ग्रीन एण्ड क्लिन धरान अभियान जारी

दिव्य रोशनी(धरान)/नेपाली कांग्रेसले ग्रीन एण्ड क्लिन धरान अभियान जारी राखेको छ।
४१औं वी.पी. स्मृति दिवसको अवसर पारेर शुरु गरेको अभियान धरानको वडा नं. १ र २ मा सम्पन्न गरेको छ। अभियानमा न्यूनतम् एक घर एक विरुवा रोपेर ग्रीन धरान बनाउन विरुवा वितरण गर्ने गरिएको छभने सडक सरसफाई, डेङ्गुको लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण समेत संगसंगै गरेर क्लिन धरान बनाउने कार्य गरिरहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए। उनले हरेक वडामा घरघरमा गई कम्तीमा एक बिरुवा रोप्ने, सडक सरसफाई गर्ने तथा डेङ्गुको लार्भा नष्ट गर्ने कार्य र सचेतनामूलक पर्चा वितरण गर्ने कार्य गरिएको बताए।
यसैगरी नेपाली कांग्रेसका पूर्व नगर सभापति किशोर राईले कांग्रेसको यो अभियानबाट जनतामा सकरात्मक सन्देश गएको र नगरवासीहरु खुशी भएको बताए। उनले यो अभियानले कांग्रेसलाई जनताको घरघरमा पु¥याएको समेत बताए। त्यस्तै कार्यक्रम संयोजक मचिन्द्र राईले अभियान अन्तर्गत तेजपत्ता, अमला, टांकी, धुपी, चिउरी, हर्रावर्रा, कागती, कफी, शिरिस, सिसौं, लप्सी, बकाइनो, पारिजात लगायतका बिरुवाहरु घरघरमा उपलब्ध गराइएको बताए।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले कांग्रेसको ग्रीन एण्ड क्लिन धरान अभियान अत्यन्तै राम्रो भएको बताए। उनले एक/दुई सय तेजपत्ताको बिरुवा उपलब्ध गराईदिन आग्रह गर्दै आफु पनि घरघरमा बिरुवा वितरण गरी अभियानमा जोडिने बताए। कांग्रेसका क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीका अनुसार ग्रीन एण्ड क्लिन धरान अभियान भदौ १० गतेसम्म १ महिना सञ्चालन हुनेछ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा सञ्चालित अभियानमा कांग्रेसको कोशी प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा १(१) र १(२) कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमिति र भातृ तथा शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ। ।(दिव्य रोशनी साप्ताहिकबाट)