माया धराने साबुन फ्याक्ट्रीको शिलान्यासः समयमै सम्पन्न गरिने लक्ष्य (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले “माया धराने साबुन फ्याक्ट्री” को शिलान्यास गरेका छन्।
मेयर साम्पाङले आज मंगलवार धरान २० विष्णुपादुका जाने सर्दु पुल नजिकै रहेको नमुना टोलमा साबुन फ्याक्ट्री शिलान्यस गरेका हुन्। सरकारी लगानीमा बन्दै गरेको यो पहिलो साबुन फ्याक्ट्री हो। मेयर साम्पाङले “माया धराने साबुन” फ्याक्ट्री कुनै व्यक्ति वा संस्थाको नभई उपमहानगरपालिकाको स्वामित्वमा रहने बताए। उनले साबुनमा मात्रै वार्षिक ७ करोडको हाराहारीमा धरानवासीले खर्च गरिरहेको अवस्थामा त्यो पैसा यही बचाउन सके बाहिरबाट आएको रेमिट्यान्स बचाउन सकिने बताए। सोहीक्रममा मेयर साम्पाङले उपमहानगरले यसरी नै अन्य उद्योग समेत संचालन गरी पैसा विदेशिनबाट बचाउनुपर्ने बताए।


यसैगरी प्रमुख प्रशासकिय अधिकृत मात्रिका प्रसाद भट्टराईले युवाहरुमा निराशा छाईरहेको बेला यो फ्याक्ट्री निर्माणले युवाहरुमा सानो भएपनि आशा पलाउने बताए। उनले उपमहानगरले यसअघि बेसार फ्याक्ट्री समेत बनाइ सकेको बताउँदै यस फ्याक्ट्री निर्माणले युवाहरुमा व्यवसाय गर्नुपर्छ भनेर उत्साह जगाउने बताए। त्यस्तै २० नं. वडाका वडाअध्यक्ष पदम प्रसाद लिम्बुले धरानको २० न.ं वडालाई फ्याक्ट्री निर्माणका लागी छनौट गरेकोमा हार्दिक आभार समेत व्यक्त गरे।


कुल ३७ लाख ५८ हजार १ सय ५३ रुपैयाँ ५४ पैसाको लागत बनिन लागेको साबुन फ्याक्ट्रीका बाँकी कामहरु जनश्रमदानबाट सम्पन्न गरिने लक्ष्य लिएको उप–महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठले बताए। उनले यस साबुन फ्याक्ट्री निर्माणका लागि १६ वटा पिलर उठाई टिनको ट्रष्ट लगाईने समेत बताए। उनका अनुसार निर्माणाधिन फ्याक्ट्रीको साईज ४६ बाई ६४ फिटको भवन बनिने भएको छ। यसैगरी माया धराने साबुन फ्याक्ट्री निर्माण उपभोक्ता समूहका अध्यक्ष दत्त कुमार लिम्बुले साबुन फ्याक्ट्री निर्माण समयमै सम्पन्न गरिने लक्ष्य लिएको बताए।
गतवर्ष नै यस “माया धराने साबुन” फ्याक्ट्री निर्माण गर्ने लक्ष्य लिएपनि वन कार्यालयले उपमहानगरपालिका विरुद्ध रिट दायर गरेपनि अदालतले अन्तरिम आदेश खारेज गरिदिएपछि पुनः माया धराने साबुन फ्याक्ट्री आज मंगलबारबाट निर्माण शुरु भएको हो।