राजतन्त्र कि अग्रगामी गणतन्त्र

जन निर्वाचित संविधानसभाको अत्याधिक बहुमतद्धारा वि.सं. २०७२ मा जारी नेपालको संविधानले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेसंगै नेपालको राजनीतिक, आर्थिक, सामाजिक÷साँस्कृतिक परिवेश नयाँ युगमा प्रवेश गरेको छ। एउटै आन्दोलनले एकै पटक बहुआयमिक फड्को मार्यो, त्यसैले त्यो क्रान्ति भयो। व्यक्तिपुजक सामन्तवाद गल्र्यामगुल्र्लुम ढल्यो। राजनीति, अर्थनीति, संस्कृति समाजका हरेक अवयवमा रहेको सामन्तवाद उखेल्ने त्यो क्रान्तिको शक्ति आधार नेपाली नागरिक नै हुन्। जनताले जनतामार्फत् नै शासनप्रणाली चलाउने आधुनिक मानव चेतना ढिलै भएपनि नेपालमा अवलम्बन गरी जनचाहना पुरा गर्न तीन तहका सरकार गठन गरेर अधिकार र जिम्मेवारीको बाँडफाँट सहित राष्ट्र निर्माणमा सहभागी हुन पाएका छन् नेपाली नागरिक। निगाह, अनुकम्पा, हुकुमका आधारमा होईन, संविधानले दिएको हक अधिकार र अवसरलाई स्वविवेकिय स्वतन्त्रतामा उपयोग गरी नेपाली नागरिक समानुपातिक सहभागिताको सिद्धान्त बमोजिम राजकिय प्रकृयामा सहभागी भईरहेका छन्। हिजो “पाउलागी गरे” भन्दै निगाहको भिख माग्ने तप्काका मान्छे आज शिर ठाडो पारेर निर्णायक कुर्सीमा बसेको सामन्तवादका अनुचरहरुलाई मन नपर्ने नै भयो। उनीहरुको छट्पटि देखा पर्दैछ।
सामन्तवादले रैति बताएकाहरुलाई गणतन्त्रले सम्मानित, अधिकार सम्पन्न नागरिक हैसियत दिएको छ। सामान्तवादी राज्य प्रणालीमा बोल्न, संगठन गर्न, स्वतन्त्र हिँडडुल, विचार प्रवाह गर्न बन्देज भोगेको पुस्ताका नागरिकले जनविश्वासका आधारमा अहिले राज्यको बागडोर चलाईरहेका छन्। तर गणतन्त्र स्थापनका लागी आन्दोलनमा होमिएका राजनीतिक दलहरु लोकतान्त्रिक गणतन्त्र स्थापनाको वर्ष दिन नपुग्दै एक अर्काको उछितो काढ्नमा तल्लीन रहे। कुनै दलको एउटा नेताले भ्रष्ट्राचार गर्ने बित्तिकै सर्पले खुट्टा देख्छ भने झै पुरै दललाई नै भ्रष्टाचारीको बिल्ला भिराउनुमा नै आफ्नो सफलता ठाने। नेपाली काँग्रेस, एमाले र माओवादी एकअर्कालाई सिध्याउने प्रयत्न गर्दागर्दै गणतन्त्रका उपलब्धीहरु जनताका माझमा पुर्याउन बिर्सिए। फलस्वरुप, अहिले लोकतन्त्र विरोधी शक्तिहरु एक ठाउँमा उभिएर गणतन्त्रलाई सत्तोसराप गर्दै विश्वकै उत्कृष्ट व्यवस्था मानिएको लोकतान्त्रिक गणतन्त्रको विकल्पमा तुलना नै हुन नसक्ने राजतन्त्रलाई उभ्याउने दुष्चेस्टा गर्दैछन्। अझैपनि लोकतान्त्रवादी शक्तिहरु एक ठाउँमा उभिने होभने त्यस्ता प्रतिगामी शक्तिहरुको केही लाग्दैन तर त्यस्तो सम्भावना पनि नदेखिंदा लोकतान्त्रवादीहरुलाई चिन्ताले सताउन थालेको छ।
सत्तामा रहेका राजनीतिक दलहरु र सत्तासञ्चालनमा रहेका नेताहरुको दुराचारका कारण जनता एउटा व्यवस्थाको विकल्पमा अर्को व्यवस्थाको परिकल्पना गर्छन्। कुनैपनि व्यवस्थाले जनतालाई निराश नबनाएसम्म त्यो व्यवस्थाको अन्त्यका लागी कोहीपनि नागरिक जुर्मुराउने गर्दैनन्। व्यवस्था त अर्मूत कुरा हो र व्यवस्था सितिमिति व्यवस्था कुनैपनि खराब हुँदैन। चाहे त्यो प्रजातान्त्रीक व्यवस्था वा लोकतान्त्रिक व्यवस्था जो सुकै भनियोस् या गणतान्त्रिक व्यवस्था होस् या राजतन्त्र नै किन नहोस् ती व्यवस्था अन्तर्गतका नियमक कानूनहरुमा नराम्रा कुरा या प्रावधानहरु समेटिएका हुँदैनन्। व्यवस्थाका विरुद्धमा आंैला उठ्ने भनेको त्यो व्यवस्थाका पक्षधर नेताहरुमा पलाएका विसंगतीपूर्ण आचरणका कारण नै हो।
