धरान उपमहानगरपालिकाले ह्याण्ड सेनिटाईजरको नमुना संकलन गर्ने

दिव्य रोशनी (धरान)/ धरान उपमहानगरपालिकाले बजारमा उपलब्ध विभिन्न ब्राण्डका ह्याण्ड सेनिटाइजरहरुको गुणस्तर परिक्षण गर्न नमुना संकलन गर्ने भएको छ।
नगर प्रमुख तिलक राईको अध्यक्षतामा सरोकारवालाहरुसँग आज (शनिबार)बसेको बैठकमा कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न सुनसरी उद्योग बाणिज्य संघ, नेपाल प्रहरी र स्वास्थ्य महाशाखासहितको टोलीले सेनिटाइजरहरुको नमुना संकलन गरी केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार पठाउने निर्णय गरेको छ।
यसैगरी बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ। जसमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शवलाई ब्याग र्यापिङ्ग गरी सम्बन्धित पक्षलाई जिम्मा लगाउने व्यवस्था मिलाउन वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुरोध गर्ने साथै घरमै (होम आईशोलेसन) मृत्यु भएका संक्रमितको हकमा नेपाल सरकारको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड अपनाई ईलाका प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिकासँग समन्वय गरी शव व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै डेड बडी र्यापिङ ब्याग आवश्यक मात्रामा नेपाल रेडक्रस सुनसरीसँग उपलब्ध गराउन अनुरोध गर्ने र मास्कको अनिवार्य रुपमा प्रयोग गर्न÷गराउनका लागि सुनसरी उद्योग बाणिज्य संघको नेतृत्वमा नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाईटी, नेपाल स्काउटसँग समन्वय गरी उपमहानगर क्षेत्रभित्र व्यापक रुपमा सचेतना गर्ने/गराउने निर्णय पनि भएको छ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न क्वारेन्टाइन तथा आईसोलेशनको व्यवस्थापन सम्बन्धमा थप निर्णय गर्न अर्को बैठकमा प्रस्ताव गरिनेछ। कोभिड १९ बाट संक्रमित व्यक्तिको मृत्यु भएमा जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराएको शव बाहनलाई प्रयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज वली, नेपाल रेडक्रस सोसाईटी सुनसरीका किरण कार्की, श्याम पोख्रेल, उप–महानगरपालिकाका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, प्रशासन महाशाखा प्रमुख गणेश खतिवडा, व.क.नि. रामबाबु यादव लगायतको उपस्थिति रहेको थियो।

2,286 thoughts on “धरान उपमहानगरपालिकाले ह्याण्ड सेनिटाईजरको नमुना संकलन गर्ने

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *