धरानवासीले वर्षायाममा दैनिक १ देखी २ घण्टा र सुख्खा मौसममा दिन बिराएर १ घण्टा मात्र खानेपानी पाउन सकेका छन् भने बजारका कुनैकुनै क्षेत्रमा त्योपनि पुग्न सकेको छैन। अहिले देशमा चुनावी सरगर्मी बढिरहेको छ। यही मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको चुनावका लागि राजनीतिक दलहरुले धरानमा खानेपानी समस्यालाई मुख्य चुनावी एजेण्डा बनाएर जनतासंँग भोटको अपिल गरिरहेका छन्। उनीहरुले धरानमा खानेपानी समस्यालाई समाधान गर्न कोशीबाट पम्प गरी ल्याईने अर्थात् तमोरबाट सुरुङ खनेर भएपनि खानेपानी ल्याईने बाचा गरेका छन्।

चुनावी एजेण्डा बनेको धरानको खानेपानी समस्या


धरानलाई खानेपानी समस्याबाट सँधैका लागि मुक्ति दिलाउने भनी चुनावी मुख्य एजेण्डा बनाएका राजनीतिक दलहरुले धरानवासीलाई खानेपानी समस्याबाट मुक्त गर्लान् भन्ने विश्वासिलो आधार नभएको धरान १६ का जय श्रेष्ठको भनाई छ। उनले यसअघिको चुनावमा सांसद पदमा निर्वाचित भएर गएका कुन्ता शर्मा, कृष्ण कुमार राई, जय कुमार राई लगायतले खानेपानी समस्या समाधान गर्न माखो समेत नमारेको बताए। अहिलेपनि प्रदेश र प्रतिनिधीसभाका उम्मेद्धवारहरुले खानेपानीलाई मुख्य चुनावी एजेण्डा बनाएपनि धरानवासीलाई पानी खुवाउँछन् भन्ने विश्वास नभएको उनी बताउँछन्।
२०३४ सालदेखी धरानमा खानेपानी वितरण गरिरहेको खानेपानी संस्थानले हाल धरान छाडेपछि अहिले धरान उप–महानगरपालिकाको मातहतमा रहेको खानेपानी बोर्डले धरानमा खानेपानी आपूर्ति गरिरहेको छ। धरान १९ का शुभ राईले निर्वाचनका बेलामा मात्र नेताहरु धरानमा खानेपानी ल्याउँछु भनेर भोट माग्न आएको बताउँछिन्। उनी भन्छिन्– “जुनै नेतापनि खानेपानी खुवाउँछु भनेर आउँछन्, सबै नेताको चुनावी एजेण्डा हेर्दा धरानलाई सिंगापुर नै बनाउने जस्तो देख्छौ तर जितेर गएपछि कार्यान्वयन गर्दैनन्, के गर्नु पहिलेको जस्तै भोट मात्र बटुल्ने हो की जस्तो लाग्न थालेको छ।”
यसैगरी खानेपानी समस्यालाई मुख्य चुनावी एजेण्डा बनाएको लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिधीसभा सदस्य पदका उम्मेद्धवार मुक्सामहाङ मेन्याङ्वोले आफुलाई धरानवासीले जिताए धरानमा पानीको समस्या सँधैका लागि हल गर्ने दावी गरे। उनले धरानवासीको खानेपानी समस्या सँधै चुनावी एजेण्डा मात्रै बनेको बताउँदै अब खानेपानीमा राजनीति गर्न नहुने बताए। त्यसो त उनी मात्र होईनन्, नेकपा एमाले र जनता समाजवादी पार्टी तालमेलका उम्मेद्धवार अशोक राई, नेकपा एमालेबाट बागी उम्मेद्धवारी दिएका धरानका पुर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्वो, बहालवाला नगरप्रमुख हर्कराज साम्पाङ राई समुहका तर्क बहादुर मगर लगायत २० जना उम्मेद्धवारहरुले पनि धरानको खानेपानीलाई नै प्राथमिकता दिएर जनतासंँग मत मागिरहेका छन्।
