पब्लिक हाईस्कुलमा कक्षा ११ को प्रवेश परिक्षा दिन विद्यार्थीहरुको भिड

दिव्य रोशनी (धरान)/ धरानको पब्लिक हाईस्कुलमा कक्षा ११ को प्रवेश परिक्षा दिन विद्यार्थीहरुको भिड नै लागेको छ।
सुनसरीको नमुना सामुदायिक विद्यालयको रुपमा रहेको पब्लिक हाईस्कुलमा शनिवार कक्षा ११ का लगी प्रवेश परिक्षा दिन विद्यार्थीहरुको भिड लागेको हो। शनिवार भएको कक्षा ११ को प्रवेश परिक्षामा ५ सय १७ जना विद्यार्थीहरुले प्रवेश परिक्षा दिएका थिए। लिखित तथा अन्तरवार्ता समेत गरी लिएको परीक्षाको रिजल्ट शनिवार साँझ नै निकालिएको र आज आइतबार विहान ७ बजे देखि भर्ना शुरु गरिने पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा. इन्द्र मोहन झाले बताए। उनले एसईई परिक्षामा ३.६ जिपिए भन्दा माथि ल्याउने विद्यार्थीलाई कुनै पनि विषय पढ्न शतप्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको समेत जानकारी दिए।
प्रअ. झाका अनुसार विद्यालयमा कक्षा ११ मा साईन्स, कम्प्यूटर साइन्स, मेनेजमेन्ट, कम्प्यूटर मेनेजमेन्ट, होटल मेनेजमेन्ट, एजुकेशन, व्यूटिसियन एण्ड हेयर ड्रेसिङ र मानविकी विषयका कक्षाहरु संचालन भैरहेको छ। पूर्व प्राथमिक देखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा जम्मा ३ हजार ६ सय ४९ जना विद्यार्थीहरू अध्ययनरत रहेकाछन्। यो वर्ष पब्लिक हाईस्कुल साइन्स प्रवद्र्धन गर्ने विद्यालयको रुपमा पनि छनौटमा परेको छ । साथै पब्लिक हाईस्कुलको व्यवस्थापन र पढाईको गुणस्तरका कारण विद्यार्थी तथा अभिभाकहरूका लागि रोजाईको विद्यालय बनेको साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले बताए।
पब्लिक हाईस्कुल यसवर्षको एसईईमा सामुदायिक विद्यालय तर्फ सुनसरीमा टप भएको छ। छात्रा तर्फ यस हाईस्कुलकी छात्रा आकृति वराईली सुनसरी टप भएकी छिन् । आकृतिले ३ दशमलव ८६ प्रतिशत अंक प्राप्त गरेकी छिन्।


पब्लिकका १ सय ९३ जना विद्यार्थीहरूले एसईई परीक्षा दिएकोमा १ सय ५७ जना उत्तिर्ण भएका छन्। जसमध्ये ३.६ देखि ४ जिपिए ल्याउने १८ जना, ३.२ देखि ३.६ ल्याउने ६७ जना, २.८ देखि ३.२ ल्याउने ५० जना, २.४ देखि २.८ जिपिए ल्याउने २२ जना रहेका छन् । विषय लाग्नेहरूमा १ विषय लाग्ने २५ जना, २ विषय लाग्ने ९ जना, ३ विषय लाग्ने १ जना र ५ विषय लाग्ने १ जना रहेका छन् । सवै विषय लाग्ने विद्यार्थीहरुले पनि ग्रेट वृद्धि परीक्षा दिन पाउने व्यवस्था सरकारले गरेकोले पुरक परीक्षा दिने विद्यार्थीहरुका लागि परीक्षा तयारी कक्षा पनि विद्यालयले शुरु गरेको समेत पब्लिकका सहायक प्रधानाध्यापक लेखनाथ भट्टराईले जानकारी दिए।
विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु साथ–साथै स्काउट र एनसीसी लगायतका कार्यक्रमहरू पनि संचालन भइरहेको विद्यालयका एकाडेमिक इन्चार्ज विरेन्द्र बहादुर शाहले जानकारी दिए। यसैगरी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र कुमार राईले सामुदायिक विद्यालयलाई पनि सवैको सहयोगबाट उत्कृष्ट विद्यालय बनाउन सकिन्छ भन्ने उदाहरणको रुपमा देखाउन आफुहरु लागिरहेको प्रतिकृया दिएका थिए। (दिव्य रोशनी साप्ताहिकबाट)