चौकीबारी महिला समुहको पहिलो साधारणसभामा महिला अधिकारका कुरा(भिडीयो सहित)

दिव्य रोशनी(धरान)/ चौकीबारी महिला समुह धरान–१९ को पहिलो साधारणसभा धरान १९ स्थित यायोख्खा भवनमा आज सोमबार सम्पन्न भएको छ।
धरान उपमहानगरपालिका धरान १९ का वडाध्यक्ष पूर्ण बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथी लिम्बुले महिलाहरु राजनैतिक र सामाजिक क्षेत्रमा निकै अघि बढेको बताए। साथै उनले महिलाहरु अब व्यवसायिकीरण बन्न आयमुलक क्षेत्रमा समेत लागिपर्न सुझाव दिंदै घरेलु हिंसा र कुसंस्कारबाट गुज्रिएको समाजलाई सुधार गर्न समेत आग्रह गरे।


त्यस्तै कार्यक्रममा समाजसेवी सरस्वती सुब्बाले यो देशमा अब नैतिक शिक्षाको जरुरी भएको बताउँदै देश चलाउने नेतृत्व वर्गहरुमा नैतिकताको पाठ सिकाउनुपर्ने बताईन्। साथै उनले नारी विश्वकै शक्ति भएकोले नारीहरु फुटेर नभइ जुटेर अघि बढ्न समेत सुझाव दिईन्।


कार्यक्रममा अर्का समाजसेवी, गायिका तथा समुहकी सल्लाहकार हर्षु राईले संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार सुनिश्चित गरिएको बताउँदै राजनैतिक क्षेत्रमा ४२ प्रतिशत महिला निर्वाचित भएतापनि पनि अझै महिलाहरु हिंसाको शिकार भएको बताईन्। समाजसेवी राईले कानुन परिवर्तन भएपनि पुरातनवादि साेंचका कारण महिलाहरु अझै अघि बढ्न नसकेको बताईन। उनले भनिन–“महिलाहरुले लडेर पाएको ३३ प्रतिशत अधिकारमा पनि महिलाहरुले काम गर्न पाएका छैनन्।”
जेष्ठ नागरिक मेघनाथ राईले महिलाहरुले अधिकार प्राप्त गर्न आफैं अघि बढ्नुपर्ने सुझाव दिए।
कार्यक्रममा किरातेश्वर मावि धरान १९ का प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वा, समाजसेवी देउमान ताप्मादेन, धरान १९ की दलित महिला सदस्य चन्द्रमाया विश्वकर्मा समेतले आयआर्जनमा पहुँच नहुँदा महिलाहरु हिंसामा परेको बताउँदै हिंसामुक्त समाज निर्माण गर्न महिलाहरुलाई आयआर्जनको क्षेत्रमा समेत प्रेरित गर्नुपर्ने बताए।
समुहकी उपाध्यक्ष निलम राईको स्वागत मन्तव्य रहेको सो कार्यक्रम समुहकी अध्यक्ष झुमादेवीको अध्यक्षतामा सम्पन्न भएको थियो। २०७६ सालमा स्थापना भएको यस समुहले २०७९ बैशाखमा झुमादेवी गुरुङको अध्यक्षतामा १९ सदस्यीय महिला चयन गरि विधिवत रुपमा दर्ता भएको सचिव निर्मला गुरुङले बताईन्। सचिव गुरुङले लैङिगक समानता स्थापना गर्ने उद्धेश्यले स्थापना भएको यस समुहले विभिन्न कुरिती र हिंसा विरुद्धमा काम गर्दै आएको र आगामी दिनहरुमा समुहले गर्ने कामहरुबारे समेत प्रतिवेदन प्रस्तुत गरेकी थिईन्।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र नयाँ आगन्तुक महिलाहरुलाई प्रमुख अतिथी लिम्बुद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो।

6 thoughts on “चौकीबारी महिला समुहको पहिलो साधारणसभामा महिला अधिकारका कुरा(भिडीयो सहित)

टिप्पणीहरू are closed.