कला, साहित्यको सम्बद्र्धनका मुद्धा ओझेलमा

मनिता चाम्लिङ,
दिव्य रोशनी (धरान)/
चालिसको दशक अघि रंगमंचमा निकै उभार ल्याएको धरान अहिले केही सुस्ताएको छ। २०४६ सालको जनआन्दोलनमा जनतालाई सहभागी गराउन होस् या जनतालाई देश परिस्थिती बारे बुझाउन नाटकको साहारा लिनु पथ्र्यो। तत्कालिन पंचायती व्यवस्थामा राजतन्त्र विरुद्ध बोल्नै नपाईने अवस्थामा जनता जगाउन घुमाउरौ पारामा एकमात्र सहारा नाटक र संगीत नै थियो।
नाटकबाटै जनतालाई जनचेतना जगाउने र पंचायती शासन विरुद्ध लाग्न नाटकको हरेक संवाद नै जनता उठाउने एक मात्र माध्यम बन्यो। फलस्वरुप देशमा बहुदलिय प्रजातन्त्र आयो। प्रजातन्त्र पश्चात् बिस्तारै धरानमा नाटकहरु सुस्ताउँदै गएको हो । कलाकारहरु लाखापाखा लागे। धरान रंगमंचदेखी टाढा हँुदै गयो।
२०४६ सालको जन आन्दोलनको उभार ल्याउन त्यसबखत नाटक “दमनको राप” पूर्वाञ्चलमा चर्चित रहेको थियो। धरानका अग्रज रंगकर्मी गोपाल देवानका अनुसार नाटकले जनआन्दोलनको भावनालाई कसरी उत्प्रेरित गरेको भन्ने देखाएको थियो। क्रान्तिकारी नाटकहरुले मानिसहरुको दिमागमा चेत भर्ने काम गर्यो।

“दमनको राप नाटक मंचन गर्दै कलाकारहरु”


धरानमा नाटक प्रदर्शनको शुरुआत १९९७ सालदेखी भएको भनिएपनि प्रामाणिक ईतिहास खोजीकै विषय बनेको छ।२००७ साल, २०१५, २०२१, २०२२, २०३०, २०३५ साल हुँदै ०४२ सालदेखी यसले अग्रगती लिएको अनुमान गर्न सकिन्छ । २०४६ सालदेखी विशेष गरी आरम्भ नाट्य डबली र अनाम नाट्य जमात निकै चर्चामा रहे। देवानको भनाई छ ‘२०४६ साल देखी नाटककोे आधुनिक चरणको शुरुवात भएको हो ।’ उहिले नाटकको लेखोट नभएपनि दरबारिया नाटक हुनेगरेको थियो। “कलंकी समाज” पहिलो लिखित नाटक हो। दरबारियाहरुलाई देखाइने नाटकको पछिल्लोकालमा प्रगतीशिल र प्रगतीवादी नाटकहरु शुरु भयो। त्यसपछि धुले नाटकको युग शुरु भयो।
देवानले भने ‘त्यस बखत भारतको प्रसिद्ध सिनेकर्मी उत्पल दत्त समेत धरान आएर नाटक खेलेका थिए। उनले साहित्यकार, स्व. गोविन्द विकल संग नाटक खेलेका छन्।’ त्यसबखत नाटकलाई मनोरञ्जन भन्दापनि चेतना प्रसारण गर्ने माध्यमको रुपमा लिईन्थ्यो । विगतमा देखाईएको सडक नाटक अहिले एनजिओहरुले सडकमा देखाएर बिगारिएको छ।
एनजिओले डलर खाएर नाटक भन्दापनि नौटंकी देखाउनले चलन पनि आयो। एक समयमा धरानका नाटकहरुले काठमाण्डौ हल्लाउँथ्यो।नाटक महोत्सवमा धरान भाग लिन आउदैछ भन्ने थाहापाएपछि काठमाण्डौ पुरै हल्लिन्थ्यो। उनले भने “त्यतिखेर चार ठाउँ नाटकका लागी उर्वर भूमि मानिन्थ्यो। पहिलो काठमाण्डौ, दोस्रो पोखरा, तेस्रो धरान र चौथो जनकपुर रहेको थियो।’
२०४२ सालदेखी धरानमा नाटकको उत्सर्ग २०५७ सालसम्म रह्यो। एक समय धरानमा नाटक प्रदर्शन गर्न सेड्युल नै बनाउनुपथ्र्यो। नाटक प्रदर्शन मिती जुधेर झगडा नै पर्ने गरेको थियो । देवानका अनुसार समपर्ण नाट्य जमात, अनाम नाट्य जमात, आरम्भ नाट्य समूह, सिर्जना नाट्य परिवार, हाम्रो नाट्य परिवार, संकल्प नाट्य परिवार, साहारा नाट्य परिवार, शंकर नाट्य परिवार, मोक्सुरा नाट्य परिवार, सृष्टी नाट्य समूह लगायत नाट्य समूह धरानमा थियो।

“बहुचर्चीत नाटक ईङ्घङ”


त्यसबेला प्रज्ञा प्रतिष्ठानको नाट्य महोत्सवको आयोजनामा धरानबाट २/३ वटा नाटकहरु सहभागिता हुन्थ्यो । अनाम नाट्य जमातले २०४५ सालमा “म, प्रियसी, नानीहरु प्लस मिसाईल ईजिकल्टु जिरो” ले सर्वश्रेष्ठ पुरस्कार पाएको थियो। २०४७ सालमा आरम्भबाट प्रस्तुत गरिएको “यिनीहरु देश खोजिरहेका छन्” ले विशेष पुरस्कार पाएको थियो।

“अग्रज रंगकर्मीहरु गोपाल देवान र विष्णु मोक्तान”


धरानमा नाटक सुुस्ताउनुको कारणः
चौक र खुल्ला स्थानमा खाट राखेर नाटक प्रदर्शन हुँदै आएका धरानमा जनघनत्व बढेपछि स्थानको अभाव भयो । समय सापेक्ष नाटक मंचन गर्ने एउटा सुविधा सम्पन्न नाटक घर नहुँदा धरानको नाटक खस्कँदै गएको हो। देवानले भने ‘प्राविधिक सुविधा सम्पन्न नाट्यघरको अभाव र सरकारको नीतिको कारणपनि धरानमा नाटक सुस्ताउँदै गएको हो।’
प्रविधीको विकासले नाटकलाई केही असर पारेको देखिन्छ। त्यसलाई उनी नाटक सुस्ताउनुको कारण मान्दैनन् । भन्छन् ‘नाटकभने प्राकृतिक अभिनयको माध्यम भएकाले त्यस्तो अभिनय हेर्न दर्शकहरु थिएटर हलमा नै आउनु पर्छ।’ फिल्मी अभिनय वास्तविक होइन । नाटकमा एकैटेकमा अभियन हुन्छ फिल्मा दशौं टेकपछिको अभिनय देखाइन्छ।
नाट्य अभिनय, निर्देशन र प्रविधिको प्रशिक्षण केन्द्र सरकारी नीति नेपालमा नभएकाले पनि नाटक पछि परेको हो। देवानले भने ‘भारतमा एनएसडि छ, नाटकको निर्देशक, कलाकार, प्राविधिक उत्पादन गर्ने, त्यहाँको सरकारले नीति नियम ल्याएको छ। स्कुल अफ डूामा छ तर नेपालमा त्यो छैन ।” यहाँ बर्खाको बेला खहरे खोला जस्तै उर्लिएर आए, अहिले सकिए।
धरानमा पछिल्लो समयका चर्चित रंगकर्मी विष्णु मोक्तान स्थायी नाटकघरको अभावमा नाटक मञ्चनको सुविधा नहुँदा रंगकर्मीहरु पलायन हुनु बाध्य भएको बताउँछन्। उनी भन्छन् ‘नाटकबाट चुलो बल्दैन।’ राष्ट्रले महत्व नदिएपछि प्राज्ञिक तहबाट पनि अभिनयको कमी भएको उनको भनाई छ। अझैपनि नाटक सिक्न आउने युवाहरुमा केही गर्न हुटहुटी भने पाइने मोक्तानको कथन छ।
नाटकबाट धरानमा सांस्कृतिक पर्यटन प्रवद्र्धन सकिन्छ। तर उपमहानगरपालिकाले कला र संस्कृतिमा छुट्याउने न्यून बजेटले केही पनि गर्न नसकिने उनको भनाई छ। स्थानिय सरकारले नाटकलाई प्रोत्साहन गर्न नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा औल्याउँदै कुल बजेटको ५ प्रतिशत कला र संस्कृतिमा विनियोजन जरुरी भएको मोक्तान बताउँछन्।
संसारमा आउने कुनै पनि परिवर्तनमा कला र संगितको ठूलो भूमिका हुन्छ।कलाकारहरुलाई पहिचान चाहिन्छ, त्यस्तो पहिचान रैथाने संस्कार र संस्कृतिले स्थापित गर्ने विश्वव्यापी उदाहरणहरु छन्। अबको नाटक त्यस्तो विषयसंग जोडिनुपर्ने बताउँदै मोक्तान भन्छन् ‘भर्खरै धरानमा मंचन भएको नाटक “कुमार मामा” पहिचानसंग जोडिएको नाटक हो।’
मोक्तान नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य हुन् । विगतको स्वर्णिम नाट्यकाल अहिले ओझेलमा परेपनि भविष्य उज्वल बनाउनु नाट्यकर्मीले हरेस खानु नहुने उनको भनाई छ। नाट्य प्रज्ञा प्रतिष्ठानले पहिलो कार्यकालमा प्रदेश १ लाई केन्द्रिकृत गरेर प्रोडक्सन वेशमा प्रशिक्षण गरी २/३ महिनाको गित, संगित नृत्य र नाटक विधामा कार्यक्रम गर्ने योजना बनाएको छ।
धरानमा नाटकघर निर्माणको पहलः
धरानमा नाटकको पुरानो शाख फर्काउन नाटकघर निर्माण शुरु गरिएको छ । त्यसको डिपिआर अनुसार कुल लागत ५ करोड रुपैयाँ छ । ईन्टेरियर डेकोरेशनमा ३ करोड गरी कुल ८ करोड रुपैयाँ अनुमान गरिएका छ। नाटकघर निर्माण समितीका सचिव अरुण प्रधानका अनुसार कोरोनाकालमा रोकिएका निर्माण कार्य अहिले प्रायः रोकिएको अवस्था छ।
तत्कालिन संघीय सांसद जयकुमार राईको ४० लाख रुपैयाँबाट शुरु गरिएको नाटकघर बहुउद्धेश्यीय भवनकौ रुपमा प्रयोग गर्न सकिने डिजायन छ । हालसम्म ८४ लाख खर्च भईसकेपनि फाउण्डेसन निर्माण सकिंदा डेढ करोड पुग्ने अनुमान छ।

