महिला संजाल धरानःस्कुटीको डिकीदेखी आफ्नै भवनसम्म

मनिता चाम्लिङ/
दिव्य रोशनी(धरान)/

स्कुटीको डिकी र झोलामा अफिस बोकेर महिलाहरुको हक, हितका लागी आवाज उठाउँदै आएको धरानको महिला संजालले स्थापनाको १६ वर्षपछि आफ्नै नयाँ भवन उद्धघाटन गर्न सफल भएको छ।
कहिले धरानको घण्टाघर, कहिले गीता मन्दिरको एक छेउ कुना त कहिले खुल्ला चौरीमा छलफल गर्दै धरानका महिलाहरुको हक, हितका लागि आवाज उठाउँदै आएको महिला संजाल धरानले १६ वर्षपछि आफ्नै नयाँ भवन बनाउन सफल भएको हो। “शुरुवातीका दिनहरुमा छलफलका लागी भवन नहुँदा संस्थाका पदाधिकारीहरु भेट्न र छलफल गर्नै समस्या हुन्थ्यो” संस्थाका वर्तमान उपाध्यक्ष शकुन्तला त्रिखत्रीले भनिन् “धरै मान्छेका बिच छलफल हुँदा उत्पीडनमा परेका महिलाहरुको अधिकारका लागी आवाज उठाउन गोपनियता हुँदैनथ्यो, अब त्यो हटेर जाने विश्वास छ। ”
राज्यको हरेक तहमा महिलाहरुको सहभागितालाई सुनिश्चित गर्न तथा उत्पीडनमा परेकाहरुलाई कानुनी सहायता दिलाउन पनि भवन अतिआवश्यक ठानी संजालले आफ्नै भवनको कल्पना गरको थियो। निवर्तमान अध्यक्ष सपना राईको सपनामा पूर्व अध्यक्ष चेतना श्रेङको चेतनाले १३ न.ं वडाअध्यक्ष नेत्र प्रसाद काफ्लेको नेत्र (दृष्टि) परेपछि महिला संजालले आफ्नो सपना साकार पार्न सफल भएको हो। वडाअध्यक्ष काफ्लेको पहलमा धरान उपमहानगरको कार्यपालिका बैठकले तत्कालिन मेयर तिलक राई र तत्कालिन उपमेयर मञ्जु भण्डारीको कार्यकालमा १० धुर जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। १३ नं. वडा परिसरमा रहेको १० धुर खाली जमिन उपमहानगरबाट उपलब्ध भएपछि संजालले भवन बनाउन शुरु गरेको थियो।
भवन निर्माणका शुरुवाती चरणमा स्काभेटर लगाउन थालेपछि पैसाको अभावमा संजालका सदस्यहरुले सक्दो सहयोग गरेको निवर्तमान अध्यक्ष सपना राईले बताईन्। उनले संजालका पदाधिकारीहरुले आफुसँंग भएको गरगहना बन्दकी राखेर संजालको भवन निर्माण शुरु गरेको बताईन्। उनले भनिन् “भवन बनाउन शुरु गरियो, तर पैसा थिएन, सबै संघ/संस्था, वडा कार्यालयहरुमा हारगुहार गरियो, संजालकै सदस्यहरुले पनि सकेको सहयोग गरे, कतिले हातको चुरा, औठी, सिक्री बन्दकी राखेर भएपनि सहयोग गरेपछि भवनले पूर्णता पायो।”
संजालको भवन निर्माणका लागी संजालकै पूर्व वरिष्ठ उपाध्यक्ष तथा हालकी प्रदेश सांसद यसोदा कायस्थले प्रदेश सरकारबाट २५ लाख बजेट पार्न सफल भएपछि भवन निर्माणमा सहयोग पुगेको निवर्तमान अध्यक्ष राईको भनाई छ। संजालको भवन निर्माण भएपछि सांसद यसोदा कायस्थले मंगलवार संजालको भवन उद्धघाटन समेत गरेकी छिन्।


कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी सांसद कायस्थले आफुपनि कुनै समयमा संजालको वरिष्ठ उपाध्यक्ष समेत भएको बताउँदै संजाललाई यहाँसम्म ल्याउन सफल भएकोमा सम्पूर्ण पदाधिकारिहरु बधाईको पात्र भएको बताए। उनले महिलाहरु एकढिक्का भए अगाडी बढ्न सक्ने बताईन्। उनले भनिन् “संजालकै कारण अहिले संजालका पदाधिकारीहरु हरेक क्षेत्रमा नेतृत्व गर्न सक्षम भएका छौं। महिलाहरुलाई अझै नेतृत्व विकास र क्षमता विकास तालिम दिएर उनीहरुको क्षमतामा अभिवृद्धि गर्नुपर्ने खाँचो छ।” क्षमता विकास नभएकै कारण संविधानले महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिएपनि अझैपनि त्यस स्थानमा पुग्न गाह्रो रहेको उनको भनाई थियो।
एक फरक प्रसंगमा प्रदेस सांसद कायस्थले धरान १ छाताचौक स्थित पुरानो अस्पताललाई नगर अस्पतालको रुपमा स्तरोन्नती गर्नुपर्ने बताएकी छिन्। उनले धरान नगर सरकार, वडाका जनप्रतिनिधि, राजनीतिकर्मी तथा सामाजिक संघ/संस्थाहरुलाई पुरानो अस्पताललाई नगर अस्पताल बनाउन आवश्यक पहलकदमीको लागि आव्हान समेत गरिन्।
धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ठुलो स्वास्थ्य संस्थाको रुपमा रहेपनि त्यहाँबाट सबैले उचित सेवा, सुविधा पाउन नसकेको बताउँदै धरानवासीले छिटो स्वास्थ्य सेवा पाउन पुरानो अस्पतालमा नै नगर अस्पताल निर्माण गर्नुपर्नेमा जोड दिईन्। उनले भनिन् “वीपीमा बिहान ४ बजेदेखि नै लाइन हुन्छ, जनताले धेरै दुःख पाएका छन्, यहाँ नगर अस्पताल बनाउन सक्यौंभने धराने जनताले ठुलो सेवा पाउन सक्छन्।”


