समाज सेवाको नमूना अपाङ्ग पुनस्थापना केन्द्र
धरानमा सामाजिक संघ–संस्थाहरु थुप्रै रहेका छन्। केही संघ–संस्थाले जेनतेन आफुलाई चिनाउने कोशिसमा रहेका छन्भने केही संस्थाको नामावली सरकारी पुस्तिकामा अभिलेख मात्रै रहेको छ। तर धरानको एउटा यस्तो सामाजिक संस्था छ, जुन अपाङ्ग तथा विपन्न वर्गका लागी चिरपरिचित छ। अपाङ्गता भएकाहरुको लागी बैशाखी र विपन्न वर्गका लागी सहयोगी बन्दै आएको धरानको एक सामाजिक संस्था हो, अपाङ्ग पुनःस्थापना तथा असाहय सेवा केन्द्र नेपाल धरान।
हो, यस संस्थाले धरानमा मात्र नभई १ नं. प्रदेशभरीकै अपाङ्ग तथा असहायहरुको सेवामा मात्रै जुटेको छैन, यस संस्थाले विपन्न वर्गका व्यक्तिहरुलाई पनि दिल खोलेरै सहयोग गर्दै आएको छ। रोगले थलिएर उपचारका लागी धरान आएर उपचार गराउँदा गराउँदै आर्थिक अभावले त्यसै फर्किन परेका धेरै बिरामीहरुको उपचारमा सहयोग पुर्याउँदै आएको छ। खर्च अभावमा बिचल्ली परेका बिरामीहरुलाई उपचारका लागी अस्पताल संग समन्वय गर्ने मात्र नभई दयालु दाताहरुको खोजी गरि पूर्ण रुपमा उपचार गराई परिवारमा पुर्नमिलन समेत गराएको छ। यस सामाजिक संस्थाले सामान्य अप्रेशन देखी बोन म्यारो ट्रान्सप्लान्ट जस्ता महंगो उपचारका लागी १० लाख भन्दा बढी रकमको जोहो पिडित परिवारहरुलाई गर्दै आएको छ। साथै अपाङ्गता भएका विपन्न वर्गका नागरिकहरुलाई आफ्नै सेल्टरमा राखी उपचार संगै आवश्यक्ता अनुसार कृतिम हात, खुट्टा लगाईदिएर उनीहरुलाई समाजमा पुनःस्थापित गराउन सिप मूलक तालिमहरु समेत दिदै आएको छ।
यस संस्थाले यति मात्र कहाँ हो र, समाजमा रहेका विपन्न नागरिकहरुलाई आफ्नो हैसियतले भ्याएसम्म राहतका सामाग्रीहरु समेत वितरण गर्दै आएको छ। घरमा चुल्हो बाल्न नसकेका विपन्न वर्गका व्यक्तिहरुलाई खाद्यान्न, विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री देखी उचित शिक्षाको समेत प्रबन्ध मिलाउदै आएको छ। यसका साथै विपन्न वर्गका व्यक्तिहरुलाई सिप मुलक तालिम दिएर बजार व्यवस्थापनसम्म सहयोग गर्दै आएको छ। समग्रमा भनौं, कोही पनि व्यक्ति अभावमा बच्न नपरोस् भन्नका लागी आवश्यक्ता अनुसारको सहयोग समेत गर्दै आएको छ। सबैलाई लाग्नसक्छ यस संस्थाले यत्रो बिघ्न सहयोग कसरी गरिरहेको छ त? त्यो सहयोग भनेकै तपाई हामी जस्ता सहयोगी मनकारी व्यक्तिहरुले गरेको सहयोग नै हो। यस संस्थामा जोडिएर कसैले सहयोग गर्न चाहेको खण्डमा संस्थाले सम्बन्धित पीडित व्यक्ति खडा गरिदिन्छ। जसले गर्दा सहयोग गर्नेको मन पनि आनन्द हुने गर्दछभने वास्तविक पीडितहरुले पनि राहतको स्वास फेर्न सकेको महशुस हुन्छ। जन्मे पछि मृत्यु निश्चित छ सबैले जाने घाटै हो भने जिवन रहेसम्म पीडितहरुको पीडामा केही भएपनि मल्हम पट्टी किन नगर्ने?(दिव्य रोशनी साप्ताहिकबाट)