सर्पले टोकेमा के गर्ने ? के नगर्ने?

वर्षायाममा लागेसंगै सर्पहरु जमिन देखी बाहिर निस्कने गर्दछ । सुरक्षित र ओभानो ठाउमा बास स्थान खोज्नेक्रममा मानिस संग भेटहुने गर्दछ । तर प्रायः सर्पहरु मानिसलाई त्यसै टोक्दैनन्। केहि गरेर मानिसको सम्पर्कमा आएमा वा जानी नजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि यसले टोक्ने गर्छ।
सर्पले टोकेको प्राथमिक उपचारः
सर्वप्रथम त सर्पले टोकेको हो या होईन भनेर जान्न जरुरी हुन्छ।यदि टोकेको शंका लागेको ठाउँमा स–साना दुइओटा घाउहरु छन्भने त्यो सर्पले टोकेको हुनसक्छ। सर्पले टोकेको थाह पाएमा सकेसम्म सर्पलाई चिन्ने प्रयास गर्नुपर्छ। प्रायः करेत, गोमन, लम्भा नामले जानिने सर्पहरु बढी भेटिने गर्दछन्।
सर्पले डसेको व्यक्ति प्रायः अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ। टोकेको भागलाई धेरै चलाउँदा विष छिटो र बढि मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने। हातखुट्टामा टोकेको छ भने ब्यान्डेज वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ।
गोमन र करेतले टोकेको होभने टोकेको भागबाट अलि माथिसम्म हल्का प्रेशर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ, यसलाई प्रेशर इमोबिलाइजेसन विधि र Pressure immobilization method भनिन्छ तर एकै ठाँउमा एकदमै कसेर बाँध्नु हुदैंन। कसेर बाँध्नाले त्यसभन्दा मुनिका भागमा रक्तसंचार पूरै बन्द हुन जान्छ र उक्त भाग मरेर खेर जान सक्ने हुन्छ।
विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको (antidote) प्रयोग शुरु नभएसम्म त्यो प्रेशर ब्यान्डेज खोल्नुहुदैंन।
सकेसम्म चाँडो बिरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ। यसो गर्दा टोकेको भागलाई सकेसम्म कम चलाउने।
सर्पको टोकाइबाट बच्ने उपायहरुः
१.) आफ्नो ठाँउ वरिपरि पाइने सर्पहरुको बारेमा जानकारी राख्ने। ती कस्तो ठाँउमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढि सक्रिय हुन्छन् भन्ने थाहा पाइ राख्नुपर्छ।
२.) वर्षाको समयपछि, खेत रोपाइका बेलामा सर्पको बारेमा विशेष ध्यान पुर्याउनुपर्छ। किनभने यस्तो बेला सर्पहरु बाहिर निस्कने सम्भावना बढि हुन्छ ।
३.)रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती, टर्चलाइट, लालटिन, लठ्ठी लिएर मात्रै निस्कने गर्नुपर्छ। एक अध्ययनका अनुसार करिब ७ सय ५५ विषालु सर्पको डसाईका घटनाहरु रातको समयमा भएको पाइएको छ।
४.) सर्प पाइन सक्ने ठाउँमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ।
५.) जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नांगो हातले समाउने गर्नु हँुदैंन। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हँुदैंन, त्यसैले सकेसम्म खाली हातले छुने वा समाउने कोशिश गर्नु हुदैन।
६.) सम्भव भएसम्म भुईंमा नसुत्ने। सुत्दा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ।
७.) रुख अथवा जमिनमा भएका प्वालहरुमा जथाभावी हात छिराउनु हुदैंन।
८.)जुत्ता लगाउँदा जुत्ता भित्र राम्रोसँग हेरेर मात्रै लगाउनुपर्छ।
९.) भ्यागुता, मुसा, चरा, छेपारो आदी सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनु हँुदैंन।
१०.) सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ।
११.)बालबालिकाहरुलाई सर्प हुनसक्ने ठाउँहरुका बारेमा जानकारी दिने र साबधान रहन सिकाउनुपर्छ।
१२.) सर्पको डसाईमा गरिने प्राथमिक उपचार थाह पाइराख्ने र प्रतिविष रAntisnake venom पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालका बारेमा जानकारी राख्ने।
सर्पको डसाईका चिन्ह र लक्षणहरुः
सर्प भन्ने बित्तिकै विषालु हुन्छ भन्ने विश्वास व्याप्त भएकोले जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केहि लक्षणहरु देखिन सक्छन् जस्तै छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झम्झमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुँदैं जाने, रक्तचाप घट्ने, बेहोस हुने आदी।
