मिसेस धरान आईकनको पहिलो अडिसन सम्पन्न
दिव्य रोशनी(धरान)/ एल एण्ड सि मोडल एजेन्सी प्राली.को आयोजनामा मिसेस धरान आईकन २०२४ को पहिलो अडिसन सम्पन्न भएको छ।
शनिवार धरानको हाङकुक साराङ् कोरियन रेष्टुरेण्टमा भएको पहिलो अडिसनमा धरानका २५ जना विवाहित महिलाहरु सहभागि रहेका थिए। अडिसनमा सहभागी प्रतियोगिहरुले आफ्नो परिचयका साथै आफुमा निहित प्रतिभाहरु प्रस्तुत गर्दै निर्णायकहरुलाई आकर्षति गराएका थिए। पहिलो अडिसनका मुख्य निर्णायक चन्द्रकला लिम्बु(शाक्य) सहित अन्य निर्णायकहरु सरिता न्यौपाने, लिला थापा, सुस्मिता संयोक लिम्बु र करिस्मा प्रधान रहेका थिए।
प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन यही असार २९ गते धरान १३ स्थित भ्यू पोईन्ट रेष्टुरेण्टमा हुने प्रतियोगिताका ईभेन्ट डाईरेक्टर निश्चल पलिखेले बताए। उनले धरानका विवाहित महिलाहरुको प्रतिभाहरु टिकटकमा मात्र सिमित भईरहेको बेला उनिहरुको प्रतिभालाई प्रस्फुटन गराउन डिजिटल प्लेटफर्म प्रदान गरिएको बताए। उनका अनुसार प्रालीले विवाहित महिलाहरुका लागी आयोजना गरेको यो पहिलो सौन्दर्य प्रतियोगिता हो। प्रतियोगिताका २ वटा अडिसनबाट २० वर्षदेखी ४५ वर्षसम्मका ३० जना महिलाहरुलाई मात्र छनौट गरिने छ। जसमा हाईट र वेटको कुनैपनि मापदण्ड राखिएको छैन।
प्रतियोगितामा छनौट भएका प्रतियोगिहरुलाई व्यक्तित्व विकासका लागी यही साउन २ गतेदेखी १ महिना सम्मका लागी बन्द प्रशिक्षणमा राखिने भएको छ।जसमा प्रतियोगिहरुलाई पब्लिक स्पिकिङ, पर्सनालिटी डेभलपमेन्ट, टेबल मेनेजमेण्ट, ट्राफिक सचेतना, महिला अधिकार,महिला शसक्तिकरण लगायतका कुराहरु अनुभवी व्यक्तित्वहरुबाट प्रशिक्षण गराईनेछ। प्रतियोगिताका सहभागिहरुलाई १५ हजार शुल्क तोकिएको छ। जसमा महिलाहरुका लागी १ थान टिसर्ट र फिनालेका लागी पार्टी गाउन प्रदान गरिने पनि आयोजकले जनाएको छ।
प्रतियोगिताको फिनाले आगामी भदौ ७ गते हुनेछ। जसमा सम्पूर्ण सहभागीहरुले प्रमाणपत्र, कुनै न कुनै सवटाईटल पाउनेछन् भने आकर्षक गिफ्ट ह्याम्परहरु पनि पाउनेछन्। विजेताले क्राउन सहित ३० हजार नगद, ५ लाखको बिमालेख, वान डे वान नाईटका लागी होलिडे नाईटको अवसर पाउनेछन् भने कुनै एक म्यागजिनमा पोष्टर सहितको अन्तरवार्ता सहित कुनै एक कम्पनिको सद्भावना राजदुत साथै राष्ट्रिय स्तरको मिसेस नेपालको प्रतियोगितामा सिधै सहभागिता जनाउने पाउनेछन्।
यसैगरी प्रतियोगिताका फस्ट रनरअपले नगद २० हजार सहित २ लाखको बिमालेख र सेकेण्ड रनरअपले १० हजार नगदका साथमा २ लाखको बिमालेख सहित आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन्। यसैगरी मिसेस पब्लिक च्वाईसले विशेष क्राउन पाउने प्रालीका सिईओ दिपक गिरीले बताए। (दिव्य रोशनी साप्ताहिकबाट)