धरानका पुराना गायक रोहित मास्केले “प्रिय तिमीलाई….” लिएर आए

दिव्य रोशनी(धरान)/ धरानका पुराना गायक रोहित मास्केले करिब अढाई दशकपछि आफ्नो नयाँ गीत “प्रिय तिमीलाई” लिएर आएका छन्।
सञ्जिव लामाको शब्द/संगीत र निर्देशनमा रहेको “प्रिय तिमीलाई यो जुनी भरि” बोलको गीति भिडियो सहित गायक मास्केले आफ्नै युट्युब च्यानल मार्फत् रिलिज गरेका हुन् । प्रशान्त तामाङले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोमा लाजु श्रेष्ठको अभिनय रहेको छ। गायक मास्केले केही महिना अघि कोरोना महामारीका कारण भएको लक डाउनको सदुपयोग गर्दै धरानका अन्य संगीतकर्मीहरु सञ्जिव लामा, हेम सुब्बा र मनोज मोतेको सहयोगमा “हामी बाँचौ” बोलको संदेशमुलक गीत समेत रिलिज गरिसकेका छन् । उक्त गीतको राम्रो प्रतिक्रियाले हौसिएका गायक मास्केले पहिलो लक डाउनमा संगीत दिवस, मलाई धेरै धेरै माया” लगायतका गीतहरु समेत निकालेका थिए।
२०४९ सालताका “निश्चल” नामक सांगीतिक एल्बम बजारमा ल्याएका गायक मास्केको “टेक्सी टेक्सी,” “मेरी मायालु” बोलका गीतहरु त्यसबेला रुचाइएका थिए र उक्त एल्बममा उनले त्यसबेला नाम चलेका चर्चित गायिकाहरु सुक्मित गुरुङ, सपनाश्री परियार र भगवती तुम्बाहाम्फे संँगै युगल गीतहरु समेत गाएका थिए।


धरानको देउसी भैलोदेखि विभिन्न सांगीतिक कार्यक्रममा आफुलाई अब्बल रुपमा अगाडी बढाएपनि एल्बम निकालेको केही समयपछि नै उनले हङकङलाई आफ्नो कर्मथलो बनाएको मास्के बताउँछन्। मास्केका अनुसार त्यसपछि भने उनी आफ्नै कामको सिलसिलामा हङकङमा नै रहदै आएका थिए। हङकङ हुँदापनि यदाकदा फुर्सदको केही समय संगीतमा रमाउने मौका पाएका रोहितले केही गीतहरु रेकर्ड गराएभने हङकङमै निर्मित “चुकेको चुरा” नामक चलचित्रमा संगीत तथा स्वर समेत दिएका छन्।
हङकङमा हुने सांगीतिक कार्यक्रमहरुमा समेत उनको उपस्थिति रहने गर्दथ्यो। केहि वर्ष अघि मात्र उनी आफ्नै जन्मथलो धरानमा नै बस्ने गरि फर्किएका छन्। धरानआएपछि भने उनले आफ्नो काम संँगसँंगै आफ्नो सांगीतिक शौख पनि पुरा गरिरहेका छन्। धरानमा हुने विभिन्न सांगीतिक कन्सर्टहरुमा झुल्किरहने गायक मास्के धरानको धरान संगीत प्रतिष्ठानमा समेत कोषाध्यक्षको रुपमा आबद्ध रहेका छन्।

“प्रिय तिमीलाई”को गिती भिडियो हेर्न तलको लिंक थिच्नुहोस्ः

https://youtu.be/7sTl7FlOsxM

टिप्पणीहरू are closed.