धरानमा दुईदिने बियर महोत्सव शुरु(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरानमा दुईदिने बियर महोत्सवको शुक्रवार देखी शुरु भएको छ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल मदिरा व्यवसायी महासंघ कोशी प्रदेश, धरान मदिरा व्यवसायी संघ र धरान वितरक संघको संयोजनमा शुक्रवार देखी दुईदिने बियर महोत्सव धरानमा शुरु भएको हो। धरान १५ स्थित होटल ईजी राईडरमा शुरु भएको वियर महोत्सवको उद्धघाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रि खगेन सिं हाङगामले गरेका थिए। उनले मदिरा सेवन सुरक्षाको हिसावले चुनौती भएपनि पर्यटन प्रवर्दनको हिसाबले प्रचार प्रसार गर्नु पनि उत्तिकै जरुरी रहेको बताए।


यसैगरी पूर्व प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले व्यावसाय प्रवद्र्धन संगै पर्यटकहरुलाई मनोरञ्जनका लागी आयोजना गरिएको महोत्सव सफलताको कामना गरे। कार्यक्रममा प्रदेश सांसद रमेश बस्नेत, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक भिम दाहाल, नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङ लगायतले महोत्सव सफलताको कामना गरेका थिए।


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठले वियर महोत्सवमा उल्लेखनिय संख्यामा उपभोक्ताहरु सहभागी भएकाले यसबाट नेपालमा उत्पादन तथा बिक्री वितरण हुने बियरहरुको प्रदर्शन एवं प्रवर्दन हुने अपेक्षा लिईएको बताए।
यसैगरी नेपाल मदिरा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष तथा कार्यक्रम संयोजक नविन तामाङले महोत्सवमा विभिन्न ब्रुअरी कम्पनीहरुका फरक फरक ब्राण्डका अल्कोहलका मात्रा फरक फरक भएका सम्पूर्ण बियरहरु एकै स्थानमा प्रदर्शनी भएको बताए। उनले नजिकिदै गरेको नेपालीहरुको महान् चाँड दशैं, तिहारलाई लक्षित गर्दै उपभोक्ताहरुलाई पनि सहजता प्रदान गर्ने उदेश्यले बियर महोत्सवको आयोजना गरिएको बताए। महोत्सवमा नेपालमा उत्पादित ७ वटा बियर कम्पनी (सिजी ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, गोर्खा ब्रुअरी, यति ब्रुअरी, याक ब्रईङ र हिमालयन ब्रुअरी) को स्टल राखिएको छ। दुईदिने महोत्सव शनिवार सम्पन्न हुनेछ।