धरान एक्सपो २०८० शुरुः पर्यटन मन्त्रि सुदन किरातीले गरे उद्धघाटन

दिव्य रोशनी (धरान)/ सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित “धरान एक्सपो २०८०” शुक्रवारबाट शुरु भएको छ । फागुन २३ गते गतेसम्म सञ्चालन हुने सो एक्सपोको उद्घाटन एक समारोहका बिच नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किरातीले गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री किरातीले धरान पर्यटनको केन्द्र बन्ने क्रममा रहेको बताए । उनले धरानलाई पर्यटनको केन्द्रका रूपमा विकास गरी स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र बनाउन सकिने बताए । मन्त्री किरातीले पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना हुने समेत बताए । उनले भने “यसले गरिबी निवारण, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हासिलमा सहयोग पुग्नेछ,”


यसैगरी उद्घाटन समारोहमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पर्यटन मन्त्री किराँतीलाई धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गरे । उनले धरानवासीहरुले हवाई मैदान निर्माणका लागि २० वर्षसम्म कुरेको बताउदै धरानमा एयरपोर्ट अतिआवश्यक भएको जिकिर गरे। यसैगरी प्रदेश सांसद विजय कुमार राई, धरान १६ का वडाअध्यक्ष मुरारी प्रसाद भट्टराई, नेपाल साफ चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डरीराज ढकाल, केन्द्रिय सदस्य नविन रिजाल, मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष राकेश सुराना, प्रमुख जिल्ला अधिकारी सुनसरीका प्रमुख जयराम आचार्य लगायतले एक्सपोको सफलताको कामना गरेका थिए।
कोशी प्रदेश भरिका उद्योगी व्यवसायीलाई आमन्त्रण गरी सुरु गरिएको धरान एक्स्पोमा प्रदेशका स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई गतिशील बनाउने उद्देश्य रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । एक्स्पोले आर्थिक क्षेत्रको गतिविधिहरूको सम्वद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।


एक्सपोमा सुनसरी र धरान क्षेत्रका लगायत नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरी १ सय ५० स्टल प्रदर्शनी भइरहेको एक्स्पोमा बाल उद्यान, मनोरञ्जनका लागि रेटेपिङ, कोलम्बस, ड्रागन लगायत खेल सामग्री सञ्चालन गरिएको छ । साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाहेक एक्स्पो अवधिभर “स्वरोजगार तालिम” र “पर्यटन गोष्ठी” आयोजना गरिने आयोजकले जनाएको छ ।
एक्स्पोमा बिहानदेखि बेलुका ४ बजेसम्म प्रवेश निःशुल्क हुने र बेलुका ५ बजेपछि प्रवेश टिकट १०० देखि २०० रुपैयाँसम्म रहने आयोजक सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ।