द्वन्द्व संवेदनशीलताः पत्रकारहरूको सरोकार

नेपालको १० वर्षे सशस्त्र द्वन्द्व (जनयुद्ध भनिएको संघर्ष) पूर्ण रूपमा रूपान्तरण नभइसकेको अवस्थामा नेपाली पत्रकारितामा द्वन्द्व संवेदनशीलता एक दशकदेखि अनिवार्य विषय हुँदै आएको छ। हरेक द्वन्द्वग्रस्त मुलुकमा यो विषयमा राज्य र समाजका सरोकारवालाहरूको दृष्टिकोण र व्यवहार संवेदनशील र गम्भीर हुनुपर्छ। राजनीतिक रूपमा द्वन्द्वको भुमरीमा परेको नेपालमा पछिल्लो समयमा यो विषय ओझेलमा पर्नु, समयमा न्याय निरुपण नहुनु र द्वन्द्वको घाउ लामो समयसम्म आलै हुनु विडम्बनाको कुरा भएको छ। यो विडम्बनायुक्त परिस्थितिमा द्धन्द्ध संवेदनशीलताप्रति पत्रकारिताको चासो र सरोकार थप वृद्धि हुनु अपरिहार्य छ।
सञ्चारले मानवीय जीवनशैली र व्यवहारमा परिवर्तन ल्याउने हुँदा सामाग्री प्रकाशन प्रशारण गर्दा द्वन्द्व संवेदनशीलतालाई निरन्तर ध्यानमा राख्नुपर्छ। द्वन्द्वको कारण र अवस्थाप्रति पत्रकार र पत्रकारिता संवेदनशील हुन नसके पत्रकारिता पेशा समेत असुरक्षित हुने हुँदा सबै पत्रकारमा द्वन्द्व संवेदनशीलतासम्बन्धी जानकारी अनिवार्य छ।
समाचारका विभिन्न स्रोत (समसामयिकता, निकटता, व्यक्तित्व, असामान्य घटना, मानवीय रूचि, विकास, सामाजिक उत्तरदायित्व, पृष्ठभूमि, सवालहरू, ज्ञान, उत्प्रेरणा, समस्या र आशाहरू आदि) द्वन्द्व पनि एक हो। द्वन्द्व भन्नाले लडाई, झगडा, युद्ध, असहमति आदि परिस्थितिलाई बुझाउँछ, जुन शब्दमै विषयको गम्भीरता लुकेको छ।
हिंसा र द्वन्द्वका कारणहरू बुझ्न मिडिया नैतिकता, संवाद र संलग्नता, अहिंसात्मक द्वन्द्व समाधान, घृणायुक्त भाषण र प्रचारको प्रतिरोध र शान्तिको वकालत जस्ता विषयहरू द्वन्द्व संवेदनशील पत्रकारिताले समेट्छ। तर यी मुद्धाहरूमा जिम्मेवार, संवेदनशील र रचनात्मक रूपमा रिपोर्ट गर्ने मिडिया पेशेवरको खाँचो अर्थात् संवेदनशीलताको अभाव देखिनु चिन्ताको विषय हो।
मिडिया उद्योगमा मिडिया र व्यक्तिहरू सम्भावित सामाजिक सांस्कृतिक र राजनीतिक द्वन्द्व, गलत सूचना र आक्रामक कार्यहरू कम गर्न सक्रिय भएको देखिनुपर्छ। समाजमा विद्यमान र सम्भावित सामाजिक सांस्कृतिक र राजनीतिक द्वन्द्वका लागि शान्तिपूर्ण समाधानहरू पहिचानका लागि मिडिया पेशेवर र पत्रकारहरूले द्वन्द्व विश्लेषण कौशल र सम्प्रेषणका क्षमताहरु बढाउनुको विकल्प छैन। द्वन्द्व संवेदनशीलताप्रति निरन्तर जिम्मेवार भएर (दृष्टिकोण सुधा गरेर) सरोकारवाला पक्षबीच “जितृजित” को दृष्टिकोण विकासका लागि द्वन्द्वसँग सम्बन्धित सूचना तथा समाचार सामग्रीको प्रयोग गर्नु पत्रकारको कर्तव्य हो।
द्वन्द्व संवेदनशीलता पत्रकारिताले पत्रकार तथा मिडिया सञ्चालकहरूलाई अतिरिक्त जिम्मेवार बनाउँछ।यसले द्वन्द्वमा योगदान पुयाउने सामाजिक, आर्थिक, राजनीतिक र ऐतिहासिक कारकहरूको जाँच समावेश र द्वन्द्व भइरहेको सन्दर्भको विस्तृत बुझाई प्रदान गर्छ। व्यक्ति, समूह र संस्था सहित द्वन्द्वमा सलग्न विभिन्न कलाकारहरूको उनीहरूप्रतिको चासो, प्रेरणा र दृष्टिकोण समेट्छ नै उनीहरू कसरी द्वन्द्वसँग सम्बन्धित छन् भनेर स्पष्ट समेत पार्छ।
द्वन्द्व संवेदनशीलता पत्रकारिताले यसमा शक्ति कससँग छ, शक्ति कसरी प्रयोग गरिन्छ, र शक्ति सम्बन्ध द्वन्द्वलाई कसरी प्रभाव पार्छ भन्ने लगायत द्वन्द्वभित्र रहेका शक्ति गतिशीलताहरूको निरन्तर जाँच गर्छ। द्वन्द्वको केन्द्रविन्दुमा रहेका विशेष मुद्धाहरू पहिचान र द्वन्द्वका आधारभूत कारणहरूप्रतिको बुझाइ स्पष्ट बनाउँछ। त्यसैगरी, द्वन्द्वरत पक्षको शारीरिक, सामाजिक र मनोवैज्ञानिक प्रभावसहित संलग्न विभिन्न पक्षहरूमा द्वन्द्वको प्रभावको मूल्याइन द्वन्द्व संवेदनशीलता पत्रकारिता समावेश हुन्छ।यसले द्वन्द्वले व्यक्ति, समुदाय र समय समाजलाई कमरी असर गर्छ भनेर बुझ्नु सजिलो पार्छ।
द्वन्द्व संवेदनशीलता अन्तर्गत उल्लिखित दृष्टिकोणहरू प्रयोग गरेमा पत्रकारहरूले द्वन्द्व,यसको कारणहरू र यसको सम्भावित प्रभावहरूको व्यापक बुझाइ प्राप्त गर्न सक्छन्। यसले उनीहरूलाई द्वन्द्वलाई अझ प्रभावकारी, संवेदनशील रूपमा अन्तर्निहित मुद्दा र चुनौतीहरूको बारेमा बढी जागरूकता साथ रिपोर्टिङ गर्न प्रेरित तथा मद्धत गर्छ ।
द्वन्द्व संवेदनशील पत्रकारितामा मिडिया कभरेजले निम्त्याउन सक्ने सम्भावित हानिलाई कम गर्ने तरिकाले द्वन्द्वको बारेमा रिपोर्टिङ गर्ने सिप समावेश हुन्छ। तर सनसनीपूर्ण र उत्तेजक भाषाबाट बच्न जरुरी छ, अन्यथा तनाव र द्वन्द्व बढ्न सक्छ। द्वन्द्व संवेदनशील पत्रकारिताले द्वन्द्वका सबै पक्षहरूलाई आवाज दिने र तथ्यहरू सन्तुलित र संवेदनशील रूपमा प्रस्तुत गरिएको सुनिश्चित गर्ने, सही र निष्पक्ष रूपमा रिपोर्ट गर्ने लक्ष्य राख्छ।
शान्ति र द्वन्द्वको अहिंसात्मक समाधानलाई सक्रिय रूपमा प्रबर्धन गरेर द्वन्द्व संवेदनशील पत्रकारिताभन्दा पर जान हुँदैन। द्वन्द्व संवेदनशील पत्रकारिता द्वन्द्वको रिपोर्टिङले तनाव बढाउन वा घटाउन सक्छ भन्ने विश्वासमा आधारित हुन्छ। यसैले संवाद, समझदारी र शान्तिपूर्ण समाधानलाई बढावा दिने तरिकामा रिपोर्ट गर्नु पत्रकारको मूल दायित्व हुन्छ। द्वन्द्व संवेदनशील पत्रकारिता गर्नु भनेको तटस्थ रहनु होइन, बरु निष्पक्ष र जिम्मेवार हुनु र शान्ति प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्नु हो।
(लेखक गुरागाई सुनसरीका अग्रज पत्रकार हुन्।)दिव्य रोशनी साप्ताहिकबाट