तमु ल्होसारमा कांग्रेसको शुभकामना आदान–प्रदान तथा चियापान

दिव्य रोशनी(धरान)/ नेपाली कांग्रेसले तमु ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीको आयोजनामा कार्यक्रम भएको हो ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता शमशेर राई, प्रदेश सांसद तथा नेपाली कांग्रेस भोजपुर जिल्ला सभापति विनोद वान्तावा राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, प्रदेश सांसद सुनिता गुरुङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, १(२) सभापति मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, राष्ट्रियसभा सदस्यका प्रत्यासी मिना पुलामी, तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य बलिमान गुरुङ, केन्द्रीय सल्लाहकार कर्ण तमु, जिल्ला अध्यक्ष धिरज गुरुङ, किरात राई यायोक्खाका सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राई, थारु कल्याणकारीणी सभाका सुनसरी जिल्ला उपाध्यक्ष जानकी चौधरी लगायतको उपस्थिति तथा शुभकामना मन्तव्य रहेको थियो ।


प्रमुख अतिथि मन्त्री एवम् प्रवक्ता राईले नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ ले धरानवाट शुरुवात गरेको यो कार्यक्रमको सन्देशले आगामी दिनमा मुलुकभर सबैले मनाउने परम्परा बस्ने बताए । क्षेत्रीय सभापति तामाङले हरेक नेपालीको मौलिक एवम् परम्परागत चाड, पर्व, उत्सव, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने दायित्व दलहरुको पनि भएको भन्दै यसैका लागि कार्यक्रम गरिएको र यसलाई आगमी वर्षहरुमा समेत निरन्तरता दिने बताए ।
तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका सुनसरी जिल्ला अध्यक्ष धिरज गुरुङले नेपाली कांग्रेसले गुरुङ समुदायलाई समेत निम्तो गरी तमु गुरुङहरुको मौलिक एवम् महान पर्व तमु ल्होसार मनाएको आजसम्मको इतिहासमै पहिलो भएको र नेपाली कांग्रेसले ऐतिहासिक कार्य गरेको बताउंदै धन्यवाद एवम् आभार प्रकट गरे ।
कार्यक्रममा तमु ह्युल छोज धीं गुरुङ महिला राष्ट्रिय परिषदका जिल्ला उपाध्यक्ष हेमा गुरुङ र परिषद जिल्ला सदस्य मिश्रा गुरुङले तमु पोशाकका बारेमा प्रकाश पारेका थिए । जिल्ला सदस्य एवम् कवयित्री मिश्रा गुरुङले मोलोमोलोस्यो (सोल्टासोल्टीनी) शिर्षकमा कविता वाचन समेत गरेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरीले गरेका थिए ।