“निमार्णाधिन नाटक घर, ईन्सेटमा नाटकघर निमार्ण समितीका सचिव अरुण प्रधान”


नाटकघर निर्माणका लागि देश विदेशमा सहयोग समिती समेत गठन भएको थियो।कोरोना माहामारीले गर्दा सहयोग समितीहरु अहिले निस्कृय छन्।२ कट्ठा जमिनको नाटकघरमा नाटक मञ्चन, चित्रकला प्रर्दशनी, साहित्य गोष्ठी आयोजना गर्ने सुविधा सहित निर्माण शुरु गरिएको हो। सचिव प्रधान भन्छन् ‘धरानमा नाटकघर भए बाह्रै महिना नाट्य, कला र साहित्यका गतिविधि चल्ने त्यस्ले नयाँ प्रतिभाहरु तयार गर्नेछ।’
नाटक घर निर्माणको ढिलाईका कारण बारे गोपाल देवानको भनाई छ ‘राज्यको नाटकलाई हेर्ने गलत दृष्टिकोणले पनि धरानको नाटकघर बन्न नसकेको हो।’ कलाक्षेत्रलाई अनुत्पादक मान्ने र यसमा सरकारी लगानी नहुने सरकारी नीति भएको उनले बताए। केन्द्र प्रदेश स्थानिय सरकारलाई गुहारेपनि परिमाणमुखी सुनवाई भएको छैन्। उनले प्रश्न गरे ‘५ करोडको डिपिआरमा वर्षमा ५ लाख रुपैयाँले कहिले नाटक घर बन्ला ?’
निस्क्रिय धरान प्रज्ञा प्रतिष्ठानः
धरानको कला र साहित्य क्षेत्रमा भूमिका खेल्न गठन भएको धरान प्रज्ञा प्रतिष्ठान अहिले निष्क्रिय अवस्थामा छ। संघियतापछिका पहिलो निर्वाचित नगर प्रमुख स्व.तारा सुब्बाले धरानको रंगमञ्च, कला र साहित्यको उत्थानका लागि प्रज्ञा प्रतिष्ठा गठन गरेका हुन्।संयोजक अम्बिका सम्वाहाम्फे रहेको तदर्थ समितिले ५ वर्षसम्म महत्वपुर्ण कार्यक्रमहरु ग¥यो।
प्रतिष्ठानमा प्राज्ञ सदस्य रहेका गोपाल देवान भन्छन् ‘अब धरान प्रज्ञा प्रतिष्ठानलाई उपमहानगरले पुर्नजिवित गर्नुपर्छ।’ नयाँ कलाकार जन्माउन र कला सहित्य सँस्कृति जगेर्नाका लागी प्रतिष्ठानको जरुरी छ। कला र संस्कृतिको अधिकार स्थानिय तहले पाएकाले त्यस्लाई उपयोग गर्न प्रतिष्ठान नै चाहिन्छ। देवानले भने ‘नाटक, कला र साहित्य र श्रम संस्कृति बचाउन पनि प्रतिष्ठान चाहिन्छ।’
धरान प्रज्ञा प्रतिष्ठानलाई पुनः ब्युताउनुपर्ने पक्षमा प्राज्ञ विष्णु मोक्तान पनि छन्। प्रज्ञा प्रतिष्ठान बनाएर कला र सस्ंकृतिको सम्मानका आश लाग्दा परिणाम आईरहेको थियो। उनले भने ‘एक वर्ष यता प्रतिष्ठान पुनर्गठन हुन नसक्नु दुःखद छ।’ चलचित्र निर्देशक अरुण प्रधानले पनि प्रज्ञा प्रतिष्ठान गठन हुनै पर्ने बताए। प्रतिष्ठानको पुर्नगठन गर्दा आसेपासेको सट्टा विज्ञ व्यक्तिहरुलाई राखिनु पर्ने उनको भनाई छ।
