जनचेतनाको अभावमा फिस्टुँला र आङ खस्ने समस्या बढ्दै

मनिता राई(चाम्लिङ)
(धरान)/ ओखलढुंगाबाट १२ घण्टाको लामो यात्रापछि आङ खस्ने समस्याको उपचारका लागी धरान आईपुगेकी पदमाया श्रेष्ठ (नाम परिवर्तन) ३ महिनाको उपचारपछि घर फर्किएकी छिन्।
विगत १५ वर्षदेखि आङ खस्ने समस्याले पीडित ६९ वर्षिया पदमायालाई उनका परिवारले उपचारको लागि धरान ल्याई पुर्याएका थिए। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया समेत भएको छ।
यसैगरी विगत १८ वर्ष अगाडीदेखि फिस्टुँलाको समस्या (पिसाब चुहिने) बाट पीडित तेह्रथुमकी ४० वर्षिया कुमारी मगर (नाम परिवर्तन) को पनि वीपी प्रतिष्ठानमा सफल शल्यक्रिया भएको छ। १८ वर्षअघि पहिलो गर्भ खेर गएपछि कुमारीलाई फिस्टुँला भएको थियो। प्रतिष्ठानमै फिस्टुँलाको उपचारपछि घर फर्किएपनि त्यसपछि नियमित जाँचमा नआएपछि उनलाई पुनः फिस्टुँलाको समस्या बल्झिएको थियो। फिस्टुँला भएपछि पिसाब चुहिने डरले पर्याप्त मात्रामा पानी नपिउँदा उनको मुत्रथैलीमा पत्थरी समेत भएको थियो। उनी पनि हालै मात्र डिस्चार्ज भएकी छिन्।
त्यस्तै विगत डेढ महिनादेखी फिस्टुँला रोगबाट पीडित धनकुटाकी २९ वर्षिया दिलु राई(नाम परिवर्तन) पनि वीपी प्रतिष्ठानमै उपचारारत रहेकी छिन्। कार्तिक २७ गते नर्मल डेलिभरी भएपछि उनलाई फिस्टुँला भएको थियो। यसैगरी भारत अररियाकी वर्ष ४६ कि सुनिता साह (नाम परिवर्तन) पनि विगत २० दिनदेखी आङ खस्ने समस्याको सफल रुपमा अप्रेशन पश्चात् विपी प्रतिष्ठान मै उपचार गराईरहेकी छिन्।
यी पात्रहरु त उदाहरण मात्र हुन्। वीपी प्रतिष्ठानमा फिस्टुँला र आङ खस्ने समस्याबाट पीडित महिलाहरु वार्षिक हजारौंले स्वास्थ्य परिक्षणका लागि ओपीडीमा आउने गरेको वीपी प्रतिष्ठान स्त्री तथा प्रसुती रोग विभागका सह प्राध्यापक डा. मोहनचन्द्र रेग्मी बताउँछन्। उनका अनुसार फिस्टुँला र आङ खस्ने समस्याबाट पीडित ती हजारौं मध्ये प्रतिष्ठानमा वार्षिक एक सयको हाराहारीमा शल्यक्रिया हुने गरेको छ।
प्रतिष्ठानको गाईनो वार्डमा आङ खस्ने समस्याको सफल रुपमा उपचार गरेका पदमायाले यसअघि ओखलढुंगाको रुम्जाटारमा पनि स्वास्थ्य परिक्षण गराएकी थिईन्। चिकित्सकहरुले धरान रेफर गरेपछि उपचार खर्च भन्दापनि महंगो गाडीभाडा तिरेर उनी उपचारका लागि धरान आएकी थिईन्। उनलाई एम्बुलेन्सले २५ हजार रुपैयाँ भाडा लिएको बताउँछिन्। डा. रेग्मीले त्यहाँका स्वास्थ्यकर्मीले शुरुवातमा आङ खस्दा रिङ लगाईदिएको भए १२ घण्टा लामो यात्रा तय गर्दै धरान आउनु नपर्ने बताउँछन्। सामान्य उपचारका लागिपनि वीपी प्रतिष्ठान नै आउनु पर्दा त्यहाँको स्वास्थ्य सेवा कस्तो छ? भनेर नेपाल सरकारको स्वास्थ्य संरचनाले देखाउने गरेको डा. रेग्मीले बताए।
