तिनदिने भेडेटारफुड फेष्टिवल सम्पन्न

दिव्य रोशनी(धरान)/ शुक्रवारदेखी भेडेटारमा जारी तिनदिने फुड फेस्टिबलमा आज आईतवार सम्पन्न भएको छ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको फुड फेष्टिवलको समापनमा साँगुरीगढी गाँउपालिका धनकुटाका अध्यक्ष कुमार जंग याक्खा प्रमुख अतिथी रहेका थिए। उनले भेडेटारको पर्यटन प्रवद्र्धनमा गाउँपालिकाले सहयोग गर्दै आएको बताउदै यस्ता फेस्टिबलले भेडेटारलाई संसारमाझ चिनाउन मद्धत पुगेको बताए। यसैगरी कार्यक्रमका विशेष अतिथी उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले नेपालको विकास र समृद्धि भनेकै कृषि र पर्यटन भएकाले राज्यले भेडेटारको पर्यटन व्यवसायलाई स्तरोन्नती गर्नसके पूर्वाञ्चलको मात्र नभई देशकै आर्थिक समृद्धिमा टेवा पुग्ने समेत बताए।
होटल एशोसिएसन भेडेटारका पूर्व अध्यक्ष लिलाराज लावतिको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा साँगुरीगढि ६ नम्बर वडाका अध्यक्ष याम बहादुर मगर, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजबहादुर श्रेष्ठ, सिल्भर इन्टरटेनमेन्टका प्रबन्धक शौरभ श्रेष्ठ लगायतका अतिथिहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न खेलकुद विद्यामा विजयी खेलाडीहरुलाई ट्रफी समेत वितरण गरिएको थियो।
फेष्टिवलमा विभिन्न जात जातिका खाद्य परिकारका स्टलहरू रहेका थिएभने फेस्टिवलमा आउने पाहुनालाई बस्नको लागि भेडेटारका होटलहरुले १० प्रतिशत छुटदिएका थिए। साथै महोत्सव अवधीभर प्याराग्लाईडिङमा ३० प्रतिशत, हेलिकप्टर फन टुरमा १० प्रतिशत र जिपलाईनमा १५ प्रतिशत छुट दिईएको थियो। कोरोना महामारीले दुईवर्षपछि भएको तिनदिने फेष्टिवलको अवधिमा ३० हजार पर्यटक भेडेटार घुम्न आएको र ६० लाखको कारोबार भएको आयोजकले जनाएको छ।