सूर्य नेपाल इस्टर्न ओपनःदोस्रो दिन शुक्र शीर्षस्थानमा कायमै
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन। आज उनले १-ओभर ७१ स्कोर गर्दा समग्रमा २-अन्डर १ सय ३८ सहित नीरज तामाङलाई एक स्ट्रोकले पछि पारे।
धरान गल्फ क्लबमा जारी प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन शुक्रलाई कडा चुनौती दिदै नीरजले १-ओभर ७१ मा दोस्रो दिनको खेल सकाउँदा समग्रमा १-अन्डर १ सय ३९ स्कोर गरेका छन। पुर्व नम्बर एक प्रो भुवन नगरकोटीले २-ओभर ७२ सहित समग्रमा २-ओभर १ सय ४२ को स्कोर तयार पारे। यो स्कोरमा उनी तेस्रो स्थानमा उक्लिए। उनले एमेच्योर गल्फर युवराज भुजेलसँग तेस्रो स्थान बाँडेका छन।
समग्रमा ४-ओभर १ सय ४४ को स्कोरमा रबि खड्का, राजेन राई र भुवन कुमार रोक्काले संयुक्तरुपमा चौथो स्थान बाँडे। तीनै खेलाडीले आज १-अन्डर ६९ को स्कोर कार्ड बनाए। समग्रमा ६-ओभर १ सय ४६ सहित धन बहादुर थापा र रामे मगर संयुक्तरुपमा सातौं स्थानमा रहे। धनले आज २-ओभर ७२ र रामेले ५-ओभर ७५ मा खेल सकाए। सञ्जय लामा,सूर्य प्रसाद शर्मा र दीपक मगरले समग्रमा ७-ओभर १ सय ४७ स्कोर गर्दा संयुक्तरुपमा नवौं स्थानमा रहेका छन। सञ्जय र सूर्यले आज २-ओभर ७२ मा खेला सकाउँदा दीपकले ४-ओभर ७४ को नतिजा निकाले।
३६ होलको समाप्तीमा १४-ओभर १ सय ५४ स्कोर गर्ने २१ प्रो र ५ एमेच्योरले कट बनाउँदै अन्तिम १८ होलको प्रतिस्पर्धामा स्थान सुरक्षित गरेका छन। प्रोहरू देउराज पाख्रीन, सबिन सापकोटा, दिनेश प्रजापति, बलभद्र राई, जयराम श्रेष्ठ, प्रदीप कुमार लामा, रमेश अधिकारी, पशुपति शर्मा, दल बहादुर लामा र सुमन सापकोटाले कट बनाएका छन।
एमेच्योरतर्फ युवराज भुजेल शीर्षस्थानमा रहेका छन। उनले आज ३-ओभर ७३ मा खेल सकाए पनि समग्रमा २-ओभर १ सय ४२ को स्कोरमा गजेन्द्र गुरूङलाई ३ स्ट्रोकले पछि पारे। समग्रमा ५-ओभर १ सय ४५ स्कोर गरेका गजेन्द्रले दोस्रो दिनको खेल १-ओभर ७१ मा पुरा गरे। समग्रमा १-ओभर १ सय ४६ सहित सुन्दर राई तेस्रो स्थानमा छन आज उनले १-अन्डर ६९ को स्कोर दर्ज गरे। यस्तै पदम हाङ र सुमन परियारले पनि कट बनाएका छन।
यो सिजनको पहिलो उपाधि जित्ने दाउमा रहेका शुक्रले दोस्रो दिनको सुरूवात राम्रो गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। फ्रन्ट नाइनमा उनले चार बर्डीको सफलता प्राप्त गरे। तेस्रो होलमा एक सट बचाएका उनले पाँचौ देखि सातौं होलसम्म लगातार ३ बर्डी प्रहार गरे। चौथो र नवौं होलमा भने एक-एक सट खेर फाले। यसपछि ब्याक नाइनमा शुक्रले खराब प्रदर्शन गरे। १०औं,१४औं र १७औं होलमा बोगी खेप्दा ब्याक नाइन ३-ओभर ३७ मा पुरा गर्न बाध्य भए। ब्याक नाइनको यही खराब प्रदर्शनमा शुक्रले नीरज तामाङ विरूद्ध अग्रता बढाउन सकेनन।
नीरजले भने फ्रन्ट नाइनमा खेल बिगारे। बोगीबाट दिनको सुरूवात गरे। यसपछि दोस्रो र छैटौं होलमा बर्डी प्रहार पनि गरे। तर चौथो होलको डबल बोगी र सातौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३८ मा पुरा गरे। ११औ होलमा डबल बोगीको सामना गरे। तर यसपछि भने नीरज सम्हालिए। १२औं, १५औं र १८औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन १-अन्डर ३३ मा सकाए।
भुवनले फ्रन्ट नाइन इभन-पार ३६ मा पुरा गरे। दोस्रो र छैटौं होलको बोगीका विरूद्ध पाँचौं र आठौं होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा भने १०औं, ११औं र १४औं होलमा एक-एक सट खेर फाल्दा १२ औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन २-ओभर ३६ मा सकाए।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन। साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन। प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ। पीजीए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन। जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ।