“साकेलामा बज्ने ढोलले एकजुटभई काम गर भन्ने शन्देस दिएको छ” – मेयर साम्पाङ
दिव्य रोशनी (धरान)/
“धरानका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले साकेलामा बज्ने ढोलले उठ र एकजुट भई काम गर भन्ने शन्देस दिएको बताएका छन्।
सो कुरा उनले शनिवार धरान १७ स्थित साकेला पार्कमा आयोजित किरात राईहरुको महान् पर्व साकेला उभौलीको समापनका अवसरमा बताएका हुन्। मेयर साम्पाङले साकेलामा बज्ने ढोलले आफुलाई उठ र जुट भन्ने शन्देस दिएको बताए। उनले हामी अल्छी भएकै कारण धेरै भयो सुतेको अब एकजुट भई काम गर्न उठ्नुपर्ने दिन आएको बताए। उनले भने “तपाईहरु के सुन्नुुहुन्छ डुङ्कु..डुङ्कु..डुङ्कु..! भनेर सुनिएपनि म अर्कै सुन्छु। उठ उठ अनि जुट जुट। नसुत धेरै भयो सुतेको, उठ र एकजुट भएर काम गर भने झैं लाग्छ।” हामी विभिन्न कारणले फुटेकाले एकजुट भएर काम गर्न किरातीहरुको ढोलले जागरण ल्याएको मेयर साम्पाङको भनाई थियो।
सोहीक्रममा मेयर साम्पाङले संस्कृति बचाउन एक्लो व्यक्तिले नसकिने भएकाले आफ्नो संस्कृति बचाउन सम्पूर्ण किरातवासीहरु एकजुट हुन आग्रह गरे। उनले संस्कृति प्रति सचेत नभए संस्कृति विहिन हुने भएकाले बाँदर र मान्छे फरक नहुने बताउँदै किरात संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनकै लागी आफु साकेला सिली नाच्न आएको बताए।
संस्कृतिलाई विशेष प्राथमिक दिंदै आएका मेयर साम्पाङले ईमान्दार किरातीको मनमा हुने बोली र विचार नै मुन्धुम भएको बताए। उनले ढुंगामा लेखिएको मुन्धुम नहुने बताउँदै जो ईमान्दार व्यक्ति बन्छ उहि मन्धुमी मान्छे भएको बताए। दर्शकदिर्घामा प्रश्न तेर्साउँदै उनले भने “त्यो मुन्धुमी मान्छे तपाई बन्ने हो?
सोहीक्रममा मेयर साम्पाङले गलत मान्छेलाई कलम थमाएकै कारण प्रदेशको नामाकरण पनि किरातको सट्टामा अर्कै आएको मेयर साम्पाङले बताए। उनले सांस्कृतिक हिसाबले उठ्न नसकेसम्म राजनीतिक हिसाबले पनि उठ्न नसक्ने भएकाले प्रदेशको पुनः नामांकन गर्न अब सबैजना उठ्नुपर्ने बताए। सोहीक्रममा मेयर साम्पाङले साकेला सिली भनेको हाम्रो पुर्खाहरुले गरेको काम भएकाले अब हामीले आफ्नो पेटको लागी मात्र नभई देशको लागीपनि श्रम गर्नुपर्नेमा जोड दिए। उनले भने “हामीले गरेको श्रमपनि पछि गएर सिली बन्छ होला, हर्क साम्पाङ भन्ने अलि छुचो छुचो मान्छे धरानले मेयरमा चुनेको थियो। उसले जंगलैभरी पाईप तनाउथ्यो। अब त्यो पनि सिली बन्छ की?” उनले सिली नाचेर मात्रै नहुने बताउँदै त्यो सिलीले सिकाउँदै गरेको कामलाई बिर्सेकै कारणले खेतबारी बाँझै भएर हामी गरिब बन्न पुगेको ठोकुवा समेत गरे।
मेयर साम्पाङले सुम्निमा– पारुहाङ प्रतिमा निर्माणका लागी धरान २० स्थित चिण्डे डाँडामा आवश्यक जमिन लगभग किनिसकेको जानकारी दिंदै सबै सहयोगीदाताहरुलाई धन्यवाद समेत दिए। उनले सुम्निमा–पारुहाङको मुर्ति स्थापना गरेर ईतिहास रच्ने बताए।
सुम्निमा–पारुहाङको प्रतिमा निर्माणका लागी लगभग ३० करोड माथिको हुनेपनि मेयर साम्पाङले बताए। उनले लगभग १२ करोडको हाराहरीमा रकम संकलन भईसकेको जानकारी दिंदै राज्यको १ रुपैयाँ पनि नलगाउने उद्धघोष गरे। राज्यको पैसाबाट विद्यालय, सडक र अस्पताल बनाउन नसकेको बेला राज्यको पैसा लगाउनु हुँदैन भन्ने उनको मान्यता थियो। साथै विभिन्न जातजातीका भाषा, संस्कृतिलाई जगेर्ना गर्न आकर्षक बहुजातिय पाठशालाको निर्माण कार्य अन्तिम चरणमा रहेकोले संचालनका लागी विभिन्न जातीय संस्थाहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने समेत बताए।
यतिखेर देशमा राजतन्त्र ल्याउने तत्वहरू सलबलाएको बताउँदै मेयर साम्पाङले यदि यो देशमा राजा ल्याउने भए किराँतीहरुले पनि आफ्नो राजा ठिक पार्नुपर्ने बताए। उनले योग्यता र क्षमताको आधारमा टेम्पु चालक, सफारी चालक र चिया पसले पनि देशको अग्रस्थानमा पुग्ने वातावरण बनाउनु पर्नेमा जोड दिए।
त्यस्तै कार्यक्रममा विशेष अतिथी किरात राई यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तिलक राईले एक व्यक्ति हर्क साम्पाङ केही नभएपनि संस्थागत रुपमा अहिले उनको पदमात्र ठुलो भएको बताए। उनले मेयर साम्पाङलाई आफु भन्दा ठुलो केही छैन भन्ने भावना त्यागेर विश्वासको पात्र बन्न सक्नु पर्नेमा जोड दिए।
यसैगरी किरात राई यायोक्खाका उपाध्यक्ष दोर्पध्वज राईले किरातहरूको मुन्धुम र इतिहासका बारेमा प्रकाश पारेका थिएभने यायोक्खाका केन्द्रिय उपमहासचिव अर्जुन जम्नेली राईले पहिचानका आधारमा १ नं. प्रदेशको पुनः नामाकरण गरी किरात राख्नुपर्ने बताए। उनले पहिचानवादीहरुलाई आन्दोलकारीको संज्ञा दिएर १ न.ं प्रदेशको विकास र समृद्धि नहुने बताए।
सोहीक्रममा यायोक्खाका उपमहासचिव तथा पत्रकार अर्जुन जम्नेली राईले मेयर हर्क साम्पाङ भिर माहुरीको रसिलो चाका भएको बताए। उनले केही व्यक्तिहरु मेयर साम्पाङ विरुद्ध लागेपनि जनताले को सहि को गलत चिनिसकेको बताए। कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रशान राई र डाक्टर राजकुमार राईलाई समेत सम्मान गरिएको थियो । सो कार्यक्रम यायोक्खा जिल्ला अध्यक्ष राजेन्द्र राईको सभापतित्वमा सम्पन्न भएको थियो।
साकेला सिलीमा धरान १५ प्रथमः
यसैगरी साकेला उभौली समापनको अवसरमा सुनसरी जिल्लाभरीका प्रारम्भिक कार्यसमितीहरु बिच प्रतियोगितात्मक सिली प्रदर्शनीको समेत आयोजना गरिएको थियो। जसमा मुख्य विधा (सिली) तर्फ किरात राई यायोक्खा धरान वडा १५ कार्यसमिति प्रथम बन्दै नगद ४० हजार र रनिङ ट्रफी वाबु समेत प्राप्त गर्न सफल भएको छ।
यस्तै, सिलीतर्फ धरान वडा १९ कार्यसमिति दोस्रो बनेको छ। वडा १९ ले नगद ३० हजार र वाबु ट्रफी हात परेको छभने किरात राई यायोक्खा इटहरी १९ र २० तेस्रो बन्दै नगद २५ हजार र वाबु ट्रफी हात पारेको छ। बिजेताहरुलाई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई र नगद पुरस्कारका दाताहरुले पुरस्कार प्रदान गरेका थिए।
