धरानमा दुईदिने बियर महोत्सव हुने

दिव्य रोशनी(धरान)/ धरानमा दुईदिने बियर महोत्सवको आयोजना हुने भएको छ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल मदिरा व्यवसायी महासंघ कोशी प्रदेश, धरान मदिरा व्यवसायी संघ र धरान वितरक संघको संयोजनमा अशोज १८ र १९ गते धरानमा र महोत्सवको आयोजना हुन लागेको हो। विहिवार आयोजित पत्रकार सम्मेलनमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले पूर्वाञ्चलमै पहिलो पटक धरान १५ स्थित होटल ईजी राईडरमा वियर महोत्सवको आयोजना हुन लागेको बताए। उनले महोत्सवमा उल्लेखनिय संख्यामा उपभोक्ताहरु सहभागी हुने हुँदा यसबाट नेपालमा उत्पादन तथा बिक्री वितरण हुने बियरहरुको प्रदर्शन एवं प्रवद्र्धन हुने र व्यवसायीक विकासमा सहयोग पुर्याउने उद्धेश्य लिईएको समेत बताए।


यसैगरी पत्रकार सम्मेलनमा नेपाल मदिरा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष तथा कार्यक्रम संयोजक नविन तामाङले महोत्सवमा विभिन्न बु्रअरी कम्पनीहरुका फरक फरक ब्राण्डका अल्कोहलका मात्रा फरक फरक भएका सम्पूर्ण बियरहरु एकै स्थानमा प्रदर्शनी हुने समेत बताए। उनले नजिकिदै गरेको नेपालीहरुको महान् चाँड दशैं, तिहारलाई लक्षित गर्दै उपभोक्ताहरुलाई पनि सहजता प्रदान गर्ने उदेश्यले बियर उत्सवलाई सकरात्मकका साथ सम्पन्न गरिने पनि बताए। उनका अनुसार महोत्सवमा नेपालमा उत्पादित ७ वटा बियर कम्पनी (सिजी ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, गोर्खा ब्रुअरी, यति ब्रुअरी, याक ब्रईङ र हिमालयन ब्रुअरी) को स्टल हुनेछन्।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रि खगेन सिं हाङगामको प्रमुख आतिथ्यतामा उद्धघाटन हुने महोत्सवमा लाईभ सांगितीक प्रस्तुती संगै बियर रेस, बियर चिन्ने जस्ता खेलहरु खेलाएर लक्की ड्र मार्फत गिफ्ट ह्याम्परहरु प्रदान गरिने भएको छ।
कार्यक्रम संयोजक तामाङले वाइनमा भन्दा बियरमा कम अल्कोहल हुने भएकाले बियर सेवन स्वास्थ्यको लागि फायदाजनक रहेको पनि बताए। उनले काठमाडौं पछि धेरै बियर खपत हुने स्थान धरान रहेको पनि सुनाए। यसैगरी धरान मदिरा व्यवसायी संघका अध्यक्ष लिल कुमार माझीले महोत्सवमा बियर बेच्ने नभई फलफुल, जौ, गहुका बियरहरुको प्रदर्शनी एवं सिमित मात्रामा ताजा बियर टेस्ट गराई जनमानसमा जानकारी गराईने पनि बताए।