कार्यक्रममा १५ न.ं वडाअध्यक्ष नरेश ईवारमले १६ वर्षे यात्रामा हिडेको संजाल नाम अनुसारको काम हुनुपर्ने बताए। उनले संजालको घर बनाउन निवर्तमान अध्यक्ष सपना राईको सपनामा पूर्व अध्यक्ष तथा भवन निर्माण समितीका संयोजक चेतना श्रेङ्को चेतना खुलेपछि वडाअध्यक्ष नेत्र काफ्लेले आँखा (नेत्र) देखाएर संजालको भवन बनिएको भन्दै प्रशंसा गरे। वडाअध्यक्ष ईवारमले १५ न.ं वडामा मात्रै महिलाहरुको २३ वटा संस्था भएकाले सबैलाई संजालमा समेटेर लैजान समेत आग्रह गरे।
यसैगरी पूर्व मेयर तिलक राईले महिला संजालसंँग आबद्ध रहेर नै नेतृत्व विकास सँंगसँंगै मन्जु भण्डारी उपमेयरसम्म भएको साथै पूर्व अध्यक्ष मिना पुलामी राष्ट्रिय सभाको सदस्यको उम्मेद्धार समेत भएको बताए। उनले संजालको भवन निर्माण पश्चात् अझ महिलाहरुको क्षमता विकासका लागी भवन सदुपयोग हुनेमा आफु विश्वस्त रहेको समेत बताए। “संजाल सबै स्थानिय तहमा छ जस्तो लाग्दैन तर धरानमा महिलाहरुको समृद्धि संँगसँंगै नगरको विकासको लागी खटिरहेको छ” उनले भने। आफु निर्वतमान मेयर भएपनि दाजुभाई र साथी जस्तै व्यक्तिगत तरिकाले सम्बन्ध राख्न चाहेको समेत उनले बताए। निवर्तमान मेयर राईले आफ्नो पितृहरुको नाममा संजाललाई नगद २५ हजार दिने उद्धघोष समेत गरेका थिए।


त्यस्तै राजनीतिक दलको तर्फबाट बोल्दै नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेलले संजालका दिदीबहिनीहरुले पार्टी भन्दा माथि उठेर काम गरेको बताउँदै संस्थालाई १ नम्बरमा स्थापित गरेको बताए। उनले संजालमा रहेका पदाधिकारीहरुलाई राजनीतिदेखी टाढा रहेर सामाजिक कार्यमा लाग्न प्रेरित समेत गरे।
यसैगरी संजालका संस्थापक अध्यक्ष गंगा बरालले केही राजनीतिक पार्टीमा आवद्ध रहेका महिलाहरु मात्र सम्मिलित संजालमा अहिले सम्पूर्ण संस्थाहरुलाई जोड्दै लैजाने क्रममा यो महिलाहरुको राष्ट्रिय संस्था भएको बताईन्। उनले महिलाहरुको साझा संस्था संजाल अहिले पार्टी भन्दा पनि प्यारो भएको बताईन्।
सोही कार्यक्रमबिच संजालको नयाँ कार्यसमितीको पदस्थापन समेत गरिएको थियो। गत माघ १३ गते सम्पन्न सातौं अधिवेशनबाट सावित्री इवारमको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो। उक्त कार्यसमितिलाई निर्वाचन समितिका संयोजक विष्णु वरालले सपथ ग्रहण गराएका थिए भने सञ्जालकी अध्यक्ष सपना राईले नवनिवार्चित अध्यक्ष इवारमलाई सञ्जालको ब्याच लगाइदिएर पद हस्तान्तरण गरेकी थिइन्।


कार्यक्रममा संजालका निवर्तमान अध्यक्ष राईलाई सफल कार्यकाल सम्पन्न गरेकोमा कदरपत्र प्रदान गरेको थियो। यसैगरी सफल रुपमा भवन निर्माण सम्पन्न गरेकोमा निर्माण समितीका संयोजक चेतना श्रेङ र जग्गा उपलब्ध गराउने वडाअध्यक्ष काफ्लेलाई पनि सम्मानपत्रले सम्मान गरिएको थियो।
निवर्तमान भएकी अध्यक्ष सपना राईले धन्यवाद ज्ञापन गर्दै अबको मिशन ८४ मा हरेक वडा र मेयर/उपमेयरमा महिलाहरुले उम्मेद्धवारी दिएर अगाडी बढ्नुपर्ने बताईन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सहकर्मी दिदीबहिनीहरुप्रति हार्दिक आभार समेत व्यक्त गर्दै मायाको चिनो समेत प्रदान गरिन्।
२०६६ सालमा धरान उपमहानगरपालिकाको पहलमा गठन भएको संजालमा हाल ४५ वटा संस्था आवद्ध रहेका छन्। स्थापनाको १६ वर्षपछि संजालले धरान १३ स्थित अमर प्रावि मार्गमा करिब ४५ लाखको लागतमा एक तला भवनको निर्माण सम्पन्न गरि कार्यालय संचालन गरेको छ। (दिव्य रोशनी साप्ताहिक वर्ष २० अंक ३६बाट)