राष्ट्रिय कविता महोत्सवमा “रातो रुमाल” प्रथम

दिव्य रोशनी(धरान)/ धरानको बुद्ध चौक स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय द्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा तेह्रथुमकी सीता तुम्खेवाको “रातो रुमाल” शिर्षकको कविता प्रथम भएको छ।
यसैगरी प्रतियोगितामा मोरङका गगन योक्पाङदेनको “बालक पवन हलुवाको दिनचर्या” शिर्षकको कविता दोस्रो, काठमाण्डौका राधिका कल्पितका “पोष्ट मोर्डन सिनेमा” तेस्रो र रोल्पाका युग सर्वनामको “आकाश र भोका चिरीविरीहरु” शिर्षकको कविता सान्तवना भएका थिए। विजयी प्रथम दोस्रो, तेस्रो र सान्त्वना हुनेहरुलाई क्रमशः २१ हजार, १८ हजार, १५ हजार र ११ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।कविता प्रतियोगिताका निर्णायकहरुमा कवि चन्द्र गुरुङ, मुन्धुम कवि प्रदिप मेन्याङ्वो, र अर्का कवि देवान किराती रहेका थिए।
उत्कृष्ट १०कविता मध्ये अछामका कवि कमल राज केसीको अनुपस्थिती रहयो भने बाँकी ९ जनाले आफ्नो आफ्नो कविता वाचन गरेका थिए,जसमा धरानका विशाल नाल्वोका “भारत गाँउ”,मोरङका सरोज घिमिरेको “कोशेली”, मोरङकै प्रदिप योङहाङ लिम्बुको “स्ट्रेचरमै देश”, रोल्पाका युग सर्वनामको “आकाश र भोका चिरीविरीहरु”,भोजपुरका कमला प्रधानका “म आमा जस्तै छु”, काठमाण्डौका एलिसा ढुंगानाका “विमल–वृक्ष र अजम्बरी सपनाहरु”, काठमाण्डौकै राधिका कल्पितका “पोष्ट मोर्डन सिनेमा” कविता बाचन भएको थियो। यसैगरी कार्यक्रममा मचिन्द्र खत्रीले “हाम्रा बैंक बाँदरहरू” र विजय घिमिरेले “पिता अनि शब्द शान्ति” शीर्षकमा अप्रतियोगी कविता बाचन गरेका थिए।


यसैगरी कार्यक्रममा कवि नरेश काङमाङको कृति “तेप्लायु”लाई कवि विमल गुरुङ कृति पुरस्कार २०७८ प्रदान गरिएको छ। पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ। यस वर्ष विभिन्न विधाका साहित्यिक कृति मध्येबाट कवि काङमाङको कविता संग्रह “तेप्लायु” पुरस्कृत भएको हो। विशेषत युद्ध साहित्यमा दखल राख्ने कवि काङमाङ एउटा अवकास प्राप्त लाहुरे हुन्।उनले यस कविता संग्रह “तेप्लायु” को शब्दिक अर्थ योनी अर्थात सृजनाको द्वार रहेको बताए। उनले मान्छेको सृजना तेही योनीद्वारा भएको बताउँदै आफू सैनिक जीवनमा रहँदा युद्धमा भोगेका दुःख कष्ट आदिलाई आधार मानेर यस कविता संग्रहको सृजना गरेको बताए।
कार्यक्रममा प्रमुख अतिथी जस कुमार राई र विशेष अतिथी भाषाविद् प्राडा टंक प्रसाद न्यौपाने, रहेका थिए। उनीहरूले कवि विमल गुरुङको स्मृति गर्दै उनको साहित्यिक प्रतिभा र कृतिको बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा प्रज्ञाा प्रतिष्ठानका सदस्य शशी लुलुम्बु, १३ न.ं वडाका अध्यक्ष नेत्र काफ्ले,महेन्द्र क्याम्पस धरानका सह प्राध्यापक हरिप्रसाद दाहाल,सुनौलो पुस्तकालयका संस्थापक रमेश चक्र खड्काको समेत उपस्थिति रहेको थियो।(साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १८ अंक २४बाट)

11 thoughts on “राष्ट्रिय कविता महोत्सवमा “रातो रुमाल” प्रथम

टिप्पणीहरू are closed.