डा. रेग्मी भन्छन्–“त्यहाँ कुनैपनि स्वास्थ्यकर्मीले राम्रोसँग हेरेर रिङ लगाईदिएको भए त्यो समस्या हुने थिएन।” उनका अनुसार गाउँगाउँमा स्वास्थ्यकर्मीहरुलाई रिङ लगाईदिन भनेर सिकाईएको छ, तर त्यो रिङ कसरी लगाउने, कस्तो साईजको लगाउने, कसरी सहि प्रविधिबाट लगाउने भन्नेबारे सिकाईएको छैन। सिर्फ रिङ लगाईदिने भन्ने मात्र सिकाईएको कारण उपचारमा प्रभावकारीता हुन नसकेको डा. रेग्मीको ठहर छ। अब देशव्यापी रुपमा हरेक पालिकाका स्वास्थ्यकर्मीहरुलाई राम्रोसँग आङ खस्ने विषयमा जनचेतनाका साथै प्रारम्भिक उपचारको बारेमा सिकाउन सकियोभने यसले प्रभावकारी हुने डा. रेग्मी बताउँछन्।


राज्यले स्थानिय निकायलाई स्वास्थ्यको जिम्मा दिएपछि अहिले स्थानिय निकायले जनशक्तिहरु पदपूर्ति गरेका छन्। बिरामीको फस्ट कन्ट्याक्ट (पहिलो सम्पर्क) अर्थात् पहिलो भेट भनेकै स्टाफ नर्सहरु भएकाले स्क्रिनिङलाई बढी प्रभावकारी बनाउनुपर्ने डा. रेग्मीले बताए। स्क्रिनिङ गलत हुँदा सामान्य उपचारबाट पनि ठिक हुने बिरामीहरुलाई राज्यकोषको खर्च धेरै हुने गरेको उनको भनाई छ।
विपी प्रतिष्ठानले यसअघि धनुकटामा ५ र झापाको दमकमा ३ चरण गरी ८ चरणमा पालिकाका स्वास्थ्यकर्मीहरुलाई तिनदिने तालिम प्रदान गरिएको डा. रेग्मीले बताए। तालिममा डा. रेग्मीको टिमले स्वास्थ्कर्मीहरुलाई आङ खस्ने समस्याका शुरुवातीका चरणहरुबारे तालिम प्रदान गरेका थिए। डा. रेग्मीले बिरामीले पहिलोपटक कन्ट्याग गर्दा बिरामीको परिक्षण निदान र रेफर भयोभने ती बिरामीहरुले सहि उपचार पाउने बताए। “पदमायाको हकमा ओखलढुंगाबाट धरान आउदा ती आमालाई कती समस्या भयो? बिचमा कति जिल्ला अस्पताल छन्? ती फगत निरर्थक भए नि?” उनले प्रश्न गरे। यस कुराले देशको स्वास्थ्य संगठन, कस्तो छ भनेर दर्शाएको समेत डा. रेग्मीले बताए।
हरेक पालिकाले स्वास्थ्य क्षेत्रमा करोडौं रुपैयाँ बजेट छुट्याएपनि एउटा एम्बुलेन्स किनेर जनतालाई सहुलियत रुपमा बाहिर पठाउन नसकेको डा. रेग्मीको भनाइ छ। उनी भन्छन–“डोजर, स्काभेटर किनेर राम्रो बाटो बनाउने तर स्वास्थ्य मान्छे चै हिडेनन् भने ती बाटोका के अर्थ?” स्थानिय निकायले पनि बजेट प्राथमिकतामा परेकालाई विशेष जोड दिनुपर्ने डा. रेग्मी बताउँछन्।
