च्याम्पियन सेकेन्डरी स्कुलमा आधारभूत इन्जिनियरिङको विशेष कक्षा संचालन हुने

दिव्य रोशनी(धरान) / धरानमै पहिलोपटक च्याम्पियन सेकेन्डरी स्कुलले विद्यार्थीहरूलाई उत्पादन मूखी र अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ “प्राविधिक धार” अन्तर्गतका आधारभूत इन्जिनियरिङको विशेष कक्षा संचालन गर्ने भएको छ।
आज आईतवार पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा स्कुलका संचालक नेत्र प्रसाद सुवेदीले बढ्दो सुचना प्रविधी र कम्प्युटरको युगमा नेपाल सरकारले तयार गरेको साधारण शिक्षाले मात्र यो आवश्यकता पुरा गर्न नसक्ने भएकाले च्याम्पियन स्कुलले विशेष शिक्षाको कक्षा संचालन गर्न लागिएको जनाए। उनले “प्राविधिक धार” अन्तर्गत सुचना प्रविधी, कम्प्युटर एप्लिकेसन, वाइरिङ, प्लाम्बिङ, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स, आधुनिक कृषि र पशुपालन, फेसन डिजाइनिङ, पोषण विज्ञान सँग सम्बन्धित विषयवस्तु समेटी विशेष कक्षा संचालनको तयारी गरिएको समेत बताए। उनका अनुसार विद्यार्थीहरुलाई कृषि र पशुपालन सम्बन्धि तालिमका लागि स्कुलले संचालन गर्दै आएको विराटनगर स्थित कृषि फर्मलाई प्रयोगशालाका रुपमा प्रयोग गरिने भएको छभने इन्जिनियरिङका बाँकी प्रयोगात्मक शिक्षा स्कुलमै दिइने छ । साथै न्यून शुल्कमा उल्लेखित विशेष कक्षा संचालन गर्ने स्कुलको योजनामा सबैको सुझाव साथ सहयोगको समेत अपेक्षा गरेको स्कुलका संचालक सुवेदीले बताए।
विगत ८ वर्ष देखि धरानको औपचारीक शिक्षा विज्ञानमा थोरै भएपनि योगदान दिदै आएको च्याम्पियन सेकेन्डरी स्कुलले अझ वैज्ञानिक प्राविधिक तथा अझ गुणस्तरिय बनाउदै लगिरहेको स्कुलका प्रिन्सिपल नाजु सुवेदीले बताईन्। उनीले स्कुलको पहिचान र सान्दर्भिकता त्यसको शैक्षिक गुणस्तर हो भन्ने बुझेको बताउँदै सोहि अनुसार स्कुललाई गुणस्तरीय बनाउदै लागेको समेत बताईन्।


८ वर्ष अघि झण्डै ७० विद्यार्थीबाट शुरु गरेको यो स्कुलले छोटो समयमै धरानका विद्यालयहरु माझ आफुलाई शसक्त रुपमा उभ्याएको स्कुलकी भाईस प्रिन्सिपल ज्योत्सना लिम्बुले बताईन्।उनिले स्कुल संचालनको ४ वर्षमै एस.ई.ई. परिक्षामा सतप्रतिसत नतिजा दिन सफल भएको समेत बताईन्।
“प्राविधिक धारको शिक्षा” का नाममा नेपाल सरकारले सिमित स्कुलहरुमा मात्र यस किसिमको शिक्षा दिदै आएको भएपनि सबै अभिभावक र विद्यार्थीहरुको पहुँचमा पुग्न नसकेकै कारण आधारभूत ज्ञान र शिप सहितको शिक्षा यसै शैक्षिक सत्रबाट शुरु गरिएको च्याम्पियन स्कुलले जनाएको छ।