धरानको ३ नं वडा बालमैत्री वडा घोषित
दिव्य रोशनी(धरान)/ बाल अधिकारका पाँच क्षेत्र बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत क्षेत्रका गरी ५१ ओटा सूचक पुरा गरेकोमा धरानको ३ नम्बर वडालाई बालमैत्री वडा घोषित गरिएको छ।
शनिवार धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले धरान ३ नं वडाले बालअधिकारका पाँचक्षेत्रका ५१ वटा सूचकलाई पुरा गरेको जनाउदै बालमैत्री वडा घोषणा गरेका हुन्। यससंगै धरानमा बालमैत्री वडाको संख्या १७ पुगेकोे छ। यसअघि धरानका १६ वटा वडाहरु बालमैत्री वडा घोषित भईसकेका छन्। अब बाँकी धरानको २ नं वडालाई आज आईतवार बालमैत्री वडा घोषित गरिदैछभने १ र ९ नं वडालाई भने बालमैत्री वडा घोषणा गर्न बाँकी नै छ।
धरान ३ स्थित भानु स्मृति माविमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी उपमेयर बेघाले विकास र समृद्धिका लागी धरान नयाँ ढंगले अगाडी बढिरहेको ज्वलन्त उदाहरण बालमैत्री वडा घोषणाले देखाएको बताए। उनले आम नागरिकको योगदानले मात्र धरानको विकास र समृद्धि अगाडी बढ्ने भएकाले सम्पूर्ण धरानवासीहरुलाई एकजुट हुनपनि आग्रह गरे। त्यस्तै धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेले धरान १३ बाट शुरू गरिएको बालमैत्री वडा धरान ३ मा आईपुगेको जनाउँदै वडावासीहरुमा शुभकामना समेत व्यक्त गरे।
यसैगरी बालमैत्री वडाघोषणा प्रतिवेदन प्रस्तुत गर्दै धरान ३ का वडाअध्यक्ष विद्या शाक्यले बालमैत्री स्थानिय शासन रणनीति एवं कार्यान्वयन कार्यविधीलाई २०६८ बमोजिम ३ नं वडाले बालमैत्री अभियानलाई तिब्रता दिदै आएकाले वडालाई बालमैत्री वडा घोषणा गर्न सफल भएको बताए। उनले ३ नं वडाले बालमैत्री स्थानिय शासनका ५१ सूचकमध्ये ३८ ओटा सूचकमा सतप्रतिशत र बाँकी ६ वटा सूचकमा ९५ प्रतिशत, १ वटा सूचकमा ९० प्रतिशत र ६ वटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरेको समेत बताए। वडाअध्यक्ष शाक्यका अनुसार २०७८ सालको जनगणनाको नतिजा अनुसार १ हजार १ सय १ घरधुरी रहेको यस वडाको जनसंख्या ४ हजार ६ सय ६२ रहेको छ। जसमा महिला २ हजार ३ सय ५८ र पुरुष २ हजार ३ सय ४ जना रहेका छन्। यसैगरी वडाबाट २०८० सालमा गरिएको घरधुरी सर्वे अनुसार यस वडामा ८ सय २४ घरधुरीमा ५ हजार ९७ परिवार रहेका छन्। यसैगरी १८ वर्षभन्दा माथिका महिला १ हजार ८ सय ५ र पुरुष १ हजार ८ सय ७९ गरी ३ हजार ६ सय ८४ रहेको छ। त्यस्तै १८ वर्षभन्दा मुनिका बालबालिकाको संख्या १ हजार ४ सय १३ रहेका छन्। जसमा बालकहरुको संख्या ६ सय १३ र बालिका ८ सय रहेका छन्। बालबालिकाको संख्या यस वडाको कुल जनसंख्याको ३०.६९ प्रतिशत हुन आउँछ।
कार्यक्रममा वडाअध्यक्ष शाक्यद्धारा प्रस्तुत प्रतिवेदनमा बालमैत्री वडा नतिजा हासिल गर्न वडाबाट सर्वे गराईआएका तथ्यांकका आधारमा बालबालिकाको वस्तुगत विवरण तयारी र प्रकाशन, वार्षिक लगानी योजना, बाल बालिकाको स्थिति पत्र तयारी, बालभेला, सुरक्षित मातृत्व कार्यक्रम, बालबालिका माथि हुने घरेलु हिंसा तथा बालश्रम न्युनिकरण, बालविवाह न्यूनिकरणका लागि जनचेतना अभिवृद्धि तथा अनुगमन, जन्मदर्ता अभियान, पानीको परिक्षण, बाल संरक्षण र योजना तयारी र कार्यान्वयन, विद्यालय भर्ना अभियान, छात्रवृत्ति सहयोग, समुदाय र विद्यालयमा आधारित ९ वटा बाल क्लब तथा १ बाल संजाल गठन, अभिभावक सचेतना कार्यक्रम, विषयगत कार्यालयहरुद्वारा अनुगमन मुल्याङ्कन लगायतका सूचकहरु पुरा गरेको जनाईएको छ।
यसैगरी वडामा बालमैत्री स्थानिय शासन अबलम्वन गर्नुभन्दा पहिला वडाका शतप्रतिशत बच्चाहरु अस्पताल तथा प्रसुति गृहमा जन्मदैनथे। शतप्रतिशत घरधुरीमा शौचालयको व्यवस्था थिएन, ५ वर्ष भन्दा मुनिका बालबालिकामा सबैको जन्मदर्ता थिएन। वडाबाट बालबालिकाको क्षेत्रमा बजेट विनियोजन हँुदैनथ्यो। योजना छनौट प्रकृयामा बालबालिकाहरुलाई सहभागि गराउने चलन थिएन। हाल यसवडाले बालबालिकाको लागी कुल पूँजिगत खर्चको १५ प्रतिशत बजेट छुट्याउने गरेको वडाअध्यक्ष शाक्यले बताए। उनले हरेक साल बालबालिकाहरु भेला गराई बालबालिकाका योजनाहरु छनौट गरिदै आएको पनि बताए।
कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राहरुद्धारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोभने कार्यक्रममा वडालाई बालमैत्री बनाउन सहयोग गर्ने वडाका कर्मचारी, टिएलओ संस्था लगायतलाई कदरपत्र समेत प्रदान गरिएको थियो।
वडाका सदस्य मनिष खड्गीको संचालन रहेको सो कार्यक्रममा धरानका विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विद्यालयका प्रधानध्यापक, वडा बाल सञ्जालका पदाधिकारी, समाजसेवी, राजनैतिक दल, बुद्धिजीवी तथा स्थानियवासीहरूको उपस्थिति रहेको थियो।