असहाय तथा विपन्न परिवारलाई खाद्यान्न संगै व्हिल चेयर

दिव्य रोशनी(धरान)/ आपाङ्ग पुनः स्थापना तथा असाहय सेवा केन्द्र नेपाल धरानले अपाङ्ग तथा अति विपन्न परिवारलाई खाद्यान्न तथा व्हिल चेयरल वितरण गरेको छ।
धरानमा मंगलवार भएको कार्यक्रममा २० जना अपाङ्ग तथा असहाय परिवारलाई खाद्यान्न तथा बिरामीहरुका लागी औषधी र धरान १७ का रेन्जा राई लाई व्हिल चेयर वितरण गरिएको हो। खाद्यन्न लिन धरान लगायत धरान बाहिरका अपाङ्ग तथा अति विपन्न परिवारहरु आएका थिए। स्थानिय समाजसेवी अशोक अग्रवालको सहयोगमा केन्द्रले विगत २ वर्षदेखि महिनाको दुईपटक (१ र १५ गते) खाद्यान्न वितरण गर्दै आएको छ।
कार्यक्रममा प्रमुख अतिथी दिव्य रोशनी साप्ताहिकका प्रबन्ध निर्देशक सागर सिंजालीले अपाङ्गता भएकाहरुलाई राज्यले गर्नुपर्ने काम आपाङ्ग पुनः स्थापना तथा असाहय सेवा केन्द्र नेपाल धरानले गरिरहेको बताए। उनले असक्त तथा विपन्न वर्गलेपनि सधै दाताको भर नपर्न आग्रह गर्दै आत्मनिर्भर बन्न सिपमुलक तालिमहरु लिन आग्रह गरे। यसैगरी केन्द्रका संस्थापक अध्यक्ष सुनिल खड्काले स्थानिय सरकारको विना सहयोगमा समाजसेवीहरुबाट संकलित रकमले विपन्न तथा अपाङ्ग असाहय व्यक्तिहरुलाई खाद्यन्न, औषधी तथा विद्यालय जाने उनिहरुका छोराछोरीलाई स्टेशनरी सामान प्रदान गर्दै आएको बताए। उनले अपाङ्गता भएका व्यक्तिलाई स्थानिय सरकारले हेर्ने दृष्टिकोण फरक भएको बताउदै उनिहरुका लागी राज्य विशेष अभिभावक बन्नु जरुरी भएको बताए।
यसैगरी केन्द्रकी अध्यक्ष डम्बर कुमारी श्रेष्ठले अपाङ्गता तथा विपन्न परिवारका जो कोही आत्मनिर्भर बन्न सिप सिक्न चाहेमा संस्थाले निःशुल्क उपलब्ध गराउने समेत बताए।