चासोक तङ्नाम सम्पन्नः पहिचानको मुद्धामा एकजुटहुन उपमेयर बेघाको आग्रह

दिव्य रोशनी(धरान)/ “कोशी” प्रदेश नामाङ्कन खारेजिको माग संगै किरात याक्थुङ चुम्लुङद्धारा आयोजित पाँचदिने चासोक तङ्नाम सम्पन्न भएको छ।
पुष ९ गते देखी शुरु भएको पाँचदिने चासोक तङ्नाम शुक्रवार सम्पन्न भएको हो। शुक्रवार आयोजित समापन समारोहमा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा प्रमुख अतिथी रहेका थिए। उनले चासोक तङ्नाम लिम्बु समुदायको मात्र नभएर सबैको साझा पर्व बन्दै गएको बताए। उनले लिम्बु समुदाय प्रकृति पुजक भएको बताउँदै संविधानको मर्म र भावना अनुसार राष्ट्रले प्रदान गरेको अधिकार उपयोग गरी भाषा लिपी संस्कार र सँस्कृतिहरुको खोज अनुसन्धान र विकासमा पनि लागिपर्नु पर्ने बताए।


सोहीक्रममा उपमेयर बेघाले राज्यले संविधानले हामीलाई यती अधिकार दियो भनेर मात्र हैन, अनुत्तरति रहेकाको पनि थप खोज गरी तिब्र रुपमा अगाडी बढाउनुपर्ने बताए। उनले ईतिहास फर्केर हेर्नेहोभने राज्यले दमन गरेको सबैभन्दा पिडित जाती भनेको लिम्बु जाती भएको बताउदै लिम्बु जातीहरुले कहिल्यैपनि आफुलाई आत्मसमपर्ण नगरेको ईतिहास बोकेको समुदाय भएको बताए।अहिले पहिचान चाहियो भनेर लिम्बु समुदायहरु आन्दोलनरत रहेको बताउदै उपमेयर बेघाले पहिचानको विषयमा सम्पूर्ण लिम्बु समुदायहरु एक भएर जुट्नुपर्ने बताए।
समापन कार्यक्रममा राई, मगर, तामाङ, सुनुवार लगायतका विभिन्न जातजातीका नृत्यहरु प्रस्तुत गरिएको थियोभने सहयोगी जातीय संघसंस्थाहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो। पाँचदिने चासोक तङ्नाममा लिम्बु जातिको परम्परागत च्याबु्रङ नृत्यको प्रतियोगिता, लिम्बु जातिले खेल्दै आएका खेलहरू, अदिकालमा पहिलो पटक हाते तानमा युमाले धागोबाट कपडा बुनेर लगाउन थालेको मुन्धुम अनुसारको थाक्थाक्मा प्रदर्शन सहित साँझका बेला सांस्कृतिक प्रस्तुतिहरू समेत गरिएको थियो।