यसैगरी उत्कृष्ट भेषभुषा विधातर्फ धरानभित्रमा वडा कार्यसमिति ९र१० ले प्रथम पुरस्कार जितेको छ। यस्तै, वडा १२ दोस्रो र वडा १८ ले तेस्रो बनेको छ। त्यस्तै धरान बाहिरबाट इटहरी १९र२० प्रथम भएको छ भने इटहरी २ दोस्रो र इटहरी १ तेस्रो बनेको छ। विजेताहरुलाई क्रमशः नगद ७ हजार, ६ हजार र ५ हजार साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी, उत्कृष्ट साँस्कृतिक सामग्रीतर्फ धरानभित्र वडा नं ८ प्रथम, वडा नं १३ दोस्रो र वडा न.ं १६ तेस्रो भएको छ। सोही विधामा धरान बाहिरबाट इटहरी ५ प्रथम, इटहरी ७ दोस्रो र इटहरी ६ तेस्रो भएको छ । विजेताहरुलाई क्रमशः नगद ७ हजार, ६ हजार र ५ हजार साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । त्यस्तै विभिन्न वडा कार्यसमितिहरुले आयोजना गरेको कार्यक्रमहरुमा सबैभन्दा बढी सहभागी हुने धरानभित्रबाट वडा १५ र वडा ११ ले संयुक्तरुपमा प्रथम पुरस्कार पाएको छ। प्रथम नगद पुरस्कार ७ हजारमा आयोजकले ३ हजार थपेर दुवैलाई नगद ५÷५ हजार प्रदान गरेको थियो । यस्तै, सोही विधामा वडा न.ं ८ दोस्रो हँुदै नगद ६ हजार र वडा १३ ले तेस्रो हुदै नगद ५ हजार पुरस्कार पाएको छ । धरान बाहिरबाट भने सबैभन्दा बढी सहभागी हुनेमा इटहरी वडा २ पहिलो, इटहरी वडा ५ दोस्रो र बराहक्षेत्र १ र २ तेस्रो हुँदै पुरस्कार स्वरुप क्रमशः नगद ७ हजार, ६ हजार र ५ हजार हात पारेको छ ।
यस्तै, आफ्नो वडामा उत्कृष्ट व्यवस्थापन विधातर्फ धरानभित्र वडा न.ं १५ ले पहिलो पुरस्कार जितेको छभने वडा नं. १७ दोस्रो र वडा न.ं १३ ले तेस्रो पुरस्कार हात पारेको छ । साथै, धरान बाहिरबाट बराहक्षेत्र वडा ६,७र८ चक्रघट्टीले प्रथम पुरस्कार पाएको छ भने इटहरी २ शान्तिनगरले दोस्रो र रामधुनी ६र७ बक्लौरीले तेस्रो पुरस्कार हात पारेको छ। प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः नगद ७ हजार, ६ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी साकेला उभौली समापनमा सबैभन्दा बढी संख्यामा सहभागी गराउने धरानभित्रमा वडा नं ५र६ ले पहिलो पुरस्कार पाएको छ भने वडा नं ८ ले दोस्रो र वडा नं ११ ले तेस्रो पुरस्कार पाएको छ । यस्तै, धरान बाहिरबाट इटहरी १०र२० पहिलो, इटहरी ५ दोस्रो र इटहरी १६, १७ र१७ (पकली) ले तेस्रो पुरस्कार पाएको छ।
त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ सबैभन्दा ज्येष्ठ सिलिमाङ्पा धरान वडा ९र१० का प्रेमहरि राईले पुरस्कार पाएभने कान्छो ढोलेको पुरस्कार वडा १५ का १४ वर्षीय हान्सु राईले पाए। यस्तै, उत्कृष्ट सिलिमाङ्पाको पुरस्कार वडा ११ का किरण राई र उत्कृष्ट सिलिमाङ्माको पुरस्कार वडा १३ की रोशनी राईले पाइन् । झ्याम्टा बजाउने उत्कृष्ट महिलाको पुरस्कार किरात राई यायोक्खा सोनापुरकी युवतीले हात पारिन्। व्यक्तिगत पुरस्कारतर्फका बिजेताले जनही नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए। (दिव्य रोशनी साप्ताहिकबाट)