किरात याक्थुङ चुम्लुङले पाँचदिने चासोक तङ्नाम भव्य रुपमा मनाउदै

दिव्य रोशनी(धरान)/ किरात याक्थुङ चुम्लुङले पाँचदिने चासोक तङ्नाम भव्य रुपमा मनाउने भएको छ।
धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा आज सोमवार आयोजित पत्रकार सम्मेलनमा पाँच दिने चासोक तङ्नाम उत्सव आज पुष ९ गते सोमवार साँझदेखी शुरु हुने र पुष १३ गते शुक्रबार औपचारिक रूपमा समापन हुने जनाएको छ। पत्रकार सम्मेलनमा चुम्लुङका जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङले पाँचदिने चासोक तङ्नाममा लिम्बु जातिको परम्परागत च्याबु्रङ नृत्यको प्रतियोगिता, लिम्बु जातिले खेल्दै आएका खेलहरू, अदिकालमा पहिलो पटक हाते तानमा युमाले धागोबाट कपडा बुनेर लगाउन थालेको मुन्धुम अनुसारको थाक्थाक्मा प्रदर्शन सहित साँझका बेला सांस्कृतिक प्रस्तुतिहरू हुने बताए। उनले चासोक तङ्नाम उत्सवमा १९ वटा स्टलहरू रहने र परम्परागत लिम्बु परिकारहरू समेत पाइने बताए।


यसैगरी पत्रकार सम्मेलनमा चुम्लुङका धरान नगर अध्यक्ष तिर्थ मादेम्बाले कार्यक्रम उद्धघाटनअघि लिम्बु भाषा संस्कृतिलाई समृद्ध बनाउने लिपिका प्रवर्तक सिरिजंगाको धरान ८ तीनकुने चौक स्थित पूर्णकदको सालिकमा बाजागाजा सहित सम्मान प्रकट गर्दै माल्यार्पण गर्ने बताए। उनले सोही अवसरमा अढाई सय वर्ष अघि लिम्बुवानको राजधानीको रूपमा रहको विजयपुर स्थित दरबार स्थलमा चासोक मेला सुरु हुनअघि च्याबु्रङका समूहहरू सहित फेदाङमा येबाहरुद्धारा पूजा अर्चना गरिने समेत बताए।
यसैगरी चुम्लुङले यो सालको चासोक तङ्नामलाई कोशी प्रदेश नामाङ्कनको विरोधको रुपमा हषोल्लासका साथ मनाईने चुम्लुङका केन्द्रिय महासचिव निरन्ती तुम्बापोले बताईन्। उनिले मन र मुटुभरी कोशी प्रदेश नामाङ्कनको खारेज गर्दै पुनःनामांकन हुनुपर्ने आन्दोलनको रुपमा लिईएको समेत जनाईन्। यसैगरी चुम्लुङ्ले गतवर्षदेखी लिम्बु समुदायको धार्मिक अनुष्ठान तङ्सिङ सामूहिक रूपमा मनाउन थालेको छ। सोहिक्रममा आज परिवारको सुस्वास्थ्यका लागि गरिने तङसिङ शुरु भएको छ।
लिम्बू जातिले उभौली याममा यक्वा पूजा बीउ बिजन छर्ने समयमा मनाउँछन्भने चासोक तङ्नाम न्वागी पूजा उँधौली याममा बालीनाली भित्र्याउने बेलामा धूमधामले मनाउँने गर्दछन्।उभौली र उँधौली याममा सम्पन्न गरिने यी दुवै चाडपर्व कृषि कर्मसँग सम्बन्धित रहेका छन्।