“पालिकाकाहरुले पनि स्वास्थ्य चौकीहरुको प्रमुखमा हेल्थ असिटेन्ट पाचौं/छैठौं तहलाई राखेको कारण हिजो बिरामी अप्रेसन गरिरहेको हेर्ने मान्छेलाई प्रमुख बनाएपछि उनीहरुले जनचेतना दिन सकेका छैनन्, यो त्यसैको प्रतिफल हो।” डा. रेग्मीका अनुसार यसका लागि हरेक पालिकाहरुले जनचेतनामूलक कार्यक्रमसंँगै स्वास्थ्य शिविरहरु समेत संचालन गर्न आवश्यक रहेको सुझाव दिन्छन्।
अहिले प्रदेश नं. १ को स्वास्थ्य संस्थामा गएर “डेलिवेरी” (सुत्केरी) गराउने महिलाको संख्या पहिला भन्दा घटेको छ। यसअघि ५७ प्रतिशत रहेकोमा संघियता आएपछि घटेर ४१ प्रतिशतमा झरेको डा. रेग्मीको भनाई छ। प्रदेश १ अन्य प्रदेश ५, ६ र ७ को तुलनामा स्वास्थ्य संस्थाको “स्टकचर” राम्रो भएतापनि हस्पिटलमा गएर डेलिवेरी गराउनेको संख्या घट्दा अरु केका लागि महिला कसरी अस्पताल पुग्छन् भनेर सहजै कल्पना गर्न सकिन्छ। राज्यले प्राथमिकतामा राखेको “सेभ डेलिवेरी” मा समन्वयको अभावका कारण अरुलाई बुझाउन सक्नुपर्ने प्रमुख भुमिका देखिन्छ। अहिले जिल्ला अस्पताल प्रदेश अन्तगत छ, त्यहाँभन्दा तल स्थानिय निकाय अन्तर्गत रहेको छ।
हाल वीपी प्रतिष्ठान धरानमा उपचारका लागि १ र २ नं. प्रदेशका विशेषगरी तराई र पहाडी भेगका महिलाहरु आउने गर्दछन्। अझैपनि शिक्षाको पहुँच पुग्न नसकेका निरक्षर तथा सामाजिक रुढीवादी चिन्तनले ग्रस्त समाजका महिलाहरु अन्तिम समयमा अस्पताल आईपुग्ने डा. रेग्मी बताउँछन्। “यो समस्या तराईमा बढी छ,” उनी भन्छन् “सासु ३०/३५ वर्षदेखि आङ खसेर बसेको छ। उसको उपचार पहिलो हुनुपर्यो नि, अनि बुहारीको पालो भन्दै जोखाना हेर्ने प्रवृत्ति छ, यो समस्या समाधानका लागि शिक्षाले मात्रै सम्भव छ। शिक्षा बिना समस्या ज्यूँ का त्यूँ नै रहन्छ।”
यसैगरी प्रतिष्ठानका गाईनो वार्डका सिनियर नर्सिङ बिनिता राईले जनचेतनाको कमीले दुर्गमक्षेत्रका बढीजसो फिस्टुँला र आङ खस्ने बिरामीहरु उपचारका लागि आउने गरेको बताईन्। उनले प्रतिष्ठानबाट निको भएर जाने बिरामीको सम्पर्कमा रहेका व्यक्तिहरु उपचारमा आउने गरेको बताईन्। उनी भन्छिन् “काउन्सिलर पनि तराईकै क्षेत्रका भएरपनि होला विशेष गरी सप्तरी सिराहा, धनुषा क्षेत्रको बिरामीहरु बढी आउने गरेको छ। शिक्षा स्वास्थ्यको असुविधा रहेको र जनचेतनाको कमीका कारण पनि ९० वर्षका वृद्धाआमाहरु समेत फिस्टुँलाको उपचारमा आएको उनको भनाई छ।