राजनीतिक दलहरु विशेषगरी नेपाली कांग्रेस र नेकपा एमाले दुबै दलले सत्ताको स्वाद चाखिसकेपछि सत्ता स्वार्थ पलाउँदै जाँदा संविधान, नियम र कानूनहरुका बर्खिलाप क्रियाकलापहरु बढ्दै गए र मौका पाउने बित्तिकै त्यतिबेलाका राजा ज्ञानेन्द्रले सल्बलाउने मौका पाए। त्यसैले व्यवस्था नभई व्यवस्था सञ्चालन गर्ने व्यक्ति नै सहि हुनुपर्दछ अन्यथा व्यवस्था राम्रो भएर मात्रै टिकाउन मुस्किल पर्दछ।
राजाका सन्ततीले जन्मजात जे अधिकार पाउँछन्, सर्वसाधारणका सन्ततीले पनि जन्मने बित्तिकै ती सबै अधिकार हाँसिल गरेको हुनुपर्दछ भन्ने मान्यता नै लोकतन्त्र हो। तर पछिल्ला दिनमा प्राप्त भएका यी सबै अधिकारलाई एक व्यक्तिका हातमा बुझाउने निरर्थक प्रयास केही समूहबाट गरिदैंछ।
सात दशक अगाडीदेखी जरा गाडेको परिवर्तनकारी चेतनाको जरा खुलापन र स्वतन्त्रताको पौष्टिकताले झन् गाँडिएको छ। दुईवटा निर्वाचन मार्फत् विकल्पको छनौट अभ्यास गरिसकेकाका नेपाली नागरिकले कुनै विषय वा नेतृत्व मन नपराए यही संविधान बमोजिम शन्तिपूर्ण रुपमा यही व्यावस्था र प्रणाली भित्र फेर्नसक्ने अधिकार राखेकै छन्। निःसन्देह चाहना र कल्पना जस्तो तीव्र अर्थिक समृद्धि ल्याउने विकास गतिविधी हुन सकेको छैन। यो व्यावस्था वा प्रणालीको दोष होईन। प्रणालीले दिएको अधिकार र अवसरको सदुपयोग गर्ने नागरिक र नेतृत्वको कमजोरी प्रणालीको थाप्लोमा बढाएर मसान जगाउन खोज्नुको कुनै तुक छैन। सामान्तवादको खरानी दलेर कायापलट हुन्छ भन्ने अन्धविश्वास त्यागेका नेपाली अग्रगामी गणतन्त्रका सर्जक हुन्।
गणतन्त्रमा दलहरुको बेतिथी र राजतन्त्रमा एउटा छान्नुपर्यो भने गणतन्त्रमा दलहरुको तत्कालको बेथितीलाई नै बिनाहिचकिचाहट छान्नुपर्ने हुन्छ। यो शिशु गणतन्त्रको प्रारम्भिक पीडा हो। किनभने यी दलका शीर्ष नेताहरु आज छन् भोली हुँदैनन्। आज या भोली दलहरु भित्र विद्रोह हुनसक्छ। राज्यको राजनीतिक पदमा आउन जनताको अभिमत लिनैपर्ने हुन्छ। दल नसुधे्रको खण्डमा अर्को दल जन्मिन्छ। जस्तो कि, अहिले राष्ट्रिय स्वतन्त्र पार्टी जन्म्यो। भोली त्यो सत्तामा आउन सक्छ। यस्तै बेतिथी कायम रहिरह्यो भने आगामी चुनावमा स्थापित दलहरु हेरेका हेरेकै हुनेछन्। किनभने नेपालमा अहिले देश–विदेशमा पढेकाको संख्या बढ्न थालेको छ। ती आज या भोली नेतृत्वमा आउनेछन्। नयाँ पार्टी खोल्नेछन्, नयाँ विचार, नयाँ जाँगर–जोस, नयाँ सम्भावना बोकेर, यदि पुराना सुध्रेनन्भने।
यसरी राजनीतिको, राज्यसत्ताको, त्याँ बस्नेहरुको निरन्तर नविकरण भईराख्नेछ। यस्तो समयमा पनि घिसोपिटेको, मक्किएर सिद्धिएको राजा र राजतनत्रको कुरा गर्नु उल्टो गंगा बगाउनु हो। राजा र राजतन्त्र फर्काउने कुरा गर्नु भनेको आईफोन १५ को जमानामा घरघर घुमाईने डायल फोन फेरि फर्काउनु खोज्नु जस्तै हो।
– (धरान १६ अन्नपूर्णलाईन) दिव्य रोशनी साप्ताहिकबाट