राष्ट्रपति रनिङ शिल्ड २०८० तेक्वान्दो प्रतियोगिताका खेलाडीहरु छनौट

दिव्य रोशनी (धरान)÷ सुनसरी जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १४ औं सुनसरी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८० तेक्वान्दो प्रतियोगिताका खेलाडीहरु छनौट भएका छन्।
सोमबार धरान १० स्थित कबर्ड हलमा आयोजित यस प्रतियोगितामा तेक्वान्दो पुरुषतर्फ क्रमशः ४५ केजीतर्फ रञ्जन बस्नेत (धरान), ४८ केजीतर्फ रिजन अधिकारी (धरान), ५१ केजीतर्फ विरेन्द्र भण्डारी (धरान), ५५ केजीतर्फ (इटहरी) शिव खडेका र ५९ तर्फ इटहरीका सञ्जल श्रेष्ठ बिजेता भएका छन्।
त्यस्तै तेक्वान्दो महिलातर्फ ४२ केजीतर्फ इटहरीका दिपिका दाहाल, ४४ केजीतर्फ धरानका कुसुम राई, ४६ केजीतर्फ धरानका क्रिष्टिना राई ४९ केजीतर्फ इटहरीका ऋषिका भुजेल र ५२ केजीतर्फ इटहरीका प्रज्ञा परियार बिजेता बनेका छन् ।
यस्तै पुम्से महिलातर्फ इक्सा लिम्बु र पुरुष पुम्सेतर्फ सुवास दमाई रहेका छन् ।
कार्यक्रमका प्रमुख अथिती धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले खेलाडीहरुले कहिल्यै हार्न नजानेको बताउँदै प्रतियोगितामा भाग लिनु भनेकै खेल जित्नु सरह भएको बताए ।
मेयर साम्पाङले आफुभन्दा ठुलालाई आदर गर्ने र सानालाई माया गर्ने संस्कृति र संस्कार खेल जगतले सिकाएको बताउँदै खेल जगतले सँधै अनुशासित र मर्यादित बन्न सिकाएको समेत बताए। सोहीक्रममा मेयर साम्पाङले कबर्ड हलमा खेलाडीहरुलाई खेल खेल्न सहज होस भन्ने उद्धेश्यले कुलिन फेनको लागि आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।


कार्यक्रमका विशेष अथिती नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समितिका महासचिव गोपाल राईले ठुलो गेमहरु राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको गेमहरुमा सहभागी गराउनका लागि यस राष्ट्रपति कपको शुरुवात भएको बताए। साथै उनले धरानलाई खेलकुदको शहर भनेर चिनाउनको लागिपनि यस राष्ट्रपति कपले ठुलो सघाउ पुग्ने बताए।


आयोजक संस्थाका अध्यक्ष ममता राईले सुनसरीको धरान, इटहरी, दुहबी र इनरुवाका खेलाडीहरु छनौटमा परेको बताउँदै छनौटमा परेकाहरुले अब प्रदेश हुँदै संघमा समेत पुग्ने बताईन्। साथै उनले तेक्वान्दोका जुनियरदेखि सिनियर खेलाडीहरुले ओलम्पिकमा खेलिसकेको बताईन्।