“धरानबाट व्यवसायीहरु आत्तिएर भागिहाल्नुपर्ने स्थिती देखिंदैन”ः उपमेयर बेघा

दिव्य रोशनी(धरान)/ धरान उप–महानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले धरानबाट उद्योगी व्यवसायीहरु भागीहाल्नुपर्ने स्थिती नभएको बताएका छन्।
सो कुरा उनले शनिवार सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित सुनसरीःसमृद्धिका लागि प्रयास, लगानीकताहरुसंग अन्तक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा बताएका हुन्। उपमेयर बेघाले केही व्यक्तिहरुले धरानको व्यवसाय गयो गयो तल नै पुग्यो भन्ने चिया गफ बनाईरहँदा आफुलाई भने धरानको व्यवसाय आएको आएकै लागेको बताए। उनले धरानको गुमेको व्यापार–व्यवसायको विराशत अहिलेको भौतिक पूर्वाधार विकास निर्माण, सडक संजालले फर्काउने बताए। उनले भने “केही साथीहरुले धरानको व्यापार, व्यवसाय गयो गयो, तलै पुग्यो भनिरहँदा मभने धरानमा व्यवसायको सम्भाव्यता आएको आएकै देख्छु। अबको १०÷१५ वर्षपछि धरान बेग्लै हुनेछ त्यो चित्र मेले देखेको छु। लेखेर राख्नुस्। व्यवसायीहरु अहिले नै आत्तिहाल्नुपर्ने, भागिहाल्नुपर्ने स्थिति देखिंदैन।” उनले भेडेटार–ताप्लेजुङ– रवि जोड्ने मदन भण्डारी राजमार्ग धरानसंँग जोडिंदै गएपछि धरानको विकासमा कायापलट हुने ठोकुवा समेत गरे।
सोहीक्रममा उपमेयर बेघाले धरानलाई समृद्ध, विकसित र आधुनिक शहर बनाउन नगर सरकारले एक्लैले बनाउन सम्भव नभएकाले निजी क्षेत्र उद्योगी व्यवसायीहरुको सहभागिता अपरिहार्य भएको बताए। उनले उद्योगको क्षेत्रमा धरानमा औद्योगिक ग्रामलाई उठाएको बताउँदै स्थानिय सरकारले उद्योगी व्यवसायीहरुसंँग खेल्नुपर्ने भूमिकामा सुझाव दिन समेत आग्रह गरे।
धरानमा पर्यटनको क्षेत्रका सम्भावनाहरु प्रशस्त रहेको बताउँदै उपमेयर बेघाले व्यवसायीहरुको लागि स्थानिय सरकारले कस्तो नीति बनाउनुपर्ने हो त्यो बनाउँदै जानुका साथै जनताका जायज मुद्धाहरुलाई स्थानिय सरकारका प्रतिनिधीहरुले सम्बोधन गर्ने समेत जानकारी दिए। उपमेयर बेघाले धरानमा शिक्षाको अवस्था हेर्ने होभने खाद्य प्रविधि देखी डाक्टर, ईन्जिनीयरसम्म पढाई हुने महत्वपूर्ण कलेजहरु रहेको बताए। उनले धरानमा पुरातात्विक महत्वका ऐतिहासिक क्षेत्रहरु भएपनि त्यसको महत्वको जानकारी गराउने वातावरण नबनाउने होभने त्यसको अर्थ नरहने बताउँदै त्यसमा पनि निजीक्षेत्रको सहभागिता हुनुपर्नेमा जोड दिए।
धरानमा पानीको अभावले उद्योग व्यवसाय बिस्तार हुन नसकेकोमा केही सत्यता भएपनि अब त्यो चाँडै हट्ने उपमेयर बेघाको भनाई थियो। उनले वर्षायाममा पानीको जोहो गर्न पानीका स्रोतहरुको व्यवस्थापन गरिरहेको बताउँदै कोशीबाट पानी ल्याउन डिपीआरको तयारी भईरहेको र एकवर्षपछि त्यसलाई कार्यान्वयनमा लगिने समेत बताए। उनले भने “धरानमा खानेपानी स्रोतहरु मुहानहरुको व्यवस्थापन गर्न मेयर (हर्कराज साम्पाङ राई) आफैले अभियान संचालन गरिरहनु भएको छ। धारामा पानी पनि आएको छ।अहिलेका संरचनाले दैनिक १०/१५ लाख पानी थपिएकोछ, पानी आउदैन भनेर नआत्तिउ पानी आउछ, कोशीबाट भएपनि, सुरुङ खनेर भएपनि पानी ल्याउनुपर्छ।” उनले पानीकै कारण धरानमा उद्योग धन्दा होटलहरु संचालनमा कठिनाई हुनुहँुदैन भन्नका लागि नगर सरकारले पहल गरिरहेको समेत बताए। अब धरानलाई विकास र समृद्धितर्फ डोर्याउन सबै नगरवासी एक भएर लाग्नुपर्ने बताउँदै उपमेयर बेघाले कुनै पार्टी, व्यक्तिले हैन धरानेले शुरु गर्यो धरानको लागि गर्यो भनेर लाग्नुपर्ने बताए।
