हाम्रो धरान भेट्रानलाई चौथो बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको उपाधी

दिव्य रोशनी(धरान)/ धरानमा जारी चौथो बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको उपाधी हाम्रो धरान भेट्रान फुटबल क्लवले जितेको छ।
धरान भेट्रान फुटबल क्लवको आयोजनामा आज शुक्रवार सम्पन्न फाईनल खेलमा आयोजक धरान भेट्रानलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रान फुटबल क्लवले उपाधी जितेको हो। उपाधी संगै हाम्रो धरान भेट्रानले नगद १ लाख ५ हजार सहित रनिङ ट्रफि प्राप्त गरेको छभने उपविजेतामा सिमित आयोजक धरान भेट्रानले नगद ६० हजारमा चित्त बुझाउन बाध्य भएको छ।
निर्धारित समयसम्म दुबै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। जसमा हाम्रो धरान भेट्रानका लागी पदम राई, सन्तोष लिम्बु, राकेश राई, सुरज श्रेष्ठ र राज राईले गोल गरेका थिए। यसैगरी धरान भेट्रानका लागी विकर्ण श्रेष्ठ, कृष्ण शाक्य र विष्णु सुनुवारले गोल गरेका थिएभने सन्तोष बस्नेतको प्रहार बाहिरिएको थियो।
प्रतियोगिताको म्यान अफ दि म्याच धरान भेट्रानका कृष्ण शाक्य घोषित भए। उनले नगद २१ सय सहित मेडल प्राप्त गरे। यसैगरी प्रतियोगिताको सवटाईटल अन्तर्गत बेष्ट गोलकिपर हाम्रो धरान भेट्रानका देव सिंह, वेष्ट डिफेन्डर हाम्रो धरान भेट्रानका विकास राना मगर, वेष्ट मिडफिल्डरमा धरान भेट्रानका रमेश गुरुङ, वेष्ट कोच हाम्रो धरान भेट्रानका हेम गुरुङ, हाईस्कोररमा धरान भेट्रानका डिल्ली राम श्रेष्ठ(५ गोल) उनिहरुले जनही नगद ३५ सय सहित मेडल ट्रफि प्राप्त गरेका थिए। यसैगरी उत्कृष्ट खेलाडीमा धरान भेट्रानका विष्णु सुनुवार घोषित भए। उनले नगद ५१ सय सहित ट्रफि प्राप्त गरेका थिए। विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका सांसद विजय राई, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता अघि क्लवका पूर्व महासचिव समेत रहेका स्व. बिक्रम राईको तस्विरमा उनका परिवार, कार्यक्रमका प्रमुख अतिथी, विशेष अतिथी लगायतले माल्यार्पण गरेका थिए।


क्लवका अध्यक्ष रोमी मोक्तानले खेलकुदको शहरको रुपमा ख्याती कमाएको धरानमा स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताले सम्पूर्ण धरानवासीहरुलाई मनोरञ्जनाका साथै फुटबल जगतलाई उत्साह प्रदान गरेको बताए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो समयमा ख्याती कमाएका चालिस वर्ष उमेर काटेका भेट्रान खेलाडीहरुको सहभागिताले स्वास्थ्य नागरिक उत्पादन गर्ने साथै समाजमा सकरात्मक योगदान पुर्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
यसअघि धरान भेट्रान फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधी आयोजक धरान भेट्रान फुटबल क्लवले जितेको थियोभने दोस्रो संस्करण हाम्रो ईटहरी भेट्रान फुटबल क्लब र तेस्रो संस्करणको उपाधी लखनपुर भेट्रान फुटबल क्लव झापाले जितेको थियो।