सडनडेथमा धरान ६ लाई हराउदै धरान १७ गोधुली फुटबल रनिङ कपको सेमिफाईनलमा (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ सडन डेथमा धरान ६ माथि ५–४ को जित निकाल्दै धरान १७ गोंधुली फुटबल रनिङ कपको सेमिफाईनलमा पुगेको छ।
मंगलवार धरान रंगशालामा भएको अन्तिम क्वाटरफाईनल खेलमा धरान १७ ले सडन डेथमा धरान ६ माथि जित हासिल गरेको हो। खेलको पहिलो हाफको २२ औं मिनेटमा धरान ६ का तर्फबाट अमन मगरले गोलगरी टिमलाई १–० को अग्रता दिलाएपनि २६ औं मिनेटमा धरान १७ का तर्फबाट तपन कार्कीले गोलगरी खेललाई १/१ गोलको बराबरीमा ल्याएका थिए।
निकै नै प्रतिस्पर्धात्मक भएको दोस्रो हाफमा दुवैटिमले राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा दुबैतर्फबाट थप गोल हुन सकेन। निर्धारित ९० मिनेटको खेलमा पनि थप गोल नभएपछि १५ मिनेट समय थप गरिएको थियो। तर थप समयमा पनि थप गोल हुन नसकेपछि खेलको नतिजा सडन डेथबाट लिईएको थियो। जसमा धरान १७ का तर्फबाट मिलन राई, सौजन राई, युनेश बुढाथोकी, दिवस सुनुवार र प्रज्वल थापाले गोल गरेका थिएभने पवन तामाङको प्रहार बाहिरिएको थियो।
यसैगरी धरान ६ का तर्फबाट अजय बिष्ट, अमन मगर, सुनिल रखाल मगर र अमित योञ्जनले गोल गरेका थिएभने अर्जुन लिम्बु र लक्ष्मण लिम्बुको प्रहार धरान १७ का गोलकिपर आशिष कार्कीले विफल तुल्याएका थिए। जित संगै धरान १७ ले बिहिवार हुने सेमिफाईनल खेलमा धरान १४ को सामना गर्नेछ। प्रतियोगिताको म्यान अफ दि म्याच धरान १७ का प्रज्वल थापा घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


प्रतियोगिता अन्तर्गत भोली बुधवारको पहिलो सेमिफाईनल खेल धरान १३ र १८ नं वडाका बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।
माघ २७ गतेसम्म संचालन हुने २४ औं गोंधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहेको छ। प्रतियोगिताका बिजेताले नगद १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्यक्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५/२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ।


यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिड फिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले बताए।