नाथ्री फुट्ने समस्या छ ? यसरी गरौं रोकथाम र उपचार

दिव्य रोशनी/ विशेषगरी फागुनदेखि जेठ महिनासम्म मौसमी तापक्रम सँगै धँुवा, धुलो तथा प्रदूषणका कारण मानिसमा नाकबाट रगत बग्ने समस्या देखापर्छ । प्रायः मानिस यसलाई नाथ्री फुटेको भन्छन् । तर जुनसुकै मौसममा नाथ्री फुट्नु समस्याजनक हुन सक्छ । देख्दा सामान्य लागेपनि यसले गम्भीर रोगको लक्षण देखाउन सक्छ । सामान्य कारणले नाकबाट रक्तस्राव भएमा त्यसको मात्रा कम हुन्छ । असामान्य कारणबाट देखिने रक्तस्रावमा रगतको मात्रा बढी हुन्छ ।
नाकको भित्रपट्टि रहेका स–साना रगत नलिहरु (नाथ्री) फुटेर नाकबाट रगत आउने प्रक्रियालाई मेडिकल भाषामा भउष्कतबहष्क भनिन्छ । प्रायःजसो अलि दह्रो तरिकाले नाक सफा गर्न खोज्दा, हाच्छियुँ गर्दा, खेलकुद खेलेको बेलामा लडेर नाकमा चोटपटक लाग्दा ती स–साना रक्तनलिहरु फुट्न गई रगत आउन सक्छ ।
नाकबाट रगत बग्नुका (भ्उष्कतबहष्क) अन्य धेरै कारण हुन सक्छन जस्तैः
– लामो समयसम्म पिनास, रुघा–खोकी, एलर्जी हुनु ,
– कुनै प्रकारको नाकको संक्रमण,
– नाक कोट्याउने बानी,
– गर्मी मौसम,
– रगत सम्बन्धि समस्या भएको वा रगत पातलो गर्ने विभिन्न औषधिको प्रयोग,
– गर्भास्था वा हर्मोनको (इस्ट्रोजेन) प्रयोग
– कब्जिएत भएको अवस्था आदि
( विभिन्न अध्ययनले देखाए अनुसार उच्चरक्तचाप यसको कारण होइन तर उच्चरक्तचापका बिरामीमा यो समस्या बढि हुने गरेको र उपचार गर्न पनि अलि कठिनाई हुने हुन्छ )
रोकथामः
१) नाकको भित्रपट्टी सुख्खा हुन नदिने, धेरै सुख्खा भएमा नुनपानीले भिजाउने
२) धेरै जोडले नाक सफा नगर्ने (सिगान फाल्दा)
३) औंला अथवा कुनै पनि सामानले नाक नकोट्टयाउने
४) प्रशस्त पानी पिउने
५) धुम्रपान नगर्ने
६) उच्चरक्तचाप भए त्यसको उपचार गर्ने
नाथ्री फुटेमा सामान्यतया केही समयमा रगत बग्न आफै रोकिने गर्छ । तर, लामो समयसम्म पनि रगत बगिरहेमा चिकित्सकलाई देखाइहाल्नुपर्ने हुन्छ ।
उपचारः
(घरमै गर्न सकिने विधिहरु)
– नाकबाट रगत बग्न थालेमा तुरुन्तै बुढी औंला र चोर औंलाले नाकको तल्लो भाग (नाकको डांँडी भन्दा तल र नाकको प्वाल भन्दा ठिक माथी पर्ने ( नाकको नरम भाग) लाई करिब ५ देखि १५ मिनेटसम्म च्यापेर राख्ने (अठ्याउने) । उक्त समयमा मुखबाट सास फेर्ने ।
– नाकलाइ च्यापेको बेला टाउकोलाई हल्का अगाडीतर्फ घोप्टी पार्नु पर्छ (पछाडि अथवा माथितिर हैन)।
– यदि बरफ छ भने त्यसलाई नाकको माथिल्लो भागमा राख्ने, यसरी पनि रगत बग्न कम हुने वा रोकिने हुन्छ ।
यदि यी तरिका अपनाउँदा पनि रगत बग्न रोकिएनभने तुरुन्तै अस्पताल लैजानुपर्छ । बारम्बार नाकबाट रगत बगिरहने समस्या छभने अरु कुनै रोगका कारण पनि हुनसक्छ । त्यसैले चिकित्सकको सल्लाह लिनुपर्छ ।
(लेखकःलोकेन्द्र अवस्थी,विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ ।)

1,794 thoughts on “नाथ्री फुट्ने समस्या छ ? यसरी गरौं रोकथाम र उपचार

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *