डेंगु नियन्त्रणका लागि धरानमा भोली बिहान ७ बजे एकै साथ सबै वडामा सर्च एण्ड डिष्ट्रोइ अभियान सञ्चालन गरिने, विद्यालय समेत बिदा (भिडियोसहित)

दिव्य रोशनी(धरान) अन्ततः डेंगुले आक्रान्त पारेको धरानमा धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रण गर्नका लागि भोली बुधबार बिहान ७ बजे एकैसाथ २० वटै वडामा सर्च एण्ड डिष्ट्रोइ अर्थात् लार्भा खोजी नष्ट गर्ने वृहत अभियान नै सञ्चालनको तयारी गरेको छ।

मंगलबार बिहान अकस्मात् बसेको कार्यपालिका बैठकले वडाका जनप्रतिनिधिहरुको संयुक्त पहलमा धरानका टोल विकास संस्था, विद्यालयका शिक्षक र विद्यार्थीहरु साथै विभिन्न क्रियाशिल संघ÷संस्थाको सहभागितामा प्रत्येक वडामा खोज र नष्ट गर (सर्च एण्ड डिष्ट्रोइ) अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । बैठकले बुधबार बिहान ठिक ७ बजे धरानका २० वटै वडाहरुमा यो अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै वडा कार्यालयहरुले पनि सबै टोलबासीहरुलाई आआफ्नो घर, टोलहरुमा निस्केर लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा सहभागी हुन समेत आह्वान गरेको छ । 
कार्यपालिका बैठकद्वारा सर्च एण्ड डिष्ट्रोइ अभियानलाई प्रभावकारी बनाउनका साथै विद्यार्थी, शिक्षकहरु समेतलाई सर्च एण्ड डिष्ट्रोइ अभियानमा सहभागी हुन आग्रह गर्दै बुधबार धरानका सरकारी तथा निजी विद्यालयहरुलाई बिदा दिने निर्णय समेत गरेको छ । बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले अहिले डेंगुको महामारीसँगै आँखा पाक्ने रोग समेत फैलिएको बताउँदै विद्यार्थीहरुलाई बिदा दिइ घरमै बस्न सुझाव दिनुपर्ने बताएका थिए।
 
https://youtu.be/PZYwKWIviss