बराहलाई पुनः चलायमान बनाउनुको अर्को विकल्प छैन

“हामी सबैको बराह, आर्थिक उन्नतीको साहारा” भन्ने निकै नै आकर्षक नारा दिएको बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.ली. आर्थिक मन्दिका कारण उठ्नै नसक्ने गरी थलिएको छ।
स्थापनाको २५ औं वर्षसम्म निकै नै देश विदेशमा समेत ख्याती कमाएको बराह करोना महामारीका कारण आर्थिक मन्दिले गर्दा बचतकर्ताहरुको रकम भुक्तान गर्न नसकेपछि पीडितहरुले रकम भुक्तानीको माग गर्दै संघर्ष समिति बनाएर आन्दोलन गरे, संघर्ष समिती अझैपनि आन्दोलनमा नै छन्। बराहले बचतकर्ताहरुको रकम भुक्तानी गर्न नसकेपछि बराह पिडित संघर्ष समितीले बराहको चलअचल सम्पत्ति रोक्का समेत गरेका छन्। निकै नै लामो समयसम्म बराहको सम्पूर्ण कारोबार ठप्प भएपछि हालसम्म लगानी तथा बचतकर्ताहरुको करोडौ रुपैयाँ बराहले भुक्तान गर्न सकेको छैन। बराहको डिपार्टमेन्ट स्टोर हाल खुल्ला रहेपनि चलायमान हुन नसक्दा बचतकर्ताहरुको लगानी फिर्ता हुन नसक्दा बराहलाई संकटग्रस्त घोषणा गर्ने धरानको कार्यपालिका बैठकमा पनि छलफल चल्यो। तर जनप्रतिनिधीहरुले बराहलाई संकटग्रस्त घोषणा गरेपछि लगानीकर्ता तथा बचतकर्ताको बचत र लगानी भुक्तानी हुने कि नहुने भन्ने प्रश्नमा नै रुमल्लिएपछि कार्यपालिकाको बैठकले पनि त्यसलाई सदर गरेन।
साँच्चिनै भन्नुपर्दा बराहलाई संकटग्रस्त घोषाणा गरे के लगानी र बचतकर्ताहरुले आफ्नो लगानी र बचतको भुक्तानी पाउछन् त? त्यो असम्भव नै देखिन्छ। किनकी कानून सम्मतः कुनैपनि संस्था संकटग्रस्त घोषणा भएपछि बैकले आफ्नो लगानी उठाउन धितो बिक्री गरिदिन्छ। त्यसपछि बाँकी रहेको रकम दामासाहीले भागलगाउदा पनि प्रति व्यक्ति १० प्रतिशत मात्र पनि भुक्तानी नहुने देखिन्छ। जसले गर्दा बराहमा करोडौ लगानी गर्ने लगानीकर्ताको लगानी जोखिम मात्र हैन गुमाउनुपर्ने बाध्यता हुनजान्छ।
त्यसो भए के गर्ने? बराहलाई संकटग्रस्त घोषाणा गर्नु भन्दा पहिले बराहलाई पुनः चलायमान बनाउनुको अर्को विकल्प देखिदैन। जिवनभर दुःख गरेर कमाएको भूपू लाहुरे, शिक्षक, वकिल, व्यापारि लगायत मजदुरहरुले कमाएको पैसालाई खेर जान नदिन अहिले बराह पिडित संघर्ष समितीले अर्कै कम्पनि खडा गरेर बराहलाई उठाउने प्रयास गर्दैछ। तिन महिना अघि मात्र गठित बराह समन्वय समितीले दुई दिन अघि मात्रै आफ्नै शेयर सदस्यहरु बिच ऋण उठाई ५ सय सम्म बचत भएका बचतकर्ताहरुलाई भुक्तानी लिन आग्रह समेत गरिसकेको अवस्थाले गर्दा बराहलाई पुनः चलायमान बनाए मात्र बचतकर्ताहरुको लगानी सुरक्षित हुने देखिन्छ। साथै बराहको रोकिएका चल÷अचल सम्पत्तिहरु फुकुवा गरि चलायमान बनाउन स्थानिय सरकारको पनि महत्वपूर्ण भूमिका देखिन्छभने बराहको काम कारवाहीबारे चनाखो रहन स्थानिय सरकारको पनि उत्तिकै आवश्यक देखिन्छ। (साभारः दिव्य रोशनी साप्ताहिक)