विशेषगरी उमेरमा लाज लाग्ने र पाका भएपछि अस्पताल धाउने प्रवृति बढेको छ। नेशनल डेमोक्रेटिक हेल्थ (एनडिएच) को सर्वे अनुसार अझैपनि महिलाहरु सरदर २८ वर्षको उमेरमा उपचारका लागि डाक्टर कहाँ आउने गरेका छन्। जसमा उनीहरुमा आङ खसेको ६/७ वर्ष हुने भएकाले २० वर्षदेखि आङ खस्ने समस्या शुरु हुने गर्दछ। अहिले ४० देखि ४५ प्रतिशत महिलाहरुलाई यो समस्या रहेको छ।
डा. रेग्मीले आजकाल आउने प्रायःजसो ४०/५० वर्ष पुगेका बिरामीहरु मात्रै आउने गरेको बताए। त्यसमापनि उनीहरु १५/२० वर्षदेखिको समस्या लिएर आउने गर्दछन्। एक समय २८ देखि ३० वर्षसम्मकालाई पनि उपचार गरिंदै आएपनि अहिले गाउँमै धेरैजसो शिविर हुने गरेको कारण शिविरमा नै उपचार हुने तर सफल उपचार भने हुन नसक्दा अस्पताल आउने गर्दछन्।
उनका अनुसार आङ खस्ने तथा फिस्टुँला रोग सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपुर्याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी बेलामा यौन सम्पर्क राख्ने कारणले देखा पर्दछ। ग्रामीण क्षेत्रका धेरै महिला यस्तै अवस्थाबाट गुज्रने गर्छन् । उनीहरू रोगी हुन्छन् तर लुकाउँछन्। यस्तो बेला उनीहरुलाई परिवारबाट सहयोगको सट्टा यातना र दुव्र्यवहार हुने गर्दछ। त्यसको प्रत्यक्ष उदाहरण केहिदिन अघि मात्र वीपी प्रतिष्ठानमा १ सय १० दिन लामो उपचार पछि घर फर्किएकी महोत्तरीका ६५ वर्षिया मैथुनीदेवी हुन्। उनले आफुलाई फिस्टुँला भएकै कारण श्रीमानले आफ्नै बहिनीलाई कान्छी श्रीमतीको रुपमा भित्र्याएको पीडा सुनाएकी थिईन्। ३५ वर्षदेखि फिस्टुँला भएर निरन्तर पिसाब बगिरहने कारणले परिवारले आफुलाई उपचार गराउनुको सट्टा हेला गरेर राखेको उनको भनाई छ। उनी अब आफु मानिसक र शारिरीक रुपमा ठिक भएकाले श्रीमानको विरुद्धमा कानूनी लडाई लड्ने बताउँछिन्। अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनी खुशीले प्रफुल्ल मुद्रामा देखिन्थिन्। उनले भनिन् “वर्षौदेखि भोग्नुपरेको दुःखबाट अब म मुक्त भएको छु।”
नेपालमा सुविधा सम्पन्न फिस्टुँला र आङ खस्ने उपचार केन्द्र ३ वटा मात्र रहेका छन्। त्यसमा पनि वीपी प्रतिष्ठान राष्ट्रिय उपचार केन्द्र होभने वीपी बाहेक काठमाण्डौको मोडल हस्पिटल र प्रादेशिक अस्पताल सुर्खेतबाट पनि निःशुल्क रुपमा उपचार हुने गर्दछ। बिरामीलाई अप्रेशन निःशुल्क हुने र यातायात खर्चपनि अस्पतालले नै उपलब्ध गराउने व्यवस्था रहेको छ।

5 thoughts on “जनचेतनाको अभावमा फिस्टुँला र आङ खस्ने समस्या बढ्दै

टिप्पणीहरू are closed.