धरान एक्स्पो सकियोः१० करोड बढीको कारोवार

दिव्य रोशनी (धरान)/ सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेबाट सुरु भएको “धरान एक्स्पो २०८०” को समापन गरिएको छ।
बुधवार एक्स्पो समापनका प्रमुख अतिथी तथा कोशी प्रदेशका सांसद रमेश बस्नेतले स्थानिय रैथाने उत्पादनलाई प्राथमिकता दिएर एक्स्पोलाई व्यवस्थित र विशेष आर्कषक बनाएको उल्लेख गर्दै संघले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले विर्सन नहुने बताए । यसैगरी, धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानीय सरकारहरुले सधै साथ दिने प्रतिवद्धता जनाए।
एक्स्पो प्रदर्शनी मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताए । उनले एक्स्पोमा संघले राखेको ५ लाख दर्शकको अवलोकन र १० करोड बढीको कारोवारको लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्दै व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नुपरेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले सकारात्मक भूमिका निर्वाह गरेको बताए ।


यस्तै, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले रैथाने उत्पादनको प्रवद्र्धनमा एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले वर्तमान खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको धारणा राखे।
एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, खाद्यान्नसँगै रैथाने (सुनसरी र धरान क्षेत्रका), नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका गरी एक सय २३ स्टलहरु रहेका थिए।
एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन न्रित्य प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिकाहरुको सांगीतिक कार्यक्रम बाहेक एक्स्पो अवधिभर “स्वरोजगार तालिम” र “पर्यटन गोष्ठी” आयोजना गरिएको थियो । तालिम र गोष्ठी निकै फलदायी रहेको र यसले लक्ष्य प्राप्तिमा सहयोग गर्ने आयोजकले विश्वास लिएको छ।