अचम्म लाग्न सक्छ, तर यी सबै लक्षणहरु विष नभएको सर्पले टोक्दा पनि धेरै डराएमा देखिन सक्छ। तर पनि सर्पले टोकेका हरेक बिरामीलाई सकेसम्म चाँडो नजिकको अस्पताल पुर्याउनुपर्छ।
त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केहि माथि जोडसँग कस्ने गरिन्छ (जुन हिजो आज पनि गर्ने गरिन्छ) त्यस्ले रक्तसंचारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, नीलो हुने र मरेर खेर जाने पनि हुनसक्छ।
सर्पले डसेको भाग र त्यस वरपरमा देखिने लक्षणहरुः
डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ, तर सँधैं यो देखिन्छ भन्ने छैन। डसेको भाग दुख्ने, सुन्निने, घाउ हुने, रगत बग्ने, फोका उठ्ने, नीलडाम बस्ने, नजिकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने।
सम्पूर्ण शरीरमा देखिने लक्षणहरुः
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महशुस हुने, पसिना आउने, चक्कर लाग्ने, हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने।
डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठुलाठुला राता दागहरु देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने आदि। यी रगत बग्ने लक्षणहरु मुख्यतया भाइपर जातका सर्पहरुको डसाइमा देखिने गर्छ, किनकी यिनीहरुका विष रगतको जम्ने क्षमतामा असर गर्ने खालका हुन्छन्।
त्यस्तै गोमन, करेत (जसको विष स्नायुहरुमा असर गर्ने र प्यारालाइसिस गराउने खालका हुन्छन्) हरुको डसाइमा हातखुट्टा झम्झमाउने, आँखाको ढकनी भारी हुने, स्वर परिवर्तन हुँदै जाने, बोल्न नसक्ने हुने, थुक निल्न गाह्रों हुने, मुखबाट र्याल बगिरहने, स्वास फेर्न गाह्रों हुने, हातखुट्टा लुलो हुने र पूरै शरीरको प्यारालाइसिस हुने जस्ता लक्षणहरु देखिन्छन्।
सर्पको डसाईपछि के नगर्ने?
१) टोकेको ठाँउमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने, त्यसो गर्दा विषभन्दा रगत बढि गई बिरामीको मृत्यु हुनसक्छ।
२) चलचित्रहरुमा देखाएको जस्तो मुखले चुसेर विष निकालेर फाल्न सकिदैंन। बरु मुखमा घाउहरु छ भने त्यस्तो गर्नेलाई नै विष लाग्न सक्छ, त्यसैले त्यस्तो प्रयास नगर्ने।
३) धामीझांँक्रीको उपचार, विष सोस्ने कालो ढुंगा र Snake stone को उपचारतर्फ लागेर महत्वपूर्ण समय नगुमाउने। विश्वासका आधारमा यी उपचारले बिरामीलाई मानसिक रुपमा सन्तुष्टि त मिल्छ तर विषालु सर्पले टोकेको रहेछभने उपयुक्त उपचारको ढिलाइमा बिरामीको ज्यान जानसक्छ।
४) टोकेको अंगलाई अनावश्यक रुपमा नचलाउने।
५) घाउमा कुनैपनी प्रकारको जडिबुटी, बरफ तथा औषधिको प्रयोग नगर्ने।
५) चिकित्सकले नभनेसम्म केहि नखाने, नपिउने।
६) विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कस्सेर बाँध्ने गर्नुहुदैंन। यसले फाइदाभन्दा बेफाइदा बढि गर्छ।
सर्पको डसाईको उपचारः
प्रतिविष (Anti Snake Venom -ASV) को प्रयोग विषालु सर्पको डसाईको अन्तिम र एकमात्र उपचार हो र कुन बिरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने एउटा महत्वपूर्ण कुरा हो।
नेपालमा प्रयोग गरिने प्रतिविष (Polyvalent ASV) ले ४ प्रकारका विषालु सर्प (गोमन, करेत, भाइपर) को टोकाइमा काम गर्छ। यसको पनि आफ्नै खराब असरहरु छन्, त्यसैले विषको असर नदेखिएसम्म, विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गरिदैंन।
यो (anti snake venom) सर्पदंश उपचार केन्द्रहरुमा पाइन्छ।
यसका खराब असरहरु धेरै हुने भएकोले, बढि महंगो हुने भएकोले र सीमित मात्रामा मात्र उपलब्ध हुने भएकोले सर्पले टोक्यो भनेको आधारमा मात्रै लक्षणहरु नदेखिइकन प्रयोग गरिदैन।
(Major Ref: National Guidelines for Management of snake bite in Nepal)
लेखकःअवस्थी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एम.बि.बि.एस अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published.