पब्लिक हाईस्कुलको ७७ औं वार्षिक उत्सवमा विशेष प्रदर्शनी रहने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान १२ स्थित पब्लिक हाईस्कुलले आफ्नो ७७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यरुपमा मनाउने भएको छ।
सामुदायिक विद्यालयहरु मध्ये नमूना विद्यालयको रुपमा रहेको यस पब्लिक हाईस्कुलले पुष २६ र २७ गते दुईदिन वार्षिक उत्सव भव्य रुपमा मनाउने भएको हो। पब्लिक हाईस्कुलका प्रधानाध्यापक ईन्द्र मोहन झाले दुईदिन सम्म मनाउन लागिएको विद्यालयको ७७ औं वार्षिक उत्सव विशेषरुपले भव्य हुने बताए। वार्षिक उत्सवमा हाईस्कुलले होटल मेनेजमेन्टका विद्यार्थीहरुले खानाका परिकारहरु, व्युटिसियन (सौन्दर्यकला) का विद्यार्थीहरुले व्युटिसियन, साईन्सका विद्यार्थीहरुले विज्ञान प्रदर्शनीका साथै रोबर्ट प्रदर्शनी गर्नेछन्भने ईलेक्ट्रीकलका विद्यार्थीहरुले आफैले बनाएका ड्रोन समेत प्रदर्शनी गरिने भएको छ। हाईस्कुलले वार्षिक उत्सवमा विद्यार्थीहरुका लागी स्टल नै निर्माण गरेको छ। जहाँ विभिन्न फ्याकल्टीका विद्यार्थीहरुले आ–आफ्ना विषयमा प्रदर्शनी गर्ने हाईस्कुलका प्रधानाध्यापक झाले बताए।
वार्षिक उत्सवलाई मध्यनजर गरी हाईस्कुलले गत मंशिर २८ गते देखी पुष १३ गते सम्म सप्ताहव्यापी खेलकुद प्रतियोगिता समेत सम्पन्न गरेको छ। जसमा विभिन्न कक्षाका विद्यार्थीहरुले विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए। यसैगरी हाईस्कुलले पौष १८ गते सम्पन्न गरेको रक्तदान कार्यक्रम १०६ पिण्ट रगत संकलन गरेको थियो। हाईस्कुलले विहिवार हुने वार्षिक उत्सव उद्धघाटन अघि विहान मिनी म्याराथुनको समेत आयोजना गरिने प्रधानाध्यापक झाले बताए। उनका अनुसार मिनी म्याराथुन पब्लिक हाईस्कुलको माथिल्लो गेटदेखी शुरुभई चतरालाईन, मंगलवारे, रत्न चौक, बुद्धचौक, पुतली हुँदै हाईस्कुलको तल्लो गेटमा आईपुगी समापन हुनेछ।


विहिविार हुने वार्षिक उत्सवको उद्धघाटन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गर्नुहुनेछ।वार्षिक उत्सवमा खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेता विद्यार्थीहरुलाई पुरस्कार र रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिनेछभने होटल मेनेजमेन्ट, व्युटिसियन लगायत विभिन्न फ्याकल्टीका उत्कृष्ट विद्यार्र्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने भएको छ। यसैगरी वार्षिक उत्सवमा आउनुभएका अभिभावकहरुलाई म्युजिकल चेयर, हण्डी फुटाउने लगायतका खेलहरुमा सहभागीता गराइ पुरस्कार प्रदान गरिने छभने एकजनालाई लक्की ड्र गरी आकर्षक पुरस्कार समेत दिईने योजना रहेको प्रअ झाले बताए। उनले भने “वार्षिक उत्सवमा प्रतिवेदन सुनाउने र पुरस्कार वितरण गर्ने मात्र हैन, विद्यार्थीहरुका प्रदर्शनीका साथै अभिभावकहरुलाई पनि विद्यालयसंग जोड्न पनि विभिन्न कृयाकलापमा सहभागीता गराउन खोजेका हौं।”
वार्षिक उत्सवमा विभिन्न साँस्कृतिक नृत्यहरुपनि प्रस्तुत गरिने भएको छभने विद्यालयका उत्कृष्ट शिक्षकहरुलाई पनि पुरस्कृत गरिने भएको छ। ३४ सय विद्यार्थी र २ सय बढी शिक्षक रहेको विद्यालयको वार्षिक उत्सवमा १५ हजार बढीले अवलोकन गर्ने अपेक्षा लिएको प्रअ. झाले बताए।