“सरकारी राहत”

दिनभरी लक डाउनपछि साँझमा नजिकका किराना पसलहरु खुल्छन् ।
किनमेल गर्नेहरुको चहलपहल शुरु हुन्छ । लाम लागेर सबैले आवश्यकता अनुसारको सामान खरिद गर्न थाल्छ ।
एउटा घरको ढोकामा उभिएर टुलुटुलु हेरेर बसिरहेका छन्, एउटा विपन्न परिवार । उसको सानो ५ वर्षे छोराले हात तान्दै सोध्छ “बाबा हामी किनमेल गर्न पसल नजाने ?“
छोराको कुरा सुनेर उसलाई के गरौं, कसो गरौं हुन्छ । हतार हतार छोरालाई भित्र तान्दै भन्छ “बाहिर जानु हुन्न, ठूलो रोग आको छ अरे, दोकानमा किनमेल पनि गर्नु हुन्न, किनेको सामान अनि फिर्ता लिएको पैसाबाट पनि रोग सर्छ अरे, यो रोग लाग्योभने हामी सबै मर्छौ । ल ल अब यो पानी पिउ अनि छिट्टै सुतौं है, बाहिर कोही जानु हुन्न सरकारले लक डाउन गरेको छ” भन्दै उसले घरको ढोका लाउछ ।
उपरोक्त दृष्य त एक प्रतिनिधी पात्र मात्र हुन् । विपन्न परिवार त आफ्नो गुजारा टार्नका लागि पानी खाएर बाँचिरहेको अवस्था छ । अब कुरा गरौं लक डाउनको । अहिले कोरोना भाईरसको महामारीका कारण धरानमा अति विपन्न परिवारको संख्या ८ हजार पुगेको छ, अब १० हजार पुग्न सक्नेछ । तपाईंहरुलाई लाग्छ ? अति विपन्न परिवार यत्रो होलान् त धरानमा ?? अति विपन्न परिवारको लिस्ट्मा नाम संकलन गर्ने र संकलन गराउने वर्गले एकपल्ट सोचांै है ।
जसको नाम यो लिस्ट्मा परेको छ वहाँहरुले एकपल्ट आफैंले आफुलाई यो प्रश्न गर्नुस्,तपाईको उत्तर तपाईलाई नै चित्त बुझ्यो र सन्तुष्ट हुनु भयोभने मजाले राहत लिन जानुहोला ।
के तपाईं भानुचोकमा भारी बोकेर हिड्ने, ठेला रिक्सा चलाएर हिडने गर्नुभएको छ ?
के तपाईं खोला किनारमा बसेर गिट्टी कुटेर आफ्नो परिवार पाल्दै हुनुहुन्छ ?
के तपाईं दैनिकी ज्यालादारी या मजदुरीमा काम गर्ने व्यक्ति हो ?
तपाईको घरमा तपाईको घर मुली अशक्त बिरामी हुनुहुन्छ ,जसले गर्दा तपाईं र तपाईको परिवारलाई समस्या परेको छ ?
के तपाईको घरमा १ बोरा चामल पनि संचित भएको छैन ?
तपाईको गलामा सुनको सिक्री छ कि छैन ?
तपाईले अहिले फेसबुक चलाई रहनु भएको कुन मोबाइल हो र घरमा कति जनासंँग यस्तो मोबाईल छ ?
केही प्रश्नहरु छुटे होलान् , त्यो थप्ने तपाईंहरुको नै जिम्मा ।
यो प्रश्नहरुको उत्तर दिंदा तपाईलाई कस्तो महशुस भयो ?
आफंै सोच्नुस अनि राहतको लिस्टमा नाम राख्ने कि काट्ने आफैं विचार गर्नुस् ।
दश हजार विपिन्न परिवार भएर १० केजीको दरले बाँड्दा एक लाख केजी हुन्छ । अब तपाईं आफंैले स्वेच्छाले नाम काटेर अति विपिन्न परिवारको संख्या २ हजार पुग्योभने, १० हजार जनालाई बाँडने चामल एउटा अति विपिन्न परिवारले ५० केजीको दरले पाउँछन् ।
त्यो परिवारलाई एकदेखि डेढ महिनासम्म पुग्ने खाद्यान्न उसको घरमा हुन्छ । त्यो अवस्थामा उसको हँसिलो अनुहार सम्झनुस् त , कति आशिर्वाद लाग्छ तपाईहरुलाई । अब आफंै सोच्नुस तपाईंले सरकारी भन्न साथ हात थापेर लिएको राहत लिन कति ठिक हुन्छ ।
यदि लिनु भएको छ भने, त्यो चामलको खाना पकाएपछि गाँस हाल्ने बेला, शनि मन्दिर अनि पिण्डेश्वरी मन्दिर या अन्य कुनै मन्दिर अघि बसेका ती वृद्धवृद्धा अनि त्यो ज्याला मजदुरी गर्ने व्यक्तिको अनुहार सम्झनुस् । तपाईंलाई त्यो गाँस रुच्छ ?
रुच्यो भने तपाईं यो संसारको महान व्यक्ती ,
म तपाईंलाई दश औला जोडेर नमस्कार गर्छु । त्यसपछि तपाईंले कुनै नेताले भ्रष्टाचार गर्यो , ठग्यो, यसो गर्यो, उसो गर्यो भनेर भन्ने अधिकारबाट बञ्चित हुनुभयो । तपाईले कसैलाई केही भन्न पाउनु हुन्न । त्यसैले तपाईं परिवर्तन चाहनु हुन्छभने आफैंबाट शुरु गर्नुस् । आफुले आफंैलाई सच्याउनुस् ।
अन्त्यमा, जादाँजादै तपाईले यो मेरो लेख पढनु भयोभने पक्कै पनि तपाईं अति विपन्न वर्गमा पर्नु हुन्न होला । अहिले जुन अति विपन्न परिवारको कुरा गरेका छौं, धेरै त्यस्ता परिवार अहिले पनि सामाजिक सञ्जालको पहुँच भन्दा अलि टाढै हुनुहुन्छ जस्तो लाग्छ मलाई । अन्यथा नलिनु होला यो लक डाउनको समयमा राहत बाँडन जाँदा हामीले भेटेको अति विपन्न परिवारको परिभाषा यहि हो । धन्यवाद । Stay at Home
(लेखक प्रधान चलचित्र निर्देशक तथा प्रोड्युसर समेत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published.