बाह्रवर्षे पिण्डेश्वर महाकुम्भको तयारी अन्तिम चरणमा, १ करोड भक्तजन आउने आयोजकको विश्वास

दिव्य रोशनी(धरान)/ सुनसरीको चतरामा आयोजना हुन लागेको बाह्रबर्षेपिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी अन्तिम चरणमा रहेको आयोजक बाह्रबर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मूल आयोजक समितीले जनाएको छ।
यही चैत्र २७ गतेदेखी बैशाख २८ गतेसम्म आयोजना हुन लागेको पूर्ण महाकुम्भ बारे बुधवार पत्रकार भेटघाट कार्यक्रममा कुम्भमेला मूल आयोजक समितीका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले पूर्ण महाकुम्भ मेलाको तयारी अन्तिम चरणमा रहेको बताए। उनले कुम्भमा करिब १ करोड भक्तजन आउने विश्वास लिएको बताउदै उनिहरुको बासका लागी धर्मशाला, होम स्टे र पण्डालहरुको व्यावस्था गरिएको समेत बताए।
यसैगरी महाकुम्भमा आउने भक्तजनहरुलाई सहज रुपमा आवजत जावतका लागी अप्ठ्यारा बाटाहरुलाई सहज र सरल बनाउन बाटोको स्तरोन्नती गरिने भएको छभने २ वटा घुम्ती शौचालय सहित १ सय ९५ वटा अस्थायी शौचालयहरु प्रयोगमा ल्याईने भएको छ। यसैगरी महाकुम्भलाई सफल बनाउन सात्विक भोजनका लागी प्रदेश सरकारले २० लाख, भौतिक पूर्वाधार मन्त्रालयले २० लाख , खानेपानी सरसफाईका लागी ५० लाख, पर्यटन मन्त्रालयबाट १७ लाख २६ हजार छुट्याएर काम गरेको नगर प्रमुख कार्कीको भनाई छ।
यसैगरी कुम्भ मेला अवधीभरी कुम्भ क्षेत्रमा मदिरा र माछामासु बिक्रीवितरणमा रोक लगाउने तयारी गरिएको छ । जसका लागी सबै व्यवसायीलाई मदिरा र माछामासु बिक्रीवितरण नगर्न आह्वान गरिने नगरप्रमुख कार्कीले बताए।


यसैगरी पत्रकार सम्मेलनमा आयोजक समितिका उपाध्यक्षसमेत रहेका बराहक्षेत्र १ नं वडाका वडाअध्यक्ष किसन थापा मगरले कुम्भ मेला अवधीभरी यातायातको व्यावस्थापन गर्न विभिन्न क्षेत्रमा पार्किङको व्यावस्था मिलाईएको जानकारी दिए। त्यस्तै समितिका अर्का उपाध्यक्षसमेत रहेका बराहक्षेत्र २ का वडाध्यक्ष होमप्रसाद गौतमल कुम्भको आर्थिक पारदर्शीताका लागी कार्यपालिका बैठकले नै व्यवस्थित तरिकाले लागीपरेको समेत जानकारी दिए।
यसैगरी पत्रकार सम्मेलनमा समितीका महासचिव प्रहल्लाद भट्टराईले पूर्ण कुम्भको समुद्धघाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने प्रायः निश्चित भएको बताए। उनले पूर्ण कुम्भ समयमा सामूहिक ब्रतबन्ध, कविता गोष्ठी, विद्धत सम्मेलन, यज्ञ र धार्मीक अनुष्ठानका कार्यक्रमहरु एक महिनासम्म निरन्तर रुपले हुने समेत बताए।
पत्रकार सम्मेलनमा संचारकर्मीहरुले कुम्भमेला पुग्न बाटोको असुविधा, भक्तजनहरुलाई बासको चुनौती, सुरक्षा चासो, लगायतका विषयमा जिज्ञासा राखेका थिए।