यसैगरी लगानीकर्ताहरुलाई स्वागत गर्दै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले धरान पहिले पुर्वको व्यवसायीक शहर भएपनि अहिले व्यवसायीहरुले धरानको व्यवसाय सुकेर गएको चिन्ता व्यक्त गरिरहँदा सुनसरी उद्योग वाणिज्य संघले लगानीकर्ताहरुको लागि सम्मेलनको आयोजना गरेको बताए। उनले यसअघि विज्ञ व्यक्तिहरुबाट शिक्षा, खेलकुद, पर्यटन, कृषि, उद्योग, वाणिज्य सम्बन्धी सात वटा विषयमा छलफल भएको बताउँदै पहिलो प्राथमिकता यसक्षेत्रकै लगानीकर्तालाई दिने बताए। सोहीक्रममा अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा लगानी सम्मेलन प्रदेश स्तरीय र केन्द्रिय स्तरसम्मको गरिने बताउँदै यस लगानी सम्मेलन सम्पन्न भएमा हजारौले रोजगारी पाउने समेत विश्वास व्यक्त गरे। उनले यस लगानीमा स्थानिय तथा प्रदेश सरकारको सहयोगको खाँचो रहेको समेत औंल्याए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले नेपालमा ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आबद्ध रहेको बताउँदै कृषिलाई प्राथमिकता दिनुपर्ने बताए। यसैगरी जितपुर–सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद शर्माले लगानीकर्ताहरुलाई सरकारले प्रमोशन गर्ने कार्यक्रम ल्याउनुपर्ने र त्यसको सहजीकरण उद्योग वाणिज्य संघले गर्नुपर्ने बताए । त्यस्तै उद्योग वाणिज्य संघ ईटहरीका अध्यक्ष भीम बहादुर पौडेलले अहिले देशमा पैसा हराएको अवस्था, बैंकले उद्योगीहरुलाई ऋण तिर्न चिठ्ठी काटेको अवस्थामा पनि लगानी सम्मेलन हुनु व्यवसायीहरुको लागि सुखद संकेत भएको बताएभने घरेलु तथा साना उद्योग कार्यालय ईटहरीका प्रमुख राजन पाण्डेले सुनसरी–मोरङ करिडोरलाई व्यवस्थित गर्न सके सुनसरीका व्यवसायीहरुको आर्थिक समृद्धि बढ्ने बताएका थिए।
यसैगरी कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयका पूर्व सचिव चन्द्र घिमिरेले सुनसरीको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले कार्यपत्र प्रस्तुत गर्दै लगानीकर्ताहरुले कुनैपनि उद्योग व्यवसायमा लगानी गर्दा उद्योगको भौतिक पूर्वाधार, कामदारको कार्यक्षमता, शहरको वातावरण, उद्योग प्रति सरकारको हेर्ने दृष्टिकोण र भवितव्य हुने घटनाको असरका बारेमा ध्यान दिनुपर्ने बताए। उनले प्रदेश १ को जनसंख्या ४१ लाख रहेको र धरानबाट भारतको आसाम र विहारसम्म बजार बिस्तार गर्न सकिने बताए। साथै उनले धरान पूर्व पश्चिमसँंगै तराई र पहाडलाई जोड्ने संगमस्थल भएकाले धरानमा उद्योग व्यवसायको सम्भावना खोज्नु भनेको नेपालकै सम्भावना खाजेको जस्तो भएकाले धरान लगानी गर्न सुरक्षित स्थान रहेको समेत दावी गरे। उनले भने “धरान देखी नजिकको बोर्डर भारतको जोगबनी ४५ किमी, कलकता ५ सय किमीको दुरीमा रहेको छ। त्यहापनि आफ्नो व्यवसाय बिस्तार गर्न सकिन्छ, यससँंगै कोशी टप्पु, बराह क्षेत्र, भेडेटार, चारकोशे जंगललाई सर्किट बनाई पर्यटन प्रवद्र्धन गर्न पनि सकिन्छ।”
यसैगरी कार्यक्रममा धरान उप–महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठले धरानको औद्योगिक ग्रामको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा धरानका युवा व्यवसायी नविनराज भण्डारीले संस्था दर्ता गर्न गाह्रो हुने गरेको बताउँलै कसैबाट सहयोग नहुँदा लगानी लगाउन समस्या हुने गरेको बताए। त्यस्तै धरानका व्यवसायी जयप्रकाश शर्मा, व्यवसायी लक्ष्मी फुयाँलले समेत आआफ्नो धारणा व्यक्त गरेका थिए।(साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १८ अंक २४ बाट)

7 thoughts on ““धरानबाट व्यवसायीहरु आत्तिएर भागिहाल्नुपर्ने स्थिती देखिंदैन”ः उपमेयर बेघा

टिप्पणीहरू are closed.