धरान रनको तयारी पुराः ३ हजार बढी सामेल हुने, “वान वे” का कारण रुट परिवर्तन

दिव्य रोशनी(धरान)/ नेपालकै सर्वाधिक धावक÷धाविकाहरुको सहभागिता हुने धरान रनको ११ औं संस्करण तयारी पुरा भएको धरान रन समूहले जनाएको छ।
विहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धरान रनले यही फागुन १३ गते शनिवार हुने प्रतियोगिताको ११ औं सँस्करणको तयारी पुरा भएको जनाएको हो। पत्रकार सम्मेलनमा धरान रनका अध्यक्ष रोमु राईले धरान रनको ११ औं संस्करणमा आईपुग्दा पहिलो पटक दौडमा चिप टाइमिङ सिस्टम प्रयोगमा ल्याउन लागिएको जानकारी दिए। उनले प्रत्येक धावक÷ धाविकाहरुलाई चेस्ट नम्बरमा चिप लगाएर समय मापन गरिने समेत बताए। प्रतियोगितामा ३ हजार बढी धावकधाविकाहरुले सहभागिता जनाउनेछन्। जसमा नेपालका राष्ट्रिय म्याराथन धावकहरुसंगै भारतको दार्जिलिङ, सिक्किम, केन्या, हङकङ, अमेरिका, युके लगायत देशहरुबाट समेत सहभागिता जनाउने अध्यक्ष राईले बताए।


यस पटक धरान रनको रुट परिवर्तन गरिएको छ। धरान उपमहानगरपालिकाले भर्खरै मात्र सुरु गरेको वान वे सवारी अभियान अन्तर्गगत ठिक उल्टो रुट परिवर्तन गरिएको आयोजकले जनाएको छ। जस अन्तर्गत पुतलीलाइनबाट दौड सुरु गरेर पुरानो बजार, चिनिया चौक, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, रेडक्रस भवन, अमरहाट, जिरो पोइन्ट, जानकी चौक, स्वस्तिक चौक, मंगलवारे, रत्न चोक, वद्ध चोक, दुर्गा चोक हुदै पुतली लाइनमा समापन हुनेछ।
प्रतियोगितामा १६ देखि ३९ बर्षसम्मका खुल्ला दौड समुहतर्फ महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ६० हजार, ४० हजार र ३० हजार प्रदान गरिनेछभने १३ बर्षमुनिकालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिने भएको छ । त्यस्तै १३ देखि १६ बर्षभित्रकाहरुलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइनेछ भने ४० बर्षमाथिका भेट्रान समुहका विजेताहरुलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइने समुहले जनाएको छ। यस वर्ष धरान रन विजेतालाई हाल्फ म्याराथन इन लन्डनमा सहभागि गराउने पनि आयोजकले जनाएको छ।
यसैगरी पत्रकार सम्मेलनमा धरान रन समुहका वरिष्ठ सल्लाहकार एवं पुर्व व्रिटिस सैनिक सुवास राईले यसपटक प्रतियोगिताको आकर्षणको रुपमा गोर्खा विग्रेड व्याण्ड वेलायतको प्रस्तुति रहने बताए। दौड सुरु हुनु भन्दा अगाडि विट्रिस गोर्खा बिग्रेड व्याण्डका ३५ जना टिमले प्रस्तुति दिने बताए। यसका साथै दौड प्रतियोगिताको अकर्षणका रुपमा अभिनेता दयाहाङ राईको समेत उपस्थिति हुने आयोजकले जनाएको छ। त्यस्तै प्रतियोगिताका सहभागी सबैलाई टिसर्ट उपलब्ध गराईनेछभने दौडपुरा गरेका धावकधाविकाहरुलाई आकर्षक मेडल पनि प्रदान गरिने समुहले जनाएको छ। प्रतियोगितामा ह्विल चियर रेस पनि हुने समुहका अध्यक्ष राईले बताए।

9 thoughts on “धरान रनको तयारी पुराः ३ हजार बढी सामेल हुने, “वान वे” का कारण रुट परिवर्तन

टिप्पणीहरू are closed.