धरानको खानेपानीको स्थायी समाधानको लागि उपमहानगरपालिका र सांसद विकास कोषको बजेटले नपुग्ने तर्क राख्छन् बुद्धिजिवी तथा प्राध्यापक डा. टंक प्रसाद न्यौपाने। उनले केन्द्रिय सरकारमा अझसम्म पहुँच राख्ने नेता चुन्न नसकेकै कारण धरानले खानेपानीको समस्या भोग्नुपरेको बताए। उनी भन्छन्– “अब अन्तिम विकल्प भनेको केन्द्रिय सरकारमा दबाव दिनका लागि नेताको कठालो समात्नुपर्ने बेला आएको छ। उनले भने “खानेपानीको लागि केन्द्रबाट अर्बको बजेट ल्याउनुपर्छ अनि मात्र धरानमा खानेपानीको स्थायी समाधान हुनसक्छ।”
प्रा.डा. न्यौपानेले अहिलेसम्म धरानले छानेका नेताहरुले आफ्नो लाईन नलिएर, कहिले कुन पार्टी, कहिले कुनपार्टी फेर्ने गरेकै कारण धरानले केन्द्रसम्म पहुँच पुर्याउन नसकेको बताए। उनले भने “सूर्यनाथ उपाध्याय पहिले कम्युनिष्ट थिए, पछि पञ्च भए, कृष्ण कुमार राई पनि कहिले पञ्च, कहिले एमाले, मनोज मेन्याङवो पनि त्यस्तै, अशोक राईपनि घरी यता घरी उता, त्यसैले नेताको केन्द्रमा पहुँच पुग्न सकेन। केन्द्रसम्म पहुँच पुर्याउने नेता धरानमा छन् तर त्यो नेता अब हामीले चिन्नुपर्छ।” उनले अब धरानको खानेपानी मुद्धालाई केन्द्रमा पुर्याउन सक्ने नेतालाई धरानले जिताउनुपर्ने बताए।
होटल एशोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई भन्छन् “खानेपानीको एजेण्डा लिएर गएका नेताले धरानलाई जहिल्यैपनि झुक्काउने गरेको छ।” उनले नेताहरुले खानेपानी खुवाउँछु भनेर लागी परेमात्र धरानमा खानेपानीको स्थायी समाधान हुने बताए। सुख्खा मौसम शुरु नभएकाले अहिले धरानमा तत्काल ट्यांकरबाट पानी किन्न नपरेपनि गतवर्ष मात्र धरानका होटल व्यवसायीहरुले मासिक ४० हजार रुपैयाँ त पानीमा मात्रै खर्च हुने गरेको कुरा उनले सुनाए। अध्यक्ष श्रेष्ठले अहिलेपनि गर्जो टार्ने मात्र पानी उपलब्ध भएको बताउँदै सुख्खा मौसममा भने धरानमा पानीको हाहाकार बढ्न सक्ने बताउँछन्।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ धरानमा खानेपानीको समस्या सरकारले समाधान गर्न सक्दैनभने निजी क्षेलाई पानी उपलब्ध गराउन स्विकृति दिनुपर्ने बताउँछन्। उनले धरानलाई सँधै काकाकुल बनाएर राख्न नहुने बताउँदै सरकारले निजीक्षेत्रलाई अधिकार दिएर पिपिपि ( पब्लिक, प्राइभेट, पार्टनरसीप) मोडल अन्तर्गत धरानवासीलाई खानेपानी उपलब्ध गराउन तयार रहेको बताए। उनले भने “सरकारले निजीक्षेत्रलाई अधिकार दिईयोस् हामी कोशीबाट भएपनि, तमोरबाट भएपनि धरानवासीलाई पानी खुवाउँछौ।”

(सुख्खा मौसममा धरानमा खानेपानी समस्या । फायल फोटो)


धरानमा खानेपानीको समस्या चरमरुपमा बढ्दै गएपछि खानेपानी समस्याको दीर्घकालिन रुपमा समाधान गर्न एशियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच सन २०१२ मे ८ मा सम्झौता भएको थियो। २२ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान सहयोग भएको धरान खानेपानी आयोजनाको म्याद गतवर्षको डिसेम्बरमा नै सकिएको छ। उक्त आयोजनाअनुसार एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत एडिबीले दिएको कुल रकमको ३५ प्रतिशत ऋण, २६ प्रतिशत अनुदान, सरकारको २४ प्रतिशत अनुदान र उपमहानगरको १५ प्रतिशत लगानीसहित २२ मिलियन अमेरिकी डलर लागत छ । तियान्जिन तुंदी जेभीले ठेक्का पाएको र बिल्डिङ डिजाइन अथोरिटी (बीडीए) ले डीपीआर तयार गरेर भूमिगत पानी निकाल्न चारकोसे जंगलका ७ ठाउँमा ११ वटा डिप ट्युबवेल गाडिएका छन्।
धरानमा खानेपानी बोर्ड गठन भएपछि खानेपानी संस्थान धरानबाट जाने भन्दै जनसरोकार मंचले त्यसबखत आन्दोलन नै शुरुवात गरेको थियो। जसले गर्दा ठेकेदार कम्पनिले म्याद सकिएको बताउँदै खानेपानीको परिक्षण नै नगरी बोर्डलाई जिम्मा लगाएर गएपछि धरानमा खानेपानीको समस्या झनै बढ्दै गएको हो।
धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले खानेपानी संस्थान बोर्डको मातहतमा आएपनि ईन्टर कनेक्सन राम्रोसंँग हुन नपाउँदा भनेजस्तो पर्याप्त मात्रामा खानेपानी धरानवासीलाई उपलब्ध गराउन नसकेको बताए। उनले संस्थानका जिर्ण संरचना र पुराना पाईपका कारण पानी अत्याधिक चुहावट हुने गरेको समस्या बताए। धरानको वडा नं ४, ५, ६, २० र १७ को पटनाली क्षेत्रमा अझैपनि खानेपानी बिस्तार गर्न नसकिएको बताउँदै पोख्रलले हाल जेनतेन पानीको आपूर्ति भईरहेपनि सुख्खायाममा खानेपानीको संकट हुनसक्ने बताए। उनका अनुसार हाल धरानमा दैनिक रुपमा ३ करोड लिटर पानीको माग भईरहेको छभने सुख्खा मौसममा १ करोड ७० लाख लिटर पानी अपुग हुने देखिन्छ। उनले दैनिक रुपमा ४/५ जना नयाँ धारा जडानका लागि बोर्डमा निवदेन आईरहेको समेत बताए।
वि.सं. १९९५ मा राणा प्रधानमन्त्री जुद्ध शमसेर राणाले धरानको फुस्रेमा पानी टंकी निर्माण गरेपछि धरानमा खानेपानी प्रारम्भ भएको देखिन्छ। २०३४ सालमा नगर पंचायद्धारा ७ हजार धारामा पानी वितरण गरेको उपहानगरपालिकाको तथ्यांकमा समेत रहेको छ। यसैगरी खानेपानी अभाव भएपछि २०४५ सालमा तत्कालिन खानेपानी संस्थानले चारकोशे जंगलको भूमिगत पानी तानेर धरानमा खानेपानी वितरण गर्दै आएको थियो। तर वर्षेनी खानेपानी क्षेत्रको मुहान सुक्दै जाँदा धरानमा खानेपानी समस्याको अभाव रहँदै आएको छ। धरानमा दीर्घकालिन रुपमा खानेपानी समस्या हल गर्न यसपालीको चुनावमा पनी उम्मेद्धवारहरुको घोषणापत्रमा खानेपानी समस्या प्रमुख मुद्धा बनेको छ।

11 thoughts on “यसपालीको चुनावमा पनि खानेपानी समस्या प्रमुख मुद्धा

टिप्पणीहरू are closed.