के गर्दैछ उपमहानगरपालिकाः
कला, साहित्य भाषा र संस्कृतिको लागी क्षमताले भ्याएसम्म काम गर्दै आएको उप–महानगरपालिकाले जनाएको छ। पर्यटन शाखा, कला, सहित्य, संस्कृति शाखाकी रमिला कुलुङ (सहायक पाचौं) ले चालु आर्थिक वर्षमा ३० लाखको बजेट छुट्टिएको बताईन्।
पहिले धरान प्रज्ञा प्रतिष्ठानले कला, साहित्य, संस्कृतिका कार्यक्रम गर्दै आएको थियो । हाल प्रतिष्ठानको कार्यअवधी समाप्त भएकाले केही गाह्रो भएको उनले बताईन्। भनिन ‘पहिले प्रज्ञा प्रतिष्ठानमा विज्ञहरु हुँदा काम गर्नपनि सजिलो थियो।’ उनका अनुसार चालु आर्थिक वर्ष २०७९/९० मा नाटकघर निर्माणको लागी ११ लाख २५ हजार संघिय बजेट विनियोजन भएको थियो।
निष्कर्षः
धरानको रंगमंचलाई पुनः चलायमान बनाउन धरानमा नाटक घरको निर्माणलाई प्राथमिकता दिनुपर्ने देखिएको छ । दुईवर्ष अघिदेखी निर्माण थालिएको नाटक घरलाई स्थानिय र केन्द्रिय सरकारले प्राथमिकतामा नपारेपछि अहिले धरानको नाटक घर बेवारिसे अवस्थामा छ। अब तिनै तहको सरकारमा दवाव पु¥याउन सके मात्र समयमा यसको निर्माण हुने देखिन्छ।
धराने रंगमञ्चले राष्ट्रिय रुपमा स्थापित रंगकर्मी, साहित्य, कलाका व्यक्तित्वहरुको यसमा ध्यानाकर्षण हुन जरुरी छ । अघिल्लो पुस्ताका रंगकर्मीहरु प्रेम सुब्बा, सुवास थापा, शशी थापा सुब्बा, विनोद श्रेष्ठ (तँखाछें,) नविन मेन्याङ्वो, राजेन्द्र रिमाल, गोपाल देवान, शारदा शाक्य, कुलचन्द्र न्यौपाने, अरुण प्रधानहरुले पछिल्लो पुस्ताले सम्झना लायक भौतिक कार्य गर्न दबाव महशुस गर्न जरुरी भएको छ।
पछिल्लो पुस्ताका विष्णु मोक्तान, हरि ईवाहाङ, तिर्थ विश्वकर्मा, मिलन चाम्लिङ, प्रेक्क्षिका निरौला, तुलसा थापा, शान्तिराम राई, सजेष्ट घायल उदासी पायल लगायतका रंगकर्मीहरुले पनि धरानलाई कला र संस्कृतिको शहरको रुपमा बचाई राख्न अघिल्लो पुस्ताका विरासतलाई जोगाउन होस्टेमा हैंसे गर्न जरुरी भएको छ।
त्यस्तै पानीको अभियानमा लागेका मेयर हर्क साम्पाङले पनि धरान बहुभाषिक बहुजातिय सँस्कृति शहर भएकाले कुल बजेटको पाँच प्रतिशत मात्र भएपनि कला सँस्कृतिका लागि भाग लगाई दिएर कला, सँस्कृतिको शहर धरानको पहिचानलाई ओझल हुनबाट जोगाउन जरुरी देखिएको छ। (दिव्य रोशनी साप्ताहिकबाट)

One thought on “कला, साहित्यको सम्बद्र्धनका मुद्धा ओझेलमा

टिप्